कोरोनाभाइरस: मिथ्या सूचना भाइरल हुन नदिन के गर्ने

  • 27 मार्च 2020
भाइरस
Image caption यदि तपाईँलाई कुनै सूचनामा शङ्का लाग्छ भने रोकिनुहोस् र त्यो सूचनाबारे थप बुझ्नुहोस्

कोरोनाभाइरसका बारेमा मिथ्या सूचनाहरूको इन्टरनेटमा बाढी आएको छ र विज्ञहरू आमनागरिकलाई सूचना सतर्कता अपनाउन भनिरहेका छन्।

त्यस्ता नराम्रा सूचना फैलिनबाट रोक्न तपाईँले एउटा प्रयोगकर्ताका रूपमा के के गर्न सक्नुहुन्छ?

१. एकछिन रोकिएर सोच्नुहोस्

तपाईँ आफ्ना साथीभाई र इष्टमित्रले पनि नयाँ कुराहरू थाहा पाइराखून् भन्ने चाहनुहुन्छ। त्यसैले जब तपाईँले इमेल, इन्टरनेट, भाइबर, मेसेन्जर, फेसबुकमा वा ह्वाट्सएपमा नयाँ कुरा प्राप्त गर्नुहुन्छ तब उनीहरूलाई पनि पठाइहाल्नुहुन्छ।

तर विज्ञहरू भन्छन्, तपाईँले मिथ्या सूचना रोक्न गर्नुपर्ने पहिलो काम भनेको एकछिन रोकिने र सोच्ने हो।

यदि तपाईँलाई कुनै सूचनामा शङ्का लाग्छ भने रोकिनुहोस् र त्यो सूचनाबारे थप बुझ्नुहोस्।

२. स्रोतबारे सोच्नुहोस्

अरूलाई त्यो सूचना पठाउनुअघि त्यो सूचना कहाँबाट आयो भन्ने बारेमा केही सामान्य प्रश्न सोच्नुहोस्।

यदि त्यो सूचना 'साथीको साथीबाट' वा 'मेरो काकीको साथीको छिमेकीबाट' आएको रहेछ भने सतर्क हुनुहोस्।

बीबीसीले हालै गरेको एउटा अध्ययनले कसैको 'स्नातकोत्तर उत्तीर्ण काका'को मिथ्या जानकारी भएको सूचना कसरी भाइरल भयो भन्ने हेरेको थियो।

त्यो सामग्रीका हात धुने तरिकाजस्ता केही कुराहरू सत्य थिए, तर कसरी रोग पहिचान गर्न सकिन्छ भन्ने कुरा गलत र जोखिमपूर्ण थिए।

"सबैभन्दा विश्वसनीय सूचनाका स्रोतहरू भनेका विश्व स्वास्थ्य सङ्गठनजस्ता स्वास्थ्य संस्था हुन्," फूलफ्याक्ट नामक तथ्यजाँच संस्थाकी सहायक सम्पादक क्लेअर मिल्न भन्छिन्।

विज्ञहरू पनि सधैँ विश्वसनीय नहुन सक्छन्, तर ती अपरिचित व्यक्तिका टाढाका नातेदारभन्दा विश्वसनीय हुन्छन्।

३. के यो मिथ्या हो?

आवरणले झुक्याउन सक्छ।

बीबीसीलगायत सरकारी संस्थाहरूका आधिकारिक अकाउन्टहरू पनि नक्कली बनाउन सकिन्छ। स्क्रीनसटहरू फेरेर त्यो आधिकारिक संस्थाबाट आएको जस्तो बनाउन सकिन्छ।

त्यसैले चिनिएका र नीलो चिन्ह भएका प्रमाणित अकाउन्ट तथा वेबसाइटहरू हेर्नुहोस्। कुनै सूचना सजिलै पाउन सकिएन् भने त्यो मिथ्या हुने सम्भावना बढी हुन्छ। र, यदि कुनै लिङ्क, भिडिओ वा पोस्ट गलत जस्तो देखिन्छ भने त्यो गलत नै हुने सम्भावना बढी हुन्छ।

