कोरोना भाइरस: अमेरिकामा चरणबद्ध रुपमा राज्यहरू पुन: खोल्ने योजना सार्वजनिक

राष्ट्रपति डोनल्ड ट्रम्प

तस्बिर स्रोत, Getty Images

कोभिड-१९ अमेरिकाभर फैलिरहेका बेला राष्ट्रपति डोनल्ड ट्रम्पले राज्यमा लगाइएका प्रतिबन्धहरू आउँदा महिनाहरूमा हटाउने विषयमा गभर्नरहरूलाई निर्देशन दिएका छन्।

उनले प्रतिबन्ध हटाउने प्रक्रिया तीन चरणमा हुने र केही राज्यहरूमा त्यो प्रक्रिया छिट्टै सुरु हुने समेत बताए।

ह्वाइट हाउसमा भएको नियमित पत्रकार सम्मेलनका क्रममा उनले गभर्नरहरूलाई आवश्यकता अनुसार आ-आफ्नो राज्यमा कदमहरू चाल्न अनुमति दिइने बताएका हुन्।

यसअघि ट्रम्पले मे पहिलो तारिख वा गभर्नरले चाहे त्योभन्दा पहिला नै आफ्ना राज्यहरूमा प्रतिबन्ध हटाउन सक्ने बताएका थिए।

सङ्घीय सरकारको साथ

ट्रम्पले सङ्घीय सरकारको सहायतामा गभर्नरहरूले सबै प्रक्रियाको व्यवस्थापन आफैँ गर्ने पनि बताए।

अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसबाट ६ लाख ६७ हजार भन्दा बढि सङ्क्रमित भइसकेका छन् भने ३२ हजार ९ सय भन्दा धेरैको मृत्यु भइसकेको छ।

ट्रम्पले केही राज्यहरू यही महिना खुल्नसक्ने पनि बताए।

कोरोनाभाइरस

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन,

कोरोनाभाइरस सङ्क्रमित र त्यसकै कारण मृत्यु हुनेको सङ्ख्या अमेरिकामा विश्वकै उच्च छ।

बिहीवार पत्रकारहरूलाई जानकारी दिने क्रममा उनले भने, "अमेरिका खुल्न चाहन्छ र अमेरिकीहरू खुल्न चाहन्छन्।"

"देशव्यापी बन्द बेहोर्न सकिने दीर्घकालीन समाधान होइन।"

उनले लकडाउन लम्बिँदा त्यसले जनस्वास्थ्यमाथि गम्भीर खतरा थपेको बताए।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

चेतावनी

उनले औषधी र रक्सीको दुरुपयोग हुने, मुटुरोगलगायत अन्य "शारीरिक र मानसिक" समस्याहरूमा "तीब्र वृद्धि" हुने चेतावनी दिए।

ट्रम्पले "सर्तहरू पूरा भए" स्वस्थ्य नागरिकहरू काममा फर्किनसक्ने पत्रकारहरूलाई बताए।

उनले अमेरिकीहरूलाई सामाजिक दूरी कायम गर्न र यदि स्वस्थ महसुस नगरे घरमै बस्न भनिने पनि बताए।

उनले अमेरिकाको अर्थतन्त्र पुन: खोल्ने विषय "एक पटक चालिने एउटा सावधानीपूर्ण कदम" हुने बताए।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

कोरोनाभाइरस: अर्थतन्त्र जोगाउने कि जनता भन्ने द्विविधा

ट्रम्प प्रशासनको १८ पृष्ठ लामो निर्देशिकामा तीन चरणमा अर्थतन्त्र पुन: खोलिने र एउटा चरण कम्तीमा १४ दिनको हुने बताइएको छ।

उक्त निर्देशिका अनुसार कुनै क्षेत्र महिनादिन लामो मूल्याङ्कनपछि सामान्य अवस्थामा फर्किनसक्ने छन्।

तर सङक्रमण धेरै रहेका र सङक्रमणको दर वृद्धि भएका ठाउँमा भने त्यो भन्दा बढी लाग्न सक्छ।

तर आलोचकहरूले भने भाइरसले निम्त्याएको सङ्कट छिट्टै टर्छ भन्नेबारे राष्ट्रपति चाहिनेभन्दा बढी आशावादी भएको बताएका छन्।