कोरोना भाइरस: जीटुजीबाट विभिन्न स्वास्थ्य सामग्री खरिद गर्ने सम्झौताको 'टुङ्गो', बजेट स्वीकृत

टेस्ट किट

तस्बिर स्रोत, AFP

कोरोनाभाइरसको सङ्क्रमणसँग जुध्न नेपालले चीन र भारतबाट जीटुजी प्रक्रियामार्फत् ल्याउने सामानको निम्ति आवश्यक बजेट अर्थमन्त्रालयले स्वीकृत गरेको छ।

अर्थमन्त्री एवम् सरकारका प्रवक्ता युवराज खतिवडाले बीबीसीसँग कुरा गर्दै सामान ल्याउने प्रक्रिया अघि बढेको जानकारी दिए।

उनले भने, "सामान नआउन्जेलसम्म प्रक्रिया जारी नै रहन्छ। हामीले बजेट सुनिश्चित गरिदिने हो, त्यो हामीले गरिसक्यौँ।"

नेपाली सेनालाई जीटुजी प्रक्रिया अनुसार सामान किन्ने जिम्मा दिइएको छ।

उसले रक्षा मन्त्रालयमार्फत् स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा भारतबाट ५३ थरी औषधी र चीनबाट ६७ किसिमका स्वास्थ्य उपकरण लगायतका सामग्रीको अन्तिम सूची तयार गरेको हो।

पहिले झन्डै चार सय थरीका सामान र औषधीको सूची बनाइएकोमा अन्तिम रूप दिँदा कुल १२० थरीमा खुम्चिएको हो।

सम्झौतालाई अन्तिम रूप

सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले भने, "स्वास्थ्य मन्त्रालयबाट सामानको प्रकार र परिमाणलाई अन्तिम रूप दिएर पठाएको सूची सम्बन्धित निकायमार्फत् सम्बन्धित देशहरूमा गइसकेको छ।"

सामानको सूची पठाइसकेपछि सम्बन्धित देशहरूसँग सम्झौता गर्नुपर्ने हुन्छ। बिहीवार बिहान उक्त सम्झौता पत्र प्रधानसेनापतिबाट स्वीकृत भइसकेको छ।

त्यो रक्षा हुँदै परराष्ट्र मन्त्रालयबाट दुवै देशमा पठाउने गरिन्छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार परराष्ट्रले गर्नुपर्ने मूल विषयहरूमा सहजिकरणको काम गरिसकेको छ, बजेट पनि स्वीकृत भइसक्यो।

"सामानको प्रकार र कार्यविधिबारे स्पष्ट हुनुपर्ने कुराहरू थिए। ती सबै कुरालाई भिडिओ वार्ता गरेर अन्तिम रूप दिइसकेका छौँ।" मन्त्री ज्ञवालीले बीबीसीसँग भने, "सम्झौताको दस्तावेजलाई पनि अन्तिम रूप दिइसक्यौँ। सम्झौता पनि भएर प्रक्रिया टुङ्गिसकेको हुनुपर्छ। प्रशासनिक काम मात्र बाँकी होला।"

तस्बिर स्रोत, GETTY IMAGES

तस्बिरको क्याप्शन,

परीक्षण

ढिलो हुँदाको जोखिम

जीटुजी विधिबाट सामान खरिद गर्ने निर्णय भएको दुई साता बित्दा पनि टुङ्गो नलाग्दा सामान ल्याउने प्रक्रिया ढिलो हुने चिन्ता देखिन थालेको छ।

भारतले दिने औषधीहरू दिल्लीस्थित नेपाली दूतावासमा पठाइदिने जनाएको अधिकारीहरूले बताएका छन्।

चीनले ग्वान्जाओमा सामान दिने र त्यहाँबाट नेपालले ल्याउनु पर्ने हुन्छ।

एकजना अधिकारीका अनुसार नेपाल चीनसँग स्वास्थ्य सामग्री माग गर्ने ८१ ‍औं राष्ट्रमा परेको छ। ढिलो गर्दा त्यो सामान अर्कै देशले लग्ने सम्भावना रहेकाले हतारो गर्नु पर्ने खाँचो रहेको उनले बताए।

त्यस्तै चीनले ग्वान्जाओमा सामान बुझाइसकेपछि अन्य प्रशासनिक र प्रक्रियागत कुरा लम्बिँदा तुरून्तै ल्याउन नसकिएमा दैनिक भाडा तिर्नु पर्ने र खर्च थपिने बताइन्छ।

एकजना मन्त्रीले त्यसैले पनि केही दिनभित्रै सामान ल्याउने गरी काम भइरहेको जानकारी दिए। उनका अनुसार केही प्राविधिक विषय बाँकी रहेमा पनि सामान उठाइहाल्ने गरी तयारी भएको छ।

नयाँ कोरोनाभाइरस सङ्क्रमण भेटिएन

तस्बिर स्रोत, AFP

दुई विमान चीनतर्फ

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार स्वास्थ्य सामग्री ल्याउन नेपाल वायु सेवा निगमका दुईवटा जहाज बिहीवार साँझ चीनको ग्वान्जाओतर्फ उडेका छन्।

निजी कम्पनीहरूले स्वास्थ्य सामग्री ल्याउन भाडामा लिएका ती विमान शुक्रवार बिहान फर्किने तालिका छ।

त्यस्तै स्वास्थ्य सेवा विभागले स्वास्थ्यकर्मीहरूको सुरक्षाको निम्ति आवश्यक हुने पीपीई, मास्क लगायतका सामान ल्याउन पाँचवटा निजी कम्पनीलाई जिम्मेवारी दिने निर्णयमा पुगेको विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।

उनीहरूले तत्काल सामान नल्याएमा वा ल्याउन नसकेमा कालो सूचीमा पर्ने उनले बताए।

चिनियाँ सामानको भर

यसअघि विवादित बन्न पुगेको निजी क्षेत्रले ल्याएका र्‍यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) किटकै भरमा कोरोनाभाइरस सङ्क्रमितको परीक्षणले गति लिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीवारसम्म परीक्षण भएका १९ हजार ४३२ नमुनामध्ये पीसीआरबाट सात हजार २४० र आरडीटीबाट १२ हजार १९२ नमुना छन्।

अब सबै जिल्लाहरूमा त्यसलाई थप तीब्र बनाइने बताइएकाले स्वास्थ्य सामग्री ल्याउन धेरै ढीलो गर्न नहुने स्वास्थ्य अधिकारीहरू बताउँछन्।

नेपालमा हालसम्म कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या १६ छ। एकजना निको भइसकेका छन्।

आरडीटी परीक्षणबाट देशका विभिन्न भागमा पोजिटिभ देखिएकाहरूको पीसीआरबाट पुन: परीक्षणको प्रक्रिया जारी रहेको बताइएको छ।