कोरोना भाइरसः प्रधानमन्त्रीले नेपालमा महामारीले भयावह रूप लिन सक्ने भन्नुको अर्थ

प्रधानमन्त्री केपी शर्मा ओली

तस्बिर स्रोत, RSS

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसविरुद्ध सबैले समझदारीपूर्ण ऐक्यबद्धता नजनाए महामारीले भयावह रूप लिन सक्ने खतरा औँल्याएका छन्।

बुद्ध जयन्तीका अवसरमा बिहीवार शुभकामना दिने क्रममा उनले अहिलेसम्म नेपालमा स्थिति भयावह नभए पनि त्यस्तो हुन सक्ने लक्षणहरू देखिएको बताए।

प्रधानमन्त्री ओलीले भने, "सरकारले शुरूदेखि नै चालेका प्रभावकारी कदमहरूका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह त भइसकेको छैन, तर भयावह हुन सक्ने लक्षणहरू छन्।"

"यदि आफ्नो सतर्कता, आफ्नो तयारी र रोकथाममा हामी सबैको समझदारीपूर्ण ऐक्यबद्धता भएन भने यो महामारीले भयावह रूप लिन सक्छ।"

अवस्था

कोरोनाभाइरसले विश्वलाई अहिले एउटा भयावह त्रासदीको स्थितिमा पुर्‍याएको भन्दै उनले सजग हुन जरुरी रहेकोमा जोड लिए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा बुधवारसम्म कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ९९ पुगेको छ।

पर्सामा दुई महिने शिशुसहित एकै परिवारका १७ जना कोरोनाभाइरस सङ्क्रमित भएको र सरकारले लकडाउनको समय लम्ब्याएर जेठ ५ गतेसम्म पुर्‍याएको भोलिपल्ट प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति आएको हो।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिबारे सङ्क्रामक रोग विशेषज्ञ तथा जनस्वास्थ्य मामिलाका जानकारहरूले फरकफरक मत व्यक्त गरेका छन्।

सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी विश्वव्यापी कोरोनाभाइरस महामारीको अवस्था हेरेर प्रधानमन्त्रीले त्यस्तो अभिव्यक्ति दिएको हुन सक्ने बताउँछन्।

बीबीसीसँग उनले भने, "अहिले विश्वव्यापी जस्तो स्थिति देखिँदैछ त्यसलाई हेरेर पनि प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएको हुन्छ सक्छ।"

आतङ्कित नै हुनेगरी भयावहलाई बुझ्न नहुने जनस्वास्थ्यविद्‌ डा. शरदराज वन्तको तर्क छ। उनी भन्छन्,"तर एकदम सतर्क चाहिँ हुनैपर्छ किनभने सङ्क्रमण हामीले सोचेभन्दा फरक ढङ्गले आउन थालेको हो कि?"

इपिडिमिओलोजी तथा सरुवा रोग महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीका अनुसार प्रधानमन्त्री ओलीले नेपालमा स्थिति भयावह हुन सक्ने भन्नुको सट्टा नआत्तिने किसिमले ढाडस दिनेगरी सचेत गराउन सक्थे।

"यी यी काम गरे कोभिड-१९ रोगबाट बच्न सकिनेरहेछ, यी यी काम चाहिँ नगर्नूस्, व्यवहार परिवर्तन गर्नूस् र बच्नूस् भनेको भए असाध्यै राम्रो हुन्थ्यो," उनले थपे।

आशङ्का

तर नेपालमा व्यापक स्तरमा परीक्षण नगरिएकोले भित्रभित्रै भुसको आगोजस्तो कोरोनाभाइरस सङ्क्रमण फैलिएको हुन सक्ने कतिपयको आशङ्कालाई बल पुगेको डा.मरासिनीको ठम्याइ छ।

नेपालले हालसम्म गर्दै आएको कोरोनाभाइरसको परीक्षणलाई तीव्र बनाउनुपर्ने र त्यसको दायरा बढाउनुपर्नेमा विज्ञहरू एकमत देखिन्छन्।

"नेपालले अपनाउँदै आएको रणनीतिमा परिवर्तन गर्नैपर्छ। सङ्क्रमितहरू भेटिएपछि उनीहरूको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेशिङ्ग गरेर मात्रै हुँदैन," डा.सुवेदी भन्छन्।

"सङ्क्रमणको पछिपछि भएर हुँदैन, त्यसभन्दा हामी अघि हुनुपर्‍यो," उनले थपे।

त्यसमा जनस्वास्थ्यविद्‌द्‌वय वन्त र मरासिनी सहमति जनाउँछन्। परीक्षण र निगरानीको दायरा नबढाइए लकडाउन बढाउनुको मात्र औचित्य नहुने उनीहरूको तर्क छ।

"लकडाउन लागु गरिसकेपछि त्यसको प्रभावकारी कार्यान्वयन भएको छैन र त्यसबीचमा परीक्षणको दायरा बढाइएको छैन भने त्यसको उद्देश्य पूर्ति हुँदैन," डा.वन्तले बीबीसीसित भने।

भारतबाट नेपाल भित्रिने मानिसहरू कोरोनाभाइरस सङ्क्रमणविरुद्ध जारी लडाइँमा ठूलो चुनौती हुन सक्नेतर्फ मरासिनी सचेत गराउँछन्।

उनी भन्छन्, "भारतमा रहेका नेपालीहरूलाई व्यवस्थित र क्रमिक रूपमा परीक्षण गर्दै घर फर्काइएन र ठूलो सङ्ख्यामा भित्रिए भने एकै पटक बाँध फुटेजस्तो अवस्था हुन सक्छ।"

त्यसका साथै भारतबाट नेपाल आइसकेका सबैको परीक्षण गर्नुपर्ने डा. सुवेदी सुझाउँछन्।