कोरोना भाइरस: चीनमा हप्तौँपछि कोरोनाभाइरसका नयाँ सङ्क्रमितको सङ्ख्या उच्च

चीनले कोरोनाभाइरसबाट १ सय ८ जना नयाँ सङ्क्रमित पाइएको जनाएको छ जुन पाँच साताभन्दा लामो समयपछिको उच्च सङ्ख्या हो।
ती मध्ये धेरैजसो विदेशबाट फर्किएका चिनियाँ नागरिकहरू रहेको बताइएको छ।
आधाभन्दा बढी मानिसहरू रुससँग सीमा जोडिएको उत्तरी प्रान्त खेलुङजियाङका रहेका छन्।
भाइरस सुरुमा देखापरेको हुबे प्रान्तमा नयाँ सङ्क्रमितको सङ्ख्या एकदमै कम रहेको छ तर त्यहाँ थप दुईजनाको मृत्यु भएको छ।
साङ्घाइमा रहेका बीबीसी संवाददाताले सङ्ख्या कम रहे पनि बढ्न थालेको सङ्केत भने राम्रो समाचार नभएको जनाएका छन्।
अमेरिकामा के छ अवस्था?
अहिलेसम्म विश्वभर १८ लाख मानिसहरू कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।
चीनभर अहिलेसम्म ८३,१३५ जना सङ्क्रमित छन् भने सबैभन्दा बढी मानिस सङ्क्रमित रहेको अमेरिकामा त्यो सङ्ख्या पाँच लाख ५७ हजार नाघिसकेको छ।
न्यूयोर्क राज्यका गभर्नर एन्ड्र्यु कोमोले न्यूयोर्कमा मृत्यु हुनेको सङ्ख्या धेरै भए पनि अस्पतालमा भर्ना हुन आउने मानिसको दर घटेको बताए।
अमेरिकामा कोरोनाभाइरसका कारण २२ हजार मानिसको मृत्यु भइसकेको छ।
युरोपमा लकडाउन खुकुलो पारिँदै
उता कोरोनाभाइरसका कारण धेरै सङ्क्रमित रहेका युरोपेली मुलुकहरूमा दैनिक मृत्यु हुनेमा सुधार देखिएपछि ती देशमा लकडाउनलाई केही खुकुलो पार्न थालिएको छ।
इटलीमा तीन हप्ता यता सबैभन्दा कम अर्थात् ४३० जनाको मृत्यु भएको छ।
यो सङ्ख्या दुई हप्ताअघिको भन्दा आधाले कम हो। त्यतिबेला कोरोनाभाइरस महामारी उच्च विन्दुमा थियो।
फ्रान्समा मृत्यु हुनेहरूको सङ्ख्या थोरैले कम देखिएको छ।
सङ्क्रमण दर मत्थर देखिन थालेपछि रोम र मड्रिडका सरकारहरू अर्थतन्त्र व्यूँताउन उत्सुक देखिन्छन्।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
भारतमा लकडाउन लम्बिने
त्यस्तै छिमेकी देश भारतमा मंगलवारसम्मका लागि लगाइएको देशव्यापी लकडाउन थप लम्बिने देखिएको छ।
त्यहाँ अहिलेसम्म ९,००० भन्दा बढी सङ्क्रमित भइसकेका छन् भने ३,३१ जनाको मृत्यु भइसकेको छ।
भारतले चीनबाट ५ लाख द्रुत परीक्षण कीट मगाएको भए पनि त्यो आइपुगिनसकेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
थुप्रै राज्यहरू तिनै कीट आएपछि परीक्षण गर्नका लागि भनि भर परेर बसेका छन्।
खबरहरूका अनुसार लकडाउन रोक्नका लागि कस्ता उपायहरूले काम गर्न सक्ला भनेर केन्द्र सरकार घोत्लिरहेका बेला केही राज्यहरूले त आधिकारिक रुपमै दुई साताका लागि लकडाउनको समयावधि थपिसकेका छन्।
पछिल्लो २४ घण्टामा भारतमा ९,१८ नयाँ सङ्क्रमित देखिएका छन् भने ३४ जनाको मृत्यु भइसकेको छ।