कोरोना भाइरस: एक साताभित्र ३५ हजार मानिसको परीक्षण गर्ने सरकारको दाबी

  • ‏नेत्र केसी
  • बीबीसी न्यूज नेपाली
सङ्क्रमणको परीक्षण

कोरोनाभाइरस सङ्क्रमणको परीक्षणलाई केही दिन यता तीव्र रुपमा अघि बढाएको भनेको सरकारले एक साता भित्र ३५ हजार मानिसहरूको परिक्षण गरिसक्ने भनेर काम भइरहेको जनाएको छ।

चैत महिनामा विदेशबाट आएका, सरकारी क्वारन्टीनमा रहेका, घरमा क्वारन्टीनमा बसेका र सङ्क्रमितको वरपरका मानिसहरूको द्रुत परीक्षण अर्थात् र्‍यापिड कीट मार्फत परीक्षण गरिने बताइएको छ।

हालसम्म नेपालमा पीसीआर र र्‍यापिड कीटबाट गरि आठ हजार भन्दा बढीको परीक्षण भइसकेको छ।

कोरोनाभाइरसको रोकथाम र नियन्त्रणका लागि देशव्यापी लकडाउन गरेको सरकारले दोस्रो रणनीतिका रूपमा परीक्षणको दायरालाई बढाउने नीति लिएको छ।

पीसीआर मेसिनबाट देशका प्रमुख सहरहरूमा स्वाब सङ्कलन गरेर परीक्षण भइरहँदा पछिल्ला दिनमा गाँउ गाँउमा र्‍यापिड कीटबाट परीक्षण भइरहेको जनाएको छ।

सबै प्रदेशका सबै जसो जिल्लामा गरि ३५ हजार त्यस्ता कीट पुगिसकेको बताइएको छ।

लक्षित समूह

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले ती सबै एकसाता भित्र प्रयोग भइसक्ने बताए।

उनले भने, "हरेक प्रदेशमा पाँच हजारको दरले पठाएको हो। यो साताभित्र सबै कीटहरूको प्रयोग गर्ने योजना छ। सुदूरपश्चिमका जिल्लादेखि धेरैवटामा भइसकेको छ। पाँचसात दिनमा ती कीटहरू सबै ठाउँमा परीक्षण गर्ने हाम्रो योजना छ।"

त्यसरी गरिएको परीक्षणमा सङ्क्रमण देखिएकाहरूको अनिवार्य रुपमा फेरि पीसीआर विधिबाट परीक्षण गरिने र र्‍यापिड कीटबाट परीक्षण गर्दा सङ्क्रमण नदेखिएका मध्येको पनि केहीलाई छानेर फेरि पीसीआर विधिबाट परीक्षण गरेर यकिन गरिने उनको भनाइ छ।

हाल भइरहेको परीक्षण विदेशबाट आएका र सरकारी क्वारन्टीनमा रहेकाहरूलाई लक्षित गरिएको प्रवक्ता देवकोटाले बताए।

"विदेशबाट आएर क्वारन्टीनमा बसेका करिब ८ हजारको हाराहारीमा हुनुहुन्छ। उहाँहरूलाई अनिवार्य रुपमा परीक्षण गर्ने र उहाँहरूको वरिपरि हुनेलाई पनि परीक्षणमा राखिन्छ। त्यसबाहेक अरू समस्या देखिएका र लक्षण मिलेका अन्यलाई पनि गर्ने योजना छ।"

मान्यता पाउन बाँकी

चीनबाट ल्याइएका ती र्‍यापिड परीक्षण कीटलाई विश्वस्वास्थ्य सङ्गठनले हालसम्म मान्यता दिएको छैन।

हाल सम्मको र्‍यापिड कीटको नतिजा सकारात्मक देखिएको अधिकारीहरूको भनाइ छ।

स्वास्थ्यमन्त्रालयले अझै ३५ हजारकै हाराहारीमा र्‍यापिड कीट आफूहरूसँग सञ्चित रहेको जनाएको छ।

हाल सम्म पीसीआर विधिबाट परीक्षण गरिएका ५ हजार १ सय ८४ र र्‍यापिड कीट विधिबाट परीक्षण गरिएका ३ हजार ३ सय २१ नमुनाको परीक्षणमा १२ जना सङक्रमित देखिएका छन्। ती मध्ये ११ जना अस्पतालमा उपचारकै क्रममा छन्।

प्रदेश २ मा परीक्षणको अवस्था

पछिल्ला परीक्षणबाट प्रदेश नम्बर २ को वीरगञ्जमा आइतवार ३ जना कोरोनाभाइरस सङक्रमित देखिएपछि उक्त प्रदेशमा थप सङ्क्रमित हुनसक्ने आशङ्काहरू बढेका छन्।

त्यस्तो आशङ्कापछि त्यहाँ आवतजावतमाथि रोक लगाएर पूरै क्षेत्रलाई नै 'सील' गरिएको प्रदेश नम्बर २ का सामाजिक मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए।

"वीरगञ्जमा तीनजनामा सङ्क्रमण देखिएपछि अब यो क्षेत्रमा थप मानिसलाई एकान्तवासमा राख्नुपर्ने र उपचार केन्द्रको क्षमता बढाउनुपर्ने देखिएको छ," घिमिरेले भने।

प्रदेश नम्बर २ स्थित सुख्खा बन्दरगाहमा भारतबाट गाडीमा सामान आउने र त्यसक्रममा समान ओसारपसार गर्दा मानिसहरूको राम्रो निरीक्षण गरिनुपर्ने विषय पनि उठेका छन्।

त्यसका लागि आफूले चालेका कदमबारे बोल्दै सामाजिक मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले भने, "दैनिक उपभोग्य सामान अभाव भयो भने त्यसले झन् समस्या हुन्छ भनेर गाडीहरू आउन दिने सरकारी निर्णय नै छ। तर नेपालबाट भारत आउँदा होस् वा भारतबाट नेपाल आउँदा हामीले परीक्षण गरेर ल्याउने गरेका छौँ। त्यसबाट अहिलेसम्म कुनै समस्या देखिएको छैन।"