कोरोना भाइरस: वायु प्रदूषणले कोभिड-१९ लाई घातक बनाउने निष्कर्ष
- नवीन सिं खड्का
- वातावरण संवाददाता, बीबीसी विश्व सेवा

तस्बिर स्रोत, CLAUDIO REYES
उच्च वायु प्रदूषणले कोभिड-१९ को सङ्क्रमणबाट मृत्यु हुनसक्ने सम्भावना बढाउन सक्ने दुई वटा अध्ययनले देखाएका छन्।
विश्व स्वास्थ्य सङ्गठनकी डा. मारिया नेइराले बीबीसीलाई बताए अनुसार वायु प्रदूषणको उच्च रहेका ल्याटिन अमेरिकी, अफ्रिकी र एशियाली मुलुकहरूले त्यसबाट बच्न तयारी बढाउन आवश्यक छ।
तर स्वास्थ्य अधिकारीहरूले भने ती दुईबीचको सम्बन्ध स्थापित गरिहाल्न हतार गर्न नहुने बताउँछन्।
"हामी यी क्षेत्रका सरकारी निकायहरूलाई सहयोग गर्न आफ्नो डेटाबेसका आधारमा सबैभन्दा बढी प्रभावित सहरहरूको नक्सा बनाइरहेका छौँ जसले उनीहरूलाई महामारीविरूद्ध योजना बनाउन सहयोग गरोस्," डा. नेइराले भनिन।
तस्बिर स्रोत, EDUARDO MUNOZ ALVAREZ
एउटा अमेरिकी अध्ययनले महामारीभन्दा पहिलेका वर्षहरूमा सूक्ष्म कण प्रदूषण स्तरमा सामान्य वृद्धि हुँदा कोरोनाभाइरस सङ्क्रमणका कारण हुने मृत्युदर १५ प्रतिशतले बढ्ने उल्लेख गरेको छ।
"कोभिड १९ का कारण हुने मृत्युदर सामान्यतया उच्च जनघनत्व र उच्च पीएम २.५ भएका क्षेत्रहरूको उस्तै हुन्छ," हार्वार्ड विश्वविद्यालयको एउटा अध्ययनले भन्छ।
यी कणहरू पहिले पनि श्वासप्रश्वासमा हुने सङ्क्रमण र फोक्सोको क्यान्सर जस्ता स्वास्थ्यसँग सम्बन्धित समस्याहरूसँग जोडिएका छन्।
इटलीस्थित युनिभर्सिटी अफ सिएना र डेनमार्कस्थित ओरहुस विश्वविद्यालयमा गरिएको अर्को अध्ययनले उत्तरी इटलीमा वायु प्रदूषणको उच्च दर र कोभिड १९ का कारण भएका मृत्युबीच सम्बन्ध रहेको सङ्केत गरेको छ।
इटलीको लोम्बार्डी र अमिलिया रोमानिया क्षेत्रमा मृत्युदर करिब १२ प्रतिशत छ। इटलीको अन्य भागमा भने मृत्युदर ४.५ प्रतिशत छ।
साइन्स डाइरेक्टमा प्रकाशित अध्ययन भन्छ: "उत्तरी इटलीको उच्च वायु प्रदूषण दरलाई उक्त क्षेत्रमा देखिएको उच्च मृत्युदरको सहायक कारक मान्नु पर्छ।"
मृत्युदर हेर्दा जनसङ्ख्या, उमेर, फरकफरक किसिमको स्वास्थ्य प्रणाली र उक्त क्षेत्रहरूका रोकथामसम्बन्धी फरक नीतिहरूलाई समेत ध्यानमा राख्नु पर्छ।
तस्बिर स्रोत, MARCO BERTORELLO
यसैबीच फिलिपिन्समा एसोसिएसन अफ रेस्पिरेटरी केयर प्र्याक्टीसनर्स सेसार बुगाओइसानले भनेको छ: "हाम्रो प्रारम्भिक तथ्याङ्कले फिलिपिन्समा कोरोनाभाइरसका कारण मृत्यु भएका प्राय: सबै व्यक्तिहरूमा पहिलेदेखि नै कुनै किसिमका समस्या थिए र तीमध्ये सबैभन्दा बढी वायु प्रदूषणसँग सम्बन्धित समस्या थिए।"
विश्व स्वास्थ्य सङ्गठनका अनुसार वायु प्रदूषणबाट प्रत्येक वर्ष करिब ७० लाख मानिसहरूको मृत्यु हुन्छ। र पृथ्वीको ९० प्रतिशतभन्दा बढी जनसङ्ख्या तोकिएको मापदण्डभन्दा बढी वायु प्रदूषण भएका स्थानहरूमा बस्छन्।
विश्व ब्याङ्कको गत वर्षको प्रतिवेदनका अनुसार अधिकांश प्रभावित देशहरू दक्षिण एसिया, मध्यपूर्व, अफ्रिकाको 'सब-सहारा' क्षेत्र र उत्तर अफ्रिकामा छन्।
विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्रसङ्घका विभिन्न प्रतिवेदनका अनुसार चिले, ब्राजिल, मेक्सिको र पेरूका सहरहरूमा वायु प्रदूषणको स्तर खतरनाक छ।
तस्बिर स्रोत, HINDUSTAN TIMES
उच्च वायु प्रदूषण भएका सबै भन्दा बढी सहर भारतमा छन्
तर वर्ल्ड एअर क्वालिटी रिपोर्ट २०१९ का अनुसार उच्च वायु प्रदूषण भएका सबैभन्दा बढी सहर भारतमा छन्।
भारतमा हालसम्म कोरोनाभाइरसको सङ्क्रमणका कारण ५२१ जनाको मृत्यु भएको छ।
"कोरोनाभाइरस सङ्क्रमणको दर व्यापक रूपमा फैलियो भने वायु प्रदूषणका कारण स्वास्थ्यमा समस्या भएकाहरू सबैभन्दा बढी प्रभावित हुनेछन्," दिल्लीस्थित प्राइमस सुपर स्पेशियलिटी अस्पतालमा फोक्सोसम्बन्धी विभागका प्रमुख डा. एस के छाव्राले भने।
तर इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चसँग आबद्ध डा. रजनीकान्त श्रीवास्तव भन्छन् "यसबारे पर्याप्त प्रमाण छैन र हामीले यसबारे कुनै पनि किसिमको अध्ययन गरेका छैनौँ।"
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा