कोरोना भाइरस नेपाल: जेठ २ सम्म हवाई सेवा बन्द गर्न तर क्षेत्रगत रूपमा लकडाउनलाई खुकुलो पार्न सिफारिस

तस्बिर स्रोत, AFP via Getty
कोभिड-१९ निगरानी तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समन्वय समितिले अझै २० दिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्न सिफारिस गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव नारायण बिडारीले बीबीसीलाई बताएका छन्।
"मे १५ तारिख (जेठ २) सम्म उडानहरू बन्द नै राख्नुपर्छ भन्ने निष्कर्ष समितिले निकालेको छ," बिडारीले भने, "लकडाउन जारी राख्ने नराख्ने भन्ने विषयमा भने मन्त्रिपरिषद्ले नै निर्णय गर्ने कुरा भएको छ।"
समितिको बैठकमा सहभागी एक मन्त्रीले लकडाउन क्षेत्रगत रूपमा खुकुलो पार्ने विषयमा मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय समितिले गरेको जानकारी दिए।
लकडाउनको समयावधि सोमवार सकिन लागेको छ। समितिले लकडाउन जारी राख्दै क्षेत्रविशेषमा अहिले लगाइएको प्रतिबन्ध केही खुकुलो पार्न सकिने निष्कर्ष निकालेको हो।
कुनकुन क्षेत्रमा खुकुलो?
"खासगरी क्षेत्रपिच्छे प्रतिबन्धहरू अलि खुकुलो बनाउने प्रस्ताव लैजाने भन्ने निर्णय भएको छ," समितिको बैठकमा सहभागी ती मन्त्रीले बीबीसीलाई भने।
उनका अनुसार खुकुलो पारिने क्षेत्रमा स्वास्थ्योपचार, कृषि र अत्यावश्यक खाद्यान्न पाइने पसलहरू रहनेछन्।
आइतवार बस्ने मन्त्रिपरिषद्को बैठकले यस विषयमा औपचारिक निर्णय लिनेछ।
शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठकमा केही परिमार्जनसहित लकडाउनलाई निरन्तरता दिन समितिलाई गृहकार्य गर्न निर्देशन दिएका थिए।

तस्बिर स्रोत, RSS
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा समितिको बैठक बसेको थियो।
लकडाउनको अहिलेसम्मको अवस्था र देशका विभिन्न स्थानमा सङ्क्रमणको अवस्था कस्तो छ भन्नेबारे समितिमा विश्लेषण भएको बताइएको छ।
समितिले गरेका निर्णयबारे प्रधानमन्त्रीलाई जानकारी गराउने कार्यक्रम रहेको पनि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा

अहिले नेपालको अवस्था के छ?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार शुक्रवार रातिसम्मको तथ्याङ्कअनुसार कोभिड-१९ पुष्टि भएकाहरूको सङ्ख्या ४९ पुगेको छ।
तीमध्ये १० जना सङ्क्रमितहरू निको भएर घर फर्किसकेका छन्।

तस्बिर स्रोत, RSS
वैशाख २१ गतेसम्म लकडाउन लगाएको छिमेकी भारतले शनिवारदेखि लागु हुनेगरी किराना पसल खोल्न पाइने निर्णय गरेको छ। गत सोमवारदेखि केही क्षेत्रमा लकडाउनको प्रावधान खुकुलो बनाउने निर्णय पनि भएको थियो।
खासगरी किसानलाई बाली काट्न दिने र मजदुरहरूलाई आम्दानी गर्न नरोक्ने उक्त कदममा उल्लेख गरिएको थियो।
लकडाउन जारी रहँदा नेपाल सरकारले पनि कृषिका सामग्री बजारसम्म पुर्याउन गाडीको पास उपलब्ध गराएको छ।
तर कृषकहरूले त्यतिकै भरमा आफ्ना सबै उब्जनी बजारसम्म लग्न नसकिएको गुनासो गरेका थिए। लकडाउनका कारण खासगरी दैनिक ज्यालादारी गर्ने मजदुर मारमा परेको बताइन्छ।
चैत ११ देखि लगाइएको लकडाउन यसअघि सरकारले तीन पटकसम्म थपेको थियो। अघिल्लो निर्णयमा वैशाख १५ गतेसम्मलाई लकडाउन लम्ब्याइएको थियो।
आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू सरकारले वैशाख १८ सम्मलाई रोकेको जनाएको थियो। छिमेकी भारतमा वैशाख २१ सम्मको लागि लकडाउन लगाइएको छ।
यो पनि हेर्नुहोस्
लकडाउन खुलेपछि तपाईँ सबैभन्दा पहिला के गर्नुहुन्छ?

कोरोना भाइरस: कोभिड-१९ का कारण विदेशमा कार्यरत लाखौँ नेपाली कामदारको रोजगारी गुम्ने चिन्ता
आफू कार्यरत देशमा करार सम्झौता नवीकरण हुने अवस्थामा भएका तथा गैरकानुनी रूपमा बसेका लाखौँ नेपाली कामदारले कोभिड-१९ महामारीका कारण अहिले नै आफूहरू समस्यामा परेको गुनासो गर्न थालिसकेका छन्।