कोरोना भाइरस मृत्यु: कोभिड-१९ सँग सम्बन्धित तथ्याङ्क कसरी बुझ्ने

  • निक ट्रिगल
  • स्वास्थ्य संवाददाता
कोभिड१९

तस्बिर स्रोत, Getty Images

विश्वभरि कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गुमाउने मानिसको स‍ङ्ख्या दिनानुदिन बढिरहेको छ।

यसले मानिसहरूलाई तर्साउनुका साथै पीडित परिवारलाई शोकमा पारिरहेको छ।

यो महामारी कति खराब हुन सक्छ भनेर गरिएका प्रक्षेपणका कारण कैयौँ देशमा अत्यवाश्यकबाहेक सबै हिँडडुलमा लगाइएको छ।

तर मृतकको स‍ङ्ख्याले के भनिरहेको छ र अवस्था कति बिग्रिन सक्छ भन्ने चर्चा यो सामग्रीमा गरिएको छ।

के कोरोनाभाइरसले ज्यान लिइरहेको छ?

कोभिड-१९ भएको पुष्टि भएपछि त्यसबारे जानकारी दिनुपर्ने व्यवस्था छ।

मृत्यु हुने बेलामा शरीरमा कोरोनाभाइरस देखिएका व्यक्तिको सङ्ख्या दैनिक तथ्याङ्कमा समाविष्ट हुन्छ।

तर यो स‍ङ्ख्याले कुन तहसम्म भाइरसले मृत्यु निम्त्याइरहेको छ भनेर देखाउँदैन।

कोरोनाभाइरस मृत्युको प्रमुख कारण पनि हुनसक्छ, सहायक कारण पनि हुनसक्छ वा अरू नै कुनै कारणले मृत्यु भएको भएको भए पनि संयोगवश शरीरमा रहेको मात्रै पनि हुनसक्छ।

उदाहरणका लागि ब्रिटेनमा कोरोनाभाइरस पुष्टि भएपछि मृत्यु भएका एक १८ वर्षीय किशोरको अरू नै कारणले ज्यान गएको उनको उपचारमा संलग्न अस्पतालले बताएको छ।

तर पहिला कुनै समस्या भएको थाहा नभएका स्वास्थ्यकर्मीसहित र अन्य व्यक्तिको पनि मृत्यु भएको उदाहरणहरू छन्।

के भाइरसका कारण चाँडो मृत्यु भइरहेको छ?

यूकेमा प्रत्येक वर्ष झन्डै छ लाख मानिसको मृत्यु हुन्छ। कोरोनाभाइरस नभएको अवस्थामा पनि कमजोर र वृद्धवृद्धा बढी जोखिममा हुने गर्छन्।

असी वर्ष नाघेका झन्डै १० प्रतिशत व्यक्तिले अर्को वर्ष ज्यान गुमाउने केम्ब्रिज विश्वविद्यालयका प्राध्यापक सर डेभिड स्पिगलहल्टर बताउँछन्।

कोरोनाभाइरस सङ्क्रमण भए उनीहरूको मृत्युको जोखिम बढ्ने प्राध्यापक स्पिगलहल्टरले बताए। त्यसको अर्थ थप मृत्यु हुँदैन भन्ने होइन।

प्राध्यापक स्पिगलहल्टरको भनाइमा त्यहाँ उल्लेख्य सङ्ख्या ‘खप्टिन्छ’। अर्थात् कोभिड-१९ का कारण ज्यान गुमाउने धेरै मानिसको यसै पनि छोटो अवधिपछि नै मृत्यु हुने सम्भावना थियो।

अहिलेकै चरणमा त्यो सङ्ख्या भन्न सम्भव छैन। तर इम्पीरीअल कलेजले विकास गरेको विधिका प्रमुख अनुसन्धानकर्ता प्राध्यापक नील फर्गुसन त्यो दुईतिहाइसम्म हुनसक्ने बताउँछन्।

कति मृत्यु थप भइरहेको छ?

