कोरोना भाइरस: भारतमा घरमै क्वारन्टीनमा बसेका परिवारले भोगेको विभेद

मानिसको हातमा लगाइएको छाप

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

यसरी छाप लगाइँदा लगाइँदै पनि केही मानिस बाहिर गएको प्रहरीले जनाएको छ

भारतले दशौँ हजार मानिसहरूलाई घरमै क्वारन्टीनमा राखेको छ। तर मानिसहरूलाई त्यसरी घरभित्रै राख्नका लागि अपनाइएका केही कदमहरूले भने नचाहेको र नमिठो असरहरू पारेका छन्।

मानिसलाई घरभित्रै राख्नका लागि क्वारन्टीनमा बसेका मानिसहरूको घरबाहिर स्टिकरहरू टाँसिएका छन् भने उनीहरूका व्यक्तिगत विवरण पनि सार्वजनिक गरिएका छन्।

बीबीसीका विकास पाण्डेको रिपोर्ट।

भारतीय राजधानी दिल्लीका भरत धिङ्ग्राको ६ जनाको परिवार उनको दाजुभाउजु गत मार्च २२ तारिखमा अमेरिकाबाट फर्किएदेखि नै "घरमा क्वारन्टीन"मा बस्दै आएको छ।

दाजुभाउजु दुवैमा कोरोनाभाइरस सङ्क्रमणको कुनै लक्षणहरू नदेखिएको भए पनि पूरै परिवार सरकारको सुझाव मानेर आफैँ क्वारन्टीनमा बस्यो।

त्यसपछि अधिकारीहरूले धिङ्ग्रा परिवारको घरबाहिर "क्वारन्टीनमा छन्, घरभित्र नजानुस्" लेखिएको स्टिकर टाँसिदिए।

मानिसहरूले नियम मानुन् भन्ने प्रत्याभूत गर्न त्यस्तो सन्देश राखिनुपर्ने थियो।

तर तत्परतापूर्वक नियमहरू पालना गरेका धिङ्ग्राजस्ता मानिसलाई भने त्यस्ता सूचनासहितको स्टिकरले "तनाव र मानसिक दबाव" दिएको छ।

"हाम्रो घर चिडियाखाना जस्तो भएको छ," उनले बीबीसीलाई भने।

"मानिसहरू हाम्रो घर हुँदै हिँड्दा तस्बिर खिच्छन्। एकैछिनका लागि मात्रै हामी बरण्डामा निस्कँदा पनि छिमेकीहरू हामीलाई घरभित्रै पस्न भन्छन्।"

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

कतिपय राज्यहरूमा त केही भवनहरूलाई बन्दै गरिएको छ

"सचेतनाका लागि क्वारन्टीनमा राखिएका घरहरूमा सूचनाहरू राख्नुपर्ने आवश्यकता हामी बुझ्छौं," उनले स्वीकारे।

"सरकारी अधिकारीहरूले पनि हामीलाई राम्रो व्यवहार गरेका छन्, तर मानिसको व्यवहारले भने हाम्रो चित्त दुख्छ।"

"केही मानिसहरूले हाम्रो घरको फोटो खिचेर अन्य मानिसलाई सचेत रहन भन्दै ह्वाटस्याप ग्रुपमा पठाएका छन्।"

यसले गर्दा आफ्नो परिवारको गोपनीयता भङ्ग भएको उनी बताउँछन्।

"घरमा क्वारन्टीनमा बस्नु भनेको सावधानीस्वरुप चालिएको कदम हो भनि मानिसहरूले बुझ्न जरुरी छ - यसको मतलब हामी सङ्क्रमित छौं भन्ने होइन, तर मानौं यदि हामी हौं भने पनि हामीलाई बहिष्कार गर्न आवश्यक छैन।"

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

घरमै क्वारन्टिनमा रहेका केही मानिसको हातमा छाप समेत लगाइएको छ

यस्तै अनुभव भएका देशभरका थुप्रै मानिसहरूसँग बीबीसीले कुराकानी गरेको छ।

दिल्लीको बाहिरी क्षेत्रमा पर्ने नोइडामा आफ्नो घर रहेको बताउने एक दम्पतीले आफ्नो घर "धेरैका लागि डरलाग्दो ठाउँ" भएको बताए। उनीहरूले आफ्नो परिचय खुलाउन भने मानेनन्।

"विदेशबाट फर्किएलगत्तै सावधानी स्वरुप हामी घरमै क्वारन्टीनमा बस्यौं। हाम्रो समुदायले हामीलाई यसरी पूर्ण रुपमा अलग्याउला भनेर त अलिकति पनि सोचेका थिएनौं।"

उनीहरूलाई के मात्रै चाहना थियो भने छरछिमेकले फोन वा मोबाइल सन्देशमार्फत हौसलाका केही शब्द दिउन्।

"तर हामी कौसीमा मात्रै निस्किएका बेला पनि उनीहरूले हामीलाई शङ्काको नजरले हेर्छन्।"

"हामीले कसैलाई भेटेका छैनौं। यस्तो व्यवहार गरिएकोले हामी साँच्चै दु:खी छौं।"

उत्तर प्रदेशस्थित फरुखावाद जिल्लामा घर भएका कुलजीत सिंले पनि आफ्नो घरमा क्वारन्टीनमा बस्दा यस्तै समस्या खेपेका छन्।

एउटा पार्टीमा उनले गायिका कनिका कपुरलाई भेटेका थिए जसमा पछि कोरोनाभाइरसको सङ्क्रमण देखिको थियो।

