नेपाल भूकम्पः पाँच वर्षमा घरहरूको पुनर्निर्माणमा '९० प्रतिशत प्रगति' तर विज्ञहरू भन्छन् 'नेपाल चुक्यो'

  • फणीन्द्र दाहाल
  • बीबीसी न्यूज नेपाली
पुनर्निर्माण

तस्बिर स्रोत, NRA

नेपालमा विनाशकारी भूकम्प गएको पाँच वर्ष पुग्दा विज्ञहरूले पुनर्निर्माणको चरणका 'बिल्ड ब्याक बेटर' अर्थात् अझ सुरक्षित निर्माणका महत्त्वपूर्ण अभ्यासलाई राम्रोसँग संस्थागत गर्न नेपाल चुकिरहेको टिप्पणी गरेका छन्।

झन्डै आठ लाख घरहरू भत्किएको उक्त विनाशकारी भूकम्पमा झन्डै नौ हजार मानिसले ज्यान गुमाएका थिए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुखले भूकम्पका कारण क्षति भएका घरको पुनर्निर्माणमा झन्डै ९० प्रतिशत प्रगति भएको बताएका छन्।

भूकम्पका कारण सयौँको सङ्ख्यामा भत्किएका विद्यालय, स्वास्थ्यसंस्था तथा सम्पदास्थलको पुनर्निर्माण अझै जारी रहेको छ।

अहिलेसम्म सम्पूर्ण पुनर्निर्माण प्रकियामा पौने चार खर्ब रुपैयाँ खर्च भएको बताइएको छ।

लक्ष्यअनुसार प्रगति

विक्रम सम्वत् १९९० को महाभूकम्पयता गएको सबैभन्दा ठूलो उक्त विपद्ले नेपालका ३२ जिल्लालाई प्रत्यक्ष प्रभावित पारेको थियो।

त्यसयताको पाँच वर्षमा सन्तोषजनक रूपले काम अघि बढिरहेको र पुस मसान्तसम्म रहेको आफ्नो कार्यकालभित्र भूकम्पका कारण भत्किएका सबै घर बनाइसक्ने लक्ष्य राखिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने, "हाम्रो सबैभन्दा मुख्य काम भनेको निजी आवासको निर्माण हो। सङ्ख्यालाई हेर्‍यो भने लगभग ९० प्रतिशतको हाराहारीमा या त सम्पन्न भइसकेको या पुनर्निर्माणको क्रममा गएको अवस्था छ।"

"तेस्रो किस्ता लिनेकै सङ्ख्या ७२ प्रतिशत पुगिसकेको अवस्था छ। आगामी पुस १० गतेसम्म, जुन प्राधिकरणको अवधि हो, त्यसबेलासम्म निजी आवासको निर्माणको कामलाई सम्पन्न गर्ने अवस्थामा पुग्ने देखिन्छ।"

उनले अझै निजी आवास निर्माण नगर्ने व्यक्तिहरूलाई अब लाभग्राहीको सूचीबाट हटाइने उल्लेख गरे।

पुनर्निर्माण प्राधिकरणले भूकम्पले क्षति भएका झन्डै ७,५०० वटा विद्यालयमध्ये तीनचौथाइ बनेका र झन्डै १,००० सम्पदास्थलमध्ये आधाजतिको निर्माणकार्य सम्पन्न भएको उल्लेख गरेको छ।

क्षति भएका १,१०० भन्दा बढी स्वास्थ्यसंस्थामध्ये आधाको पुनर्निर्माण सम्पन्न भएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

यसरी हल्लाएको थियो भूकम्पले

सबल पक्ष

पुनर्निर्माणका क्रममा प्राविधिक रूपमा पहिलेभन्दा बलियो घरको बनेको विज्ञहरू बताउँछन्।

तर अनुदान रकम पाउनकै लागि भनेर बनाइएका दुईकोठे घरले नेपाली मौलिकता मिचेको धेरैलाई लागेको छ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानका सिभिल इन्जिनियरिङ विभागका प्रमुख भरत मण्डल भूकम्पपछि सुरक्षित आवासबारे जनचेतना बढ्नुलाई सकारात्मक ठान्छन्।

तर आवास निर्माणमा देखिएका समस्या औँल्याउँदै उनी भन्छन्, "नयाँ प्रविधि भनेर भुइँचालोपछि २०-२२ किसिमका डिजाइन आए। विदेशी प्रविधि हो भनेर त्यसलाई प्रयोग गरियो तर मेरो हिसाबमा केही प्रविधिहरू नेपालको लागि उपयुक्त थिएनन्।"

"अब त्यही प्रविधिको लागि अनुदान आयो अनि सरकारले पनि स्वीकृत गर्‍यो होला। हाम्रोमा मात्रै होइन विश्वमै होला सित्तैमा पाएपछि केही पनि नहेर्ने प्रवृत्ति छ।"

भूकम्पपछि 'बिल्ड ब्याक बेटर' अर्थात् अझ सुरक्षित निर्माणको अवधारणाअनुसार पुनर्निर्माणको काम अघि बढाउने वाचा गर्दै भवन संहितामा सुधार सहितका कदम चालिएका थिए।

चुकेका क्षेत्र

देशविदेशका विपद्पछिको पुनर्निर्माण प्रक्रियालाई नजिकबाट नियालेका भूकम्प प्रविधि राष्ट्रिय समाजका भूतपूर्व प्रमुख कार्यकारी निर्देशक आमोदमणि दीक्षित भन्छन्, "जसले घर पाए उनीहरू पनि सन्तुष्ट हुन सकेका छैनन्। हामी वैज्ञानिक रूपमा अघि बढ्न सकेनौँ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ,

'नेपालमा भूकम्प अवश्यभावी'

"न प्रविधिको रूपमा हामी अघि बढ्न सक्यौँ, न यससम्बन्धी अध्ययन अनुसन्धानलाई टेवा दिन सकियो।"

उनले थपे, "अहिले हात लाग्यो शून्यजस्तो अवस्था छ। नीतिगत रूपमा एकदम राम्रो भएपनि व्यवहारमा त्यसलाई संस्थागत गर्ने हिसाबमा खासै काम भएको छैन।"

राजनीतिक खिचातानीका कारण पुनर्निर्माणका कतिपय काममा भएका विलम्ब भएको र खर्च तथा तालिम लिएका जनशक्तिको उचित प्रयोग हुन नसकेको भनेर प्रश्न पनि उठेको छ।

त्यसबाहेक पुनर्निर्माण गरिएका संरचनाहरू कत्तिको सुरक्षित छन् भनेर निर्क्योल गर्न आवश्यक अध्ययन र अनुसन्धान पनि हुन नसकेको विज्ञहरूको मत छ।

तस्बिर स्रोत, AFP, GETTY, EPA

तस्बिरको क्याप्शन,

भूकम्पले लडाएको धरहरा