कोरोना भाइरस: भारतीय चलचित्र उद्योग बलिउड ठप्प

चलचित्र

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

सूर्यवंशी चलचित्र प्रदर्शनको मिति अनिश्चितकालका सारिएको छ

कोभिड-१९ को सङ्क्रमणका कारण विश्व नै ठप्प रहेका बेला भारतको चलचित्र उद्योगले रित्तो फिल्म सेट, बन्द चलचित्र घरहरू र चर्चित अभिनेताका खाली डायरीहरू देखिरहेको छ। बलिउडमा परेको असरबारे बीबीसी एसिया नेटवर्कका हरून रशिदको रिपोर्ट।

गत महिना बलिउडका प्रशंसकहरू निकै उत्साहित थिए।

शक्तिशाली प्रहरीको कथामा आधारित निर्देशक रोहित शेट्टीको नयाँ चलचित्र मार्च २४ तारिखमा प्रदर्शनमा ल्याउने योजना थियो।

भारतमा राष्ट्रिय बिदाको दिन रिलिज गर्ने योजना बनाइएको सूर्यवंशी नामक उक्त चलचित्रले मनग्गे आम्दानी गर्ने पनि अनुमान गरिएको थियो।

तर त्यही दिनबाट कोरोनाभाइरसको सङ्क्रमणको जोखिमलाई ध्यान दिँदै भारतमा २१ दिने लकडाउन सुरु भयो। अनि सूर्यवंशी चलचित्र सार्वजनिक गर्ने मिति अनिश्चितकालका लागि सारियो।

अर्का निर्देशक कबिर खानको विश्वकप बिजेता भारतीय टोलीमाथिको कथा समेटिएको चलचित्र प्रदर्शनको मिति पनि त्यसैगरि पछि सारियो।

रणवीर सिंह र दीपिका पादुकोण अभिनीत यो चलचित्र एप्रिल १० मा रिलिज हुने भनिएको थियो तर युट्युब च्यानल फिल्म कम्पेनियनसँग कुरा गर्दै निर्देशक खानले चलचित्र सार्वजनिक हुने मिति सार्नु एकदमै दुखद भएको बताएका छन्।

सर्वत्र प्रभाव

चलचित्र प्रदर्शन हुने मिति मात्रै होइन, कोरोनाभाइरसका कारण बलिउडमा सर्वत्र प्रभाव परेको छ।

लकडाउन सुरु हुँदा अभिनेत्री कङ्गना रनावत दक्षिणी भारतको तमिलनाडुमा आफ्नो नयाँ चलचित्र थलावीको सुटिङमा व्यस्त रहेकी थिइन्।

एउटा बलिउड चलचित्र समाचार साइटलाई दिएको अन्तरवार्तामा उनले आफू त्यहाँ ४५ दिन रहनुपर्ने भएपनि विभिन्न दृश्यहरू खिच्न आवश्यक पर्ने भिड जुटाउन नसकिएकाले मुम्बई फर्किएको बताइन्।

अभिनेत्री दीपिका पादुकोणले लकडाउन सुरु हुनु केही दिनअघि मात्रै आफू नयाँ चलचित्रको सुटिङमा श्रीलङ्का जानुपर्ने भएपनि मुम्बई छाडिनसकेकाले अलपत्र नपरेको हालै दिएको एउटा अन्तरवार्तामा बताएकी छन्।

बलिउड अभिनेता अभनेत्रीहरूले आफ्ना समाजिक सञ्जालमा दैनिक गतिविधिसँग जोडिएका सामग्री पोष्ट गरेका छन्। उदाहरणका लागि दीपिका पादुकोण र कट्रिना केफले खाना बनाइरहेको, भाँडा माझिरहेको जस्ता गतिविधि पोष्ट गरेका छन्। अनि आलिया भट र हृतिक रोशनले नयाँ सीप सिकिरहेका छन्।

तर कतिपयले चाँहि स्थितिको गम्भीरताप्रति ध्यान नदिएको भन्दै आलोचना भेटेका छन्।

इन्स्टाग्राममा एउडा भिडिओ राख्दै निर्देशक फराह खानले यदि व्यायाम गरिरहेका भिडिओ पोष्ट गर्न बन्द नगरे आफ्ना केही चर्चित साथीहरूलाई 'अनफलो' अर्थात् सामाजिक सञ्जालमा नपछ्याउने चेतावनी दिएकी छन्।

