कोरोना भाइरस: हालसम्म ३६ हजारभन्दा बढीको परीक्षण, उदयपुरमा थप १ सङ्क्रमित

स्वास्थ्य मन्त्रालय

तस्बिर स्रोत, MOHP/Twitter

नेपालमा उदयपुर जिल्लामा थप एकजनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो सङ्क्रमित ३३ वर्षीय पुरुष रहेको बताइएको छ।

योसँगै उदयपुर जिल्लामा १४ जनामा सङ्क्रमण भेटिइसकेको छ।

देशभरिमा कुल सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ भने चारजना निको भइसकेका छन्।

वीरगञ्ज र उदयपुरमा नमुनाहरूको जाँच

यसअघि वीरगञ्जमा तीनजना तथा उदयपुरमा एक दर्जनभन्दा धेरैमा सङ्क्रमण देखिएपछि ती दुई स्थानमा सङ्क्रमितहरूको सम्पर्कबारे सूचना लिएर शङ्कास्पदहरूको नमुना जाँच भइरहेको बताइएको छ।

जसअनुसार वीरगञ्जमा २२१ जना र उदयपुरमा थप एक सयसहित ३२० जनाको पीसीआर विधिमार्फत् जाँच भइरहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।

ती स्थानमा आरडिटीबाट पनि अन्यको परीक्षण भइरहेको बताइएको छ।

परीक्षण विस्तार गरिँदै

मङ्गलवार मन्त्रालयले बताएअनुसार हालसम्म देशभरि गरि ३६ हजार ७१९ जनामा परीक्षण गरिएको छ।

तस्बिर स्रोत, Phanindra Dahal

"पीसीआर विधि अनुसार ८७६३ जनाको परीक्षण भएको छ भने द्रुत वा आरडिटी विधिबाट २७,९५६ जनाको परीक्षण भएको छ," डा देवकोटाले जानकारी दिए।

द्रुत परीक्षण विधिमार्फत् हालसम्म प्रदेश १ मा २६२०, प्रदेश २ मा ३५९८, वाग्मती प्रदेशमा ५१५७, गण्डकी प्रदेशमा ४१८३, प्रदेश ५ मा २४८३, कर्णाली प्रदेशमा ३७३८ र सुदुर पश्चिम प्रदेशमा ६१७७ जनाको परीक्षण भइसकेको बताइएको छ।