कोरोना भाइरसः इटलीका स्वास्थ्यकर्मी भन्छन्, 'हामी नायक त भयौँ, तर अहिले सबैले बिर्सिसकेका छन्'

  • सोफिया बेटिजा
  • बीबीसी विश्व सेवा
"आपत्कालिन सेवामा अहिले चाप कम भए पनि हामी अन्धकारले घेरिएजस्तो अनुभव गर्छौँ"

तस्बिर स्रोत, Paolo Miranda

तस्बिरको क्याप्शन,

"आपत्कालीन सेवामा अहिले चाप कम भए पनि हामी अन्धकारले घेरिएजस्तो अनुभव गर्छौँ"

कोरोनाभाइरसका सङ्क्रमितलाई दिइएको उपचारका कारण इटलीमा चिकित्सक र नर्सहरूलाई नायकका रूपमा हेरिन्छ।

तर अहिले उनीहरू आफैँले पीडा खेप्नुपरेको छ।

लोम्बार्डी विश्वमै अतिप्रभावित क्षेत्र हो र त्यहाँको अवस्थालाई नियन्त्रणमा राख्न स्वास्थ्यकर्मीहरू सङ्घर्षरत छन्।

पाओलो मिरान्डा क्रिमोनामा कार्यरत सघन उपचार र स्याहारमा संलग्न नर्स हुन्।

"मलाई धेरै झर्को लाग्न थालेको छ," उनले भने। "म सानो कुरामै रिसाउन थालेको र मेरो पारो छिट्टै तात्छ।"

मिरान्डाले खिचेका तस्बिरहरूमा उनले आफ्ना सहकर्मीहरूले सामान्य अवस्थातर्फ फर्किँदै गरेको 'दोस्रो चरण'मा कसरी जुझिरहेका छन् भन्ने देखाउन खोजेका छन्।

"आपत्कालीन सेवामा अहिले चाप कम भए पनि हामी अन्धकारले घेरिएजस्तो अनुभव गर्छौँ," उनले भने।

"हामीभित्र घाउहरू मात्र भए झैँ हुन्छ। हामीले जे देख्यौँ त्यही बोकेर हिँडिरहेका छौँ।"

छटपटी र दुःस्वप्न

यस्तो अनुभव सघन उपचार कक्षकै अर्की नर्स मोनिका मरिओटीको पनि छ।

"सङ्कटका बेलाभन्दा अहिले निकै गाह्रो भइरहेको छ," उनले सुनाइन्।

"त्यस बेला हामी एउटा शत्रुसँग सङ्घर्ष गर्दै थियौँ। यतिखेर त्यो कुरा सम्झिँदा म एक्लै र उद्देश्यहीन भएको अनुभव गर्छु।"

सङ्कटका बेला उनीहरू निकै व्यस्त भए र केही सोच्ने समय पनि पाएनन्। महामारीको प्रभाव घट्दै जाँदा उनीहरू पनि कमजोर बने।

त्यति बेला मनमा थुप्रिएको तनाव यतिखेर छचल्किन थालेको छ।

तस्बिर स्रोत, Paolo Miranda

तस्बिरको क्याप्शन,

"हामीभित्र घाउहरू मात्र भए झैँ हुन्छ। हामीले जे देख्यौँ त्यही बोकेर हिँडिरहेका छौँ"

"म राति सुत्न सक्दिनँ र सुतिहाले पनि दुःस्वप्न देखेर ब्युँझिन्छु," मोनिकाले सुनाइन्।

"म प्रत्येक रात १० पटकसम्म ब्युँझिन्छु, मेरो मुटु ढुकढुक गरिरहेको हुन्छ। म आत्तिएर स्याँस्याँ गरिरहेको हुन्छु।"

मोनिकाकी सहकर्मी एलिसा पिजेराका भनाइमा आपत्कालीन अवस्थामा आफू बलियो महसुस गरे पनि यतिखेर भने उनलाई निकै थालेको महसुस भएको छ।

उनीसँग खाना पकाउने वा घरको स्याहार गर्ने शक्ति छैन। बिदामा उनी धेरैजसो सोफामा बसेर बिताउँछिन्।

'नयाँ सामान्य अवस्था' होइन

टस्केनीमा काम गरेकी अर्की नर्स मार्टिना बेनेडेटी अझै आफूबाट अरूमा सङ्क्रमण फैलिन सक्छ कि भनेर त्रस्त छिन्। त्यसैले उनले आफ्ना परिवारजन र साथीसङ्गीलाई भेटेकी छैनन्।

उनले सुनाइन्, "मैले पतिसँग पनि दूरी कायम राखेकी छु। हामी छुट्टाछुट्टै कोठामा सुत्छौँ।"

तस्बिरको क्याप्शन,

"म अझै नर्सको रूपमा काम गर्न चहान्छु कि चाहन्नँ भन्ने मलाई थाहा छैन"

सामान्य कुराहरू समेत यतिखेर असहज लाग्न थालेको उनीहरूको अनुभव छ।

"घरबाहिर निस्किन खोज्दा मलाई छटपटी हुन्छ र म घर फर्किहाल्छु," मार्टिनाले सुनाइन्।

"म अझै नर्सको रूपमा काम गर्न चहान्छु कि चहान्न भन्ने मलाई थाहा छैन। मैले काम थालेको छ वर्षमा देखेभन्दा बढी मानिसको मृत्यु मैले यी दुई महिनामा देखेँ।"

इटलीका अतिप्रभावित ठाउँमा काम गरेका झन्डै ७० प्रतिशत स्वास्थ्यकर्मीमा कुनै न कुनै प्रकारको मनोवैज्ञानिक समस्या देखिएको एउटा अध्ययनले देखाएको छ।

उक्त अध्ययनमा संलग्न डा. सेरिना बारेलो भन्छिन्, "यो डाक्टर र नर्सहरूका लागि सबैभन्दा कठिन समय हो।"