कोरोना भाइरस: महामारी सुरु भएको चीनको वुहानमा मृत्यु हुनेको सङ्ख्या पहिले भनिएभन्दा झण्डै ५० प्रतिशत बढी

तस्बिर स्रोत, Getty Images
चीनमा कोरोनाभाइरस महामारी सुरु भएको वुहान सहरमा ज्यान गुमाएकाहरूको आधिकारीक सङ्ख्या पहिले बताइएको भन्दा झण्डै ५० प्रतिशतले धेरै रहेको जनाइएको छ।
अस्पताल बाहिर भएका मृत्युहरूको अद्यावधिक विवरण भन्दै त्यहाँ थप १,२९० मृत्युका घटनालाई कोरोनाभाइरसबाट ज्यान गुमाउनेहरूको तथ्याङ्कमा थप गरीएको हो।
यसैबिचमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसहित थुप्रैले चीनले प्रस्तुत गरेको कोरोनाभाइरस र यसका कारण भएको मृत्युसँग सम्बन्धित तथ्याङ्कप्रति शङ्का व्यक्त गर्ने गरेका थिए।
नयाँ तथ्याङ्क सार्वजनिक गर्दै वुहान शहरका अधिकारीहरूले यथार्थ विवरणलाई कतै नलुकाइएको बताएका छन्।
एक सरकारी पत्रिका चाइना डेलीले वुहान सहरको मुख्यालयलाई उद्धृत गर्दै प्रारम्भिक विवरणमा केही गल्ती भएको र नयाँ तथ्याङ्क सार्वजनिक गर्न ढिलो भएको बताएको छ।
वुहानका एक करोड १० लाख बासिन्दाहरूले हालै मात्र खुकुलो गरिएको कठोर लकडाउनमा ११ साता बिताएका थिए।
अर्थतन्त्रमा ६.८ प्रतिशत ह्रास
यसैबीच चीनको अर्थतन्त्र थुप्रै दशकमा पहिलोपटक खस्किएको त्यहाँको पहिलो त्रैमासिक विवरणले देखाएको छ।
सन् १९९२ देखि त्रैमासिक विवरण राख्न थालेयता कै यो अर्थतन्त्र कमजोर भएको तथ्याङ्क हो।
तस्बिर स्रोत, Getty Images
भाइरसका कारण चीनभित्रै थुप्रै कारखाना तथा व्यावसाय बन्द भएका छन्
महामारीकै कारण विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा ६.८ प्रतिशतले कुल गार्हस्थ उत्पादन (जीडिपी) खुम्चिएको शुक्रवार सार्वजनिक सरकारी विवरणले जनाएको छ।
भाइरसका कारण चीनभित्रै थुप्रै कारखाना तथा व्यवसाय बन्द भएका छन्।
बिहीवार अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले गरेको एक प्रक्षेपणमा चीनले आर्थिक मन्दी छल्ने बताइए पनि यो वर्ष उसको अर्थतन्त्रको वृद्धिदर भने १.२ प्रतिशतमा सीमित हुने बताइएको छ।
चिनियाँ अर्थतन्त्रमा आएको ह्रासले उसँग जोडिएका अन्य थुप्रै देशलाई समेत चिन्तित बनाएको छ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