अङ्ग्रेजीमा क्यापिटल अक्षर, अमिल्दा फन्ट वा गलत व्याकरणहरू छन् भने त्यो मिथ्या हुने सम्भावना ज्यादा हुने क्लेअर मिल्नको भनाइ छ।

४. शङ्का लाग्यो? शेअर नगर्नुहोस्

कुनै कुरा सत्य हुन पनि सक्छ भन्ने लाग्दैमा अरूलाई नपठाउनुहोस्। त्यसो गर्दा तपाईँले सहीभन्दा गलत गर्ने सम्भावना बढी हुन्छ।

कतिपय अवस्थामा तपाईँले त्यस्ता कुराहरू चिकित्सक वा विज्ञहरू भएको स्थानमा लेख्नुहुन्छ। त्यसो गर्नु हुन्छ भने तपाईँले आफ्नो शङ्काबारे पनि स्पष्ट लेख्नुहोस्। तर के याद गर्नुहोस् भने तपाईँले शेअर गरेर तस्बिर वा सामग्री अरू कसैले सन्दर्भ झिकेर पनि शेअर गर्न सक्छ।

५. सबै तथ्यको जाँच गर्नुहोस्

फेसबुकमा युनिसेफले जस्तो देखिने गरी कोरोनाभाइरसको जानकारीपत्र भाइरल भएको छ।

विज्ञहरूले नै त्यो युनिसेफकै भन्ठानेर शेअर गरिरहेका छन् र त्यसमा भएका केही जानकारी सही छन् भने धेरैजसो गलत छन्। (युनिसेफले त्यो जानकारीपत्र आफ्नो नभएको र शेअर नगर्न सार्वजनिक सूचना जारी गरिसकेको छ।)

Image caption फेसबुकमा युनिसेफले जस्तो देखिने गरी कोरोनाभाइरसको जानकारीपत्र भाइरल भएको छ

तपाईँलाई जब कुनै कुराको लामो सूची आउँछ र त्यसमा तपाईँलाई थाहा भएका केही सही कुरा छन् भने पूरै सूचीको विश्वास लाग्छ। तर सधैँ त्यस्तो हुँदैन।

६. भावुक कुराबाट होसियार

कुनै कुराले तपाईँको डर, रिस, तनाव वा खुशीजस्ता भावनालाई असर गर्छ भने त्यो भाइरल हुने सम्भावना ज्यादा हुन्छ।

पत्रकारहरूलाई मिथ्या सूचनाबाट जोगिन सहयोग गर्ने फर्स्ट ड्राफ्ट संस्थाकी क्लेअर वार्डल भन्छिन्, "मिथ्या सूचनालाई फैलिन सघाउने सबैभन्दा ठूलो कुरा डर हो।"

त्यस्ता भावनात्मक कुराबाट जोगिनुहोस्।

"मानिसहरू आफ्ना चिनेका मान्छेहरू सुरक्षित रहून् भन्ने चाहन्छन् त्यही भएर सुरक्षित रहन सहयोगी देखिने कुराहरू प्राप्त भए शेअर गर्ने गर्छन्," उनले भनिन्।

७. पूर्वाग्रहबारे सचेत हुनुहोस्

तपाईँले शेअर गर्ने कुरा तथ्य हुन् या खाली तपाईँले सोचे जस्तो मात्रै हो?

सेन्टर फर अनालीसीस अफ सोसल मिडियाका अध्ययन निर्देशक कार्त मिलर भन्छन्, कि हामीहरूले हामीले सोचेकै जस्तो कुराहरू बढी शेअर गर्छौँ।

"हामी जतिखेर रिसले सहमतिमा टाउको हल्लाइरहेका हुन्छौँ त्यतिखेर सबैभन्दा कमजोर हुन्छौँ," उनी भन्छन्, "त्यो बेला अरू कुराभन्दा पनि इन्टरनेटमा हामी जे गरिरहेका छौँ त्यसलाई एकछिन बन्द गर्नु ठिक हुन्छ।"