उनले भनेकी छन्, "म बुझ्छु कि तपाईँहरूको विशेष हैसियत छ र यस्तो विश्वव्यापी महामारीमा पनि आफ्नो शरीरको हेरविचार गर्ने बाहेक खासै काम छैन्। तर हामीमध्ये अधिकांशको सङ्कटको यो अवधिमा अरू नै सरोकारहरू छन्।"

कोषमा सहयोग

तर कतिपय अभिनेताहरूले सामाजिक दूरी कायम गर्ने जस्ता विषयमा शिक्षा फैलाउन पनि आफ्ना समाजिक सञ्जालका खाताहरू प्रयोग गरिरहेका छन्। चलचित्र उद्योगका कतिपय प्रख्यात व्यक्तित्वहरूले सहयोग पनि गरिरहेका छन्।

अभिनेता अक्षय कुमार तथा अभिनेत्री अनुस्का शर्माले लकडाउनका कारण बेरोजगार भएका दैनिक ज्यालादारीका मजदुर लक्षित प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको कोषमा सहयोग गरेका छन्।

दैनिक ज्यालादारी प्राविधिक र सहयोगीहरूका लागि निर्देशकहरूको समूह प्रोड्युसर्स गिल्ड अफ इण्डियाले खडा गरेको कोषमा धेरै अरू अभिनेता अभिनेत्रीले सहयोग गरेका छन्।

तर लकडाउन विस्तार गर्ने भन्ने आशङ्का व्यक्त गरिएसँगै निर्माताहरूले बलिउडले काम गर्ने शैलीमा महत्वपूर्ण परिवर्तन हुने आँकलन गरिरहेका छन्।

तस्बिरको क्याप्शन,

रणवीर सिंह र दीपिका पादुकोण ८३ नामको सिनेमाका मुख्य कलाकार हुन्

चलचित्र निर्देशक करन जौहरले एप्रिल महिनामा नै आफ्नो नयाँ चलचित्र तख्तको सुटिङ थाल्ने योजना बनाएका थिए। उनको समूहले युरोपमा चलचित्रको सेट पनि बनाउन थालिसकेको थियो तर अब उनले भविष्यका बारेमा आफू अनिश्चित रहेको बताए।

भारतका एक जना शक्तिशाली निर्देशक रहेका उनका दुई वटा चलचित्र सार्वजनिक हुनका लागि तयार छन् र सात वटा निर्माणका क्रममा छन्।

पत्रकार राजिव मसन्दसँग उनले भने, "यो त धर्मा प्रोड्क्सनको मात्रै कुरा भयो। प्रत्येक कम्पनी र प्रत्येक स्टुडिओका अनेक यस्ता चुनौती छन्। हामीलाई कहिलेसम्म अवस्था सामान्य हुन्छ थाहा छैन‍ र यसको प्रभाव सिनेमामा कति गहिरो पर्छ भन्न सकिन्न।"

खुसीको खोज

व्यापार विज्ञहरूले प्रदर्शनको मिति सारिएका चलचित्रहरू पछि बजारमा आउँदा नोक्सान बेहोर्ने बताइरहेका छन्।

तर ८३ नामको सिनेमाका निर्देशक कबिर खान आशावादी छन्। उनले ४ महिनापछि चलचित्र उद्योग तङ्ग्रिदै जाने पनि बताएका छन्।

तर बलिउड स्टार र निर्देशकहरूले गरिबहरूले बेहोरिरहेको समस्यामा उनीहरूका चुनौती ठूलो नरहेको पनि बुझेका छन्।

अभिनेता विक्की कौशल पछिल्ला खबरहरूले आफूलाई पीडा दिइरहेको भन्दै आफ्ना समर्थकहरूलाई जिम्मेवार र सावधान बन्न अनि जिन्दगीबाट साना साना कुरामा खुसी खोज्न सुझाव दिन्छन्।

त्यसमा सही थप्दै अभिनेत्री दीपिका पादुकोण भन्छिन्, "अहिले खुसी वा सकारात्मकता वा हर्ष दिलाउने अरू कुराहरूमा मात्रै केन्द्रित हुने समय हो।"