आगामी हप्ताहरूमा देखिने कोरोनाभाइरस सङ्क्रमणसँग स्वास्थ्यसेवा प्रदायकहरूले अहिले लिएको नीति कतिको प्रभावकारी हुन्छ त्यसबाट एउटा निष्कर्षमा पुग्न सकिन्छ।

तस्बिर स्रोत, Getty Images

अनुमान गरिएको मृत्युको सङ्ख्या र वास्तविक मृत्युको स‍ङ्ख्याबीच रहेको अन्तर मापनको एउटा प्रमुख आधार हो।

यो फ्लू देखापर्ने मौसममा नजिकबाट नियाल्ने गरिन्छ।

प्रत्येक वर्ष हिउँदयाममा फ्लूका कारण १७,००० जनाजतिको मृत्यु हुने गरेको पब्लिक हेल्थ इङ्ग्ल्यान्डले बताएको छ।

पछिल्लो एउटा तथ्याङ्कले ब्रिटेन र नोर्दन आयरल्यान्डका अस्पतालमा समेत समुदायस्तरमा पनि भएका मृत्यु जोडेर अपेक्षा गरिएको भन्दा ६,००० जनाभन्दा बढीले ज्यान गुमाउन सक्ने उल्लेख गरेको छ।

के लकडाउनले पनि ज्यान लिइरहेको हुनसक्छ?

नटिङ्गम ट्रेन्ट यूनिभर्सिटीका प्राध्यापक रोबर्ट डिन्वलका अनुसार लकडाउनका कारण पनि धेर जनाको मृत्यु भइरहेको हुनसक्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

कोभिड-१९ सम्बन्धी यी भ्रामक कुरा बेवास्ता गर्नुहोस्

उनले समाज र अर्थतन्त्रमा परिरहेको क्षतिलाई नजिकबाट नियाल्नुपर्नेमा जोड दिए।

त्यसो गर्दा हेर्नुपर्ने कुराहरू बुँदागत रूपमा राख्दै उनले भने:

  • मानसिक स्वास्थ्य समस्या र एक्लिएर बस्दा हुने आत्महत्या
  • शारीरिक गतिविधि कम हुँदा निम्तिने मुटुसम्बन्धी समस्या
  • बढ्दो बेरोजगारी र जीवनस्तरमा आएको कमीले निम्त्याउने समस्या

नियमित रूपमा शल्यक्रिया र क्यान्सरको जाँच हुन नसक्दा त्यसबाट जनस्वास्थ्यमा पर्ने क्षतिलाई पनि हेर्नुपर्ने धारणा अरूले राखेका छन्।

त्यसबाहेक जीवनस्तरमा आएको ह्रास र कमजोर स्वास्थ्य सेवाका कारण मानिसहरूले औसतमा तीन महिना आयु गुमाउने भनिएको छ।

अब के हुन्छ?

अहिले भाइरसलाई फैलिनबाट रोकेर सङ्क्रमणको उच्चबिन्दुमा नै दबाउने प्रयास भइरहेको छ।

उच्चबिन्दु नाघेपछि अब के गर्ने भनेर निर्णय लिनुपर्ने हुन्छ।

खोप बन्न कम्तीमा एक वर्ष लाग्ने भनिएको छ। त्यही भएर भाइरसलाई व्यवस्थापन गर्नु एउटा चुनौती हुनेछ।

भाइरसलाई टाढै राख्न र दोस्रो पटक फैलिएर उत्कर्षमा पुग्न नदिन तथा देशको अवस्था पनि सामान्य बनाउन एउटा सन्तुलन कायम गर्नुपर्ने आवश्यकता रहन्छ।

त्यही भएर रक्षा गर्न सकिएका जीवन र गुमेका जीवनबारेको पूर्ण तस्बिरले यसबारे सही निर्णय गर्न सहयोग गर्छ।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ,

कोरोना भाइरस: धेरै बिरामीको ज्यान जोगाउन कश्मीरका चिकित्सकले गरेको भेन्टिलेटरमा परिमार्जन