कोरोना भाइरस नेपाल: विहीबार साँझसम्म सङ्क्रमितको सङ्ख्या ४५७, निको भएका ४९

कोरोनाभाइरस

तस्बिर स्रोत, RSS

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्ति अनुसार नेपालमा कोरोनाभाइरस सङ्क्रमण भएकाहरूको सङ्ख्या बिहीवार साँझ ७:३० बजेसम्म ४५७ पुगेको छ।

पछिल्लो पटक थप तीनजनामा सङ्क्रमण पुष्टि भएको हो। जस्मा बाँके नरैनापुरका एक पुरुष, खजुराकी एक महिला र कपिलबस्तुका एक पुरुष रहेका र उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जनाएका छन्।

यसअघि बिहीवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अपराह्ण रूपन्देहीमा एक र झापामा आठ सङ्क्रमित फेला परेको पुष्टि गरेका थिए। उनीहरू सबै पुरुष हुन्।

हालसम्म सङ्क्रमितमध्ये तीन जनाको मृत्यु भएको छ भने ४९ जना निको भएर अस्पतालबाट बिदा भएका छन्। तीमध्ये दुई पुरुष र दुई महिला बिहीवार टेकु अस्पतालबाट बिदा भएको उनले जानकारी दिए।

डा. देवकोटाले बुटवलको अस्पतालमा भएको मृत्युको पनि पुष्टि गरेका छन्।

सरकारले अहिलेसम्म पीसीआर विधिबाट ३८,७३६ वटा परीक्षण गरेको जनाएको छ।

विगत २४ घण्टामा ३,४१३ वटा परीक्षण गरिएको डा. देवकोटाले बताए।

मन्त्रालयले बिहीवार बिहान ६:५० बजे जारी गरेको प्रेस विज्ञप्तिका अनुसार धरानस्थित वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिराटनगरको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि नयाँ सङ्क्रमण पुष्टि भएको थियो

क्वारन्टीनमा कति?

अहिले प्रदेश नं ५ र २ मा सर्वाधिक सङ्क्रमित छन्।

मन्त्रालयका अनुसार अहिले देशभरि २५,०३० जना क्वारन्टीनमा र ४०१ जना आइसोलेशन अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै छन्।

प्रदेश नं ५ मा सर्वाधिक १४,७६० र त्यसपछि प्रदेश नं २ मा ४,९६६ जना क्वारन्टीनमा छन्। वाग्मती र गण्डकी प्रदेशमा क्रमशः ५२८ र ५९१ जना क्वारन्टीनमा छन्।

मन्त्रालयले बिहीवार बिहान ६:५० बजे जारी गरेको प्रेस विज्ञप्तिका अनुसार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि नयाँ सङ्क्रमण पुष्टि भएको थियो।

को हुन् सङ्क्रमित?

झापा कचनकवल गाउँपालिकाको क्वारन्टीनमा रहेका २३ जनामा आझ सङ्क्रमण पुष्टि भएको हो।

बिहान १५ जना र अपराह्ण आठ जना पुष्टि भएका उनीहरू सबै भारतबाट फर्किएका भएको बीबीसीका झापा सम्वाददाता उमाकान्त खनालले जनाएका छन्।

योसँगै झापामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ३५ पुगेको छ।

अन्य सङ्क्रमितहरू भने रुपन्देही र धनकुटाका एक-एक पुरुष र धरानका एकजना पुरुष र धरानकी एकजना महिला रहेका छन्।