"उनलाई कोरोनाभाइरसको सङ्क्रमण देखिएको विषयले सञ्चारमाध्यममा धेरै चर्चा पायो र त्यसलाई लिएर मेरो परिवार निकै चिन्तित बन्यो," उनले भने।

"सबै खालका हल्लाहरू फैलिन थाले। केहीले त मैले रगत बान्ता गरेको र अब केही दिनमै मेरो मृत्यु हुनेसम्म पनि भने।"

सिंले भने "मानिसहरू डराएका छन् र सामाजिक सञ्जालमा जस्ता हल्ला आए पनि उनीहरू पत्याउँछन्।"

उनको क्वारन्टीन बस्नुपर्ने समय सकिएको छ तर उनी भन्छन्, मानिसको धारणा परिवर्तन हुन भने लामो समय लाग्नेछ।

"तरकारी र दूध बेच्ने मानिससम्म हाम्रो घरमा आउन मान्दैन।"

कतिपय अवस्थामा त जसरी परीक्षण गरिन्छ त्यसले पनि समस्या ल्याउँछ: पूर्वी राज्य विहारस्थित एक दम्पतीले आफ्नो छोरालाई स्वाब परीक्षणका लागि घरबाहिर निस्किएर बाहिर आएन भनिएको बताए।

"क्यानडाबाट फर्किएपछि उ घरमै क्वारन्टिनमा थियो। तलदेखि माथिसम्म सेतो पोशाकमा परीक्षणका लागि आएका चिकित्सक देखेर हाम्रा छिमेकीहरू साँच्चै डराए। सुरक्षित दूरीमा बस्दा पनि मानिसहरूले हामीलाई के कसो छ भनि सोध्न छोडे।"

परीक्षण गर्दा आफ्नो छोरामा कोरोनाभाइरसको सङ्क्रमण नदेखिए पनि मानिसहरूले गर्ने व्यवहार भने भेदभावपूर्ण नै रहेको उनीहरूले बताए।

"मानिसहरू अझै पनि हामीसँग कुराकानी गर्न अनिच्छुक देखिन्छन्," उनीहरूले भने।

विवरण चुहियो

यसैबीच, दक्षिणी सहर हैदरावाद र बैङ्गलोरमा क्वारन्टीनमा रहेका मानिसहरूको नाम र ठेगाना सार्वजनिक गरिएको छ।

बैङ्गलोरका एक वरिष्ठ अधिकारीले बीबीसी हिन्दीका इमरान कुरेशीलाई भने, "घरमै क्वारन्टिनमा बस्न भनिएका मानिसहरू पनि बिदा मनाउने अवस्थामा भए जस्तै गरी खुसी साथ बाहिरफेर घुमिरहेका थिए त्यसैले हामीले उनीहरूको विवरण सार्वजनिक गर्‍यौं।''

तर विज्ञहरू भन्छन् यसले मानिसको गोपनियता भङ्ग गरेको छ।

"सरकारले नाममात्रै प्रकाशित गरेको भए ठिकै हुन्थ्यो। तर ठेगाना पनि दिनु भनेको चाहिँ समस्यालाई निम्ता दिनु हो," बैङ्गलोरस्थित वकिल केभी धनञ्जयले भने।

क्वारन्टीन सुविधाका विषय उठाएर केही प्रदर्शनहरू भएका खबर पनि आएका छन्। बैङ्गलोरबाट १५० किलोमिटर दूरीमा रहेको माइसोरमा होटलमा क्वारन्टिनमा राखिएका २७ जनालाई अन्यत्रै लैजान स्थानीय मानिसले अधिकारीहरूलाई बाध्य पारेका थिए।

तस्बिरको क्याप्शन,

घरमै क्वारन्टीनमा रहेका मानिसहरूको घरबाहिर यस्ता स्टिकरहरू टाँसिएका छन्

"होटलमा राखिएकाहरूले झ्यालबाट बाहिर थुक्दा र त्यसबाट आफू सङ्क्रमित हुने भन्दै मानिसहरूले चिन्ता व्यक्त गरे," माइसोरका पूर्व उपमेयर तथा त्यही क्षेत्रमा बस्ने एमजे रविकुमारले भने।

हल्ला फैलाउने र विभेद गर्नेविरुद्ध कडा कारबाही गरिने वरिष्ठ प्रहरी अधिकारी सीबी राइसाइयन्थले बताए।

यसैबीच, हैदरावादमा घरमै क्वारन्टिनमा रहेका कम्तीमा १९ जना मानिसको टेलिफोन नम्बरलगायतका व्यक्तिगत विवरण चुहाइएको छ।

त्यसरी विवरण चुहिएपछि केही परवारमा जुन पायो त्यही बेला फोन आउने र "भाइरसलाई कसरी मार्ने" जस्ता विषया अनावश्यक सुझावहरू आउन थाल्यो।

मार्च २४ मा लकडाउन घोषणा हुनु एक दिनअघि सहर छोडेका रमेश तुङ्गाले आफूले पनि त्यस्तै खालका विभेदहरू झेलेको बताए।

"हैदरावादबाट म गाउँ गएँ। विदेश कहिल्यै नगएको भए पनि मैले गाउँका मानिसहरूलाई भनेँ र आफैँ अलग्गिएर बसेँ," उनले भने।

तर त्यसले "मलाई थप समस्यामा पार्‍यो।"

"मानिसहरू मेरो परिवारसँग बोल्नै छाडे। सबैलाई लाग्यो कि मलाई कोरोनाभाइरस लागेको छ र मैले पूरै गाउँलाई सङ्क्रमित गर्नेछु," उनले भने।

"सावधान रहनु राम्रो हो तर मानिसहरूले मानव हुन भने छोड्नु हुँदैन।"