कोरोना भाइरस: महिलाको नापमा बनाइएका विशेष पीपीई 'अत्यावश्यक'

पीपीई लगाएकी महिला

तस्बिर स्रोत, Getty Images

व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) को संरचना र आकार महिला र पुरुष दुवैलाई भनेर बनाइएको भनिए पनि धेरैजसो महिलालाई प्रयोग गर्न सहज नभएको पाइएको छ।

कोभिड-१९ को उपचारमा खटिने व्यक्तिहरूलाई सङ्क्रमणबाट जोगिनका लागि पीपीई अत्यावश्यक पर्छ।

ती सामग्री “महिला/पुरुष दुवैलाई” जोगाउनका लागि नमुना तयार गरिएको बताइन्छ। यद्यपि स्वास्थ्य सेवामा काम गर्नेहरूले भने सानो आकारका पीपीईहरू पनि केही महिलाका लागि धेरै ठूलो हुने गरेको बताइरहेका छन्।

सन् २०१८ को ब्रिटेनको स्वास्थ्य निकाय एनएचएसको तथ्याङ्क हेर्दा एनएचएसमा काम गर्नेमध्ये ७७ प्रतिशत महिलाहरू छन्।

पीपीई एकदमै ठूलो छ भने भाइरसबाट पूर्णतया जोगाउनका लागि यो कम प्रभावकारी हुनसक्छ।

"पीपीईको नमुना महिलापुरुष दुवैलाई हुने गरी बनाइएको हो र यसले दुवैलाई भाइरसको सङ्क्रमण हुनबाट जोगाउँछ। केही उत्पादन फरकफरक नापमा बनाइएको छ ताकि साना ठूला दुवै आकारका मानिसलाई मिलोस्," एउटा विज्ञप्तिमा ब्रिटेनको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तर रोएल कलेज अफ नर्सिङले “सबैका लागि एउटै नाप” मा निकालिएका पीपीईलाई "समस्याकारी" र "प्रतिबन्धात्मक" भनी व्याख्या गरेको छ।

काममा खटिएका बेला त्यस्ता पीपीई १२ घण्टासम्म पनि लगाउनुपर्ने हुनसक्छ। पीपीईमा पन्जा, मास्क, गाउन र मुख ढाक्ने हेल्मेट पर्छन्।

"यदि यस्ता सामग्री असहज भए भने नर्सहरूले गर्मी र अस्वस्थ महसुस गर्छन् र बिरामीहरूलाई जाँच्न उनीहरूलाई एकदमै अप्ठ्यारो हुन्छ," सङ्क्रमण रोकथाम र नियन्त्रण क्षेत्रकी प्रमुख रोज ग्यालहरले भनिन्।

एनएचएसमा काम गर्ने केही महिलाहरूले पीपीई लगाउँदा आफ्नो शरीरमा एकदमै नमिलेको देखिएका केही तस्बिर सामाजिक सञ्जालमा राखेका छन्।

'दुईवटा मात्रै आकारमा अरू के हुन्छ?'

स्ट्यान्फर्ड विश्वविद्यालयको चिकित्सा विभागसँग आबद्ध अध्येता डा. स्यालस अर्ग्याभन अहिले न्यूयोर्कस्थित अस्पतालको सघन उपचार कक्षमा काम गरिरहेकी छन्।

"एन९५ मास्क दुईवटा आकारमा मात्र छ जुन एकदमै विचित्रको कुरा हो," उनले भनिन्।

तस्बिर स्रोत, DR ARGHAVAN SALLES

तस्बिरको क्याप्शन,

स्यालस अर्ग्याभन

"दुईवटा आकारका मात्रै पाइने अरू केही छ? यसको मतलब त यो भयो कि संसारमा दुईवटा आकारका मात्रै अनुहारहरू छन्।"

डा. स्यालस आफूलाई सानो आकारको मास्क ठिक हुने तर त्यो पाउन एकदमै मुस्किल हुने बताउँछिन्।

"हालै मसँग काम गर्ने एक महिलाको एन९५ मास्कको तुना चुँडियो। हामीले सानो आकारको अर्को मास्क पाएनौँ अनि उनी घर फर्किनुपर्‍यो," उनले भनिन्।

स्यालसले दुई हप्ता पुर्‍याउनका लागि आफूलाई दुईवटा मास्क दिइएको बताइन्।

सबैभन्दा सानो आकारको पन्जा र चस्मा पनि आफूलाई धेरैजसो एकदमै ठूलो हुने गरेको पनि उनले बताइन्।

"मेरो हातको आकार छ हो र म साढे छ नम्बरको पन्जा लगाइरहेकी छु," उनले भनिन्।

"उपचारका क्रममा लगाउने चस्मामा सङ्क्रमणबाट जोगाउने साँच्चै राम्रो ढक्कन छ तर त्यो ठिक हुँदैन।"

लेखिका क्यारोलिन कियार्डो प्यारजले महामारीअगाडि आफ्नो इन्भिजिबल विमिन नामक पुस्तकका लागि यो विषयमा अनुसन्धान गरेकी थिइन्।

"व्यक्तिगत सुरक्षा सामग्री धेरै हदसम्म पुरुष शरीरका लागि बनाइएको हो। उदाहरणका लागि सानो आकारको पीपीई भनेको सानो कदको पुरुषको लागि हो न कि सानो आकार वा औसत आकारकी महिलाको लागि," न्यू साइन्टिस्ट पडकास्टमा उनले भनिन्।

तस्बिरको क्याप्शन,

लियान उड

"अहिलेको परिवेशमा खासगरी यो एकदमै ठूलो समस्या हो किनभने स्वास्थ्य सेवामा काम गर्ने धेरै महिला छन् र उनीहरूलाई ‘तिम्रो अनुहारको आकार एकदमै विचित्रको छ’ भनिन्छ’ – उनीहरूको आकार विचित्रको होइन, यो महिलाको आकार हो।"

वेल्सस्थित समाजवादी प्रजातान्त्रिक दल प्लाइड कम्रीकी पूर्वनेत्री लियान उडले सरकारलाई महिलाका लागि उपयुक्त पीपीई सामग्री उपलब्ध गराउन आह्वान गर्दै एउटा विज्ञप्ति जारी गरेकी छन्।

उनले सामान्य खालको पीपीईको उपलब्धतालाई "प्रकरणभित्रको प्रकरण" भनेर टिप्पणी गरेकी छन्।

"समाजको हितका लागि हामी महिलाहरूलाई उनीहरूको जीवन दाउमा राख्न भनिरहेका छौँ र हामी उनीहरूलाई पीपीई पनि उपलब्ध गराउन सक्दैनौँ – अथवा जब उपलब्ध गराउँछौँ, त्यो पनि उनीहरूको शरीरमा मिल्दो हुँदैन," उनले भनिन्।

विमिन इक्वलिटी पार्टीले पुरुषका लागि तयार पारिएका सामग्री महिलाले लगाउनु भनेको "पूर्ण रूपमा लज्जाजनक" भएको भन्दै ट्वीट गरेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

बच्चा कोरोनाभाइरसका कारण आईसीयूमा भर्ना हुँदा...