कोरोना भाइरस यूके: इङ्ग्ल्याण्डमा लकडाउन केही खुकुलो, मानिसहरू काममा जान सुरु

खुला पार्क

तस्बिर स्रोत, PA Media

यूकेको इङ्ग्ल्याण्डमा लागु लकडाउनका नियमहरू सरकारले केही खुकुलो पार्न सुरु गरेपछि मानिसहरूले घरबाहिर केही बढी समय बिताउने, पार्कमा एकजना मात्र साथी भेट्ने र डेरा सर्ने कामहरू गर्न पाउने भएका छन्।

बुधवारदेखि लागु हुने नयाँ नियममा बगैँचाको सामान बेच्ने ठूला पसलहरू पनि खुल्नेछन् भने मानिसहरूले आफ्नो एकाघरमा सँगै बस्ने बाहेक बाहिरका एकजना मानिसलाई भेट्न पाउनेछन्।

एकअर्काबाट टाढा बसेर खेल्न सकिने गोल्फ जस्ता खेलहरू अब खेल्न पाइनेछ।

यसैबीच आफ्नो घरमा बसेर काम गर्न नसक्ने अवस्थाका केही कर्मचारीहरूलाई कार्यस्थलमा नै गएर पनि काम गर्नका लागि प्रेरित गरिने भएको छ।

आइतवार ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले गरेका भाषणपछि यी व्यवस्थाहरू गरिएका हुन् जुन भाषणमा उनले सात हप्तासम्म लकडाउनमा रहेको समाजलाई खुला गर्ने उद्देश्यका साथ केही ससर्त योजना सार्वजनिक गरेका थिए।

लकडाउन

त्यसपछि लकडाउनसम्बन्धी नियमहरू लागु गर्नमा संयुक्त अधिराज्यको सरकार र अधिकार प्रत्यायोजित स्कटल्याण्ड, वेल्स र नोर्दन आएरल्याण्डका सरकारहरूबीच केही भिन्नता देखा परेको छ।

अधिकार प्रत्यायोजित ती सरकारहरू लकडाउनको कडा नियमहरू र मानिसहरू घरभित्रै रहनु पर्छ भन्ने सन्देशलाई कायमै राख्ने पक्षमा रहेका छन्।

इङ्ग्ल्याण्डमा भने कार्यस्थललाई सकेसम्म सुरक्षित राख्न रोजगारदाताहरूलाई निश्चित निर्देशिकाहरू जारी गरिएको छ।

तिनमा एकपटकमा थोरै मान्छेहरू मात्र काम गर्ने कार्य विभाजन र कार्यालयको बारम्बार सरसफाइको व्यवस्था पर्दछन्।

सरकारले लागु गरेका नियम नमान्नेहरूलाई सरकारी स्वास्थ्य तथा सुरक्षा निगरानी र नियामक निकायले फौजदारी कारबाही समेत गर्न सक्नेछ।

घर सर्ने

घरजग्गा किनबेच र भाडामा दिने कार्यको दलाली गर्ने संस्थाहरू, त्यसकालागि घरजग्गा निरीक्षण गर्नेहरू, घर र डेरा सर्न सघाउने कम्पनीहरू पनि सञ्चालनमा आउन सक्नेछन्।

पहिल्यै नयाँ घर किनेकाहरू त्यहाँ सर्ने व्यवस्था मिलाउनका लागि जान पाउने भएका छन्।

गल्फ र टेनिस जस्ता घरबाहिर खेल्ने खेलस्थलहरू खुला हुनेछन्। तर बालबालिकाहरूका खेल मैदानहरू भने बन्द नै रहनेछन्।

तर मानिसहरूलाई स्थानीय समुदायको संवेदनशीलतालाई सम्मान्न गर्न अरू मानिसहरूसँग निश्चित दुरी कायमै राख्न सङ्क्रमणको जोखिम चर्को भएको स्थान र मानिसहरूको भिड बढी हुने स्थानमा नजान भनिएको छ।

सरकारले मानिसहरूलाई अति जरुरी अवस्थामा बाहेक सार्वजनिक यातायातको साधन प्रयोग नगर्न र छुट्टी बिताउन वा आफू बसिरहेको बाहेक आफ्नै अर्को दोस्रो घरमा रात नबिताउन पनि भनेको छ।

यी नियमहरू उलङ्घन गर्नेहरूलाई इङ्ग्ल्याण्डमा १०० पाउण्डदेखि माथिको जरिबाना हुनेछ भने त्यस्तो घटना दोहोर्याएमा प्रत्येक घटनाका लागि त्यो रकम दोब्बर हुँदै गएर ३,२०० पाउण्डसम्म तिर्नुपर्ने हुनसक्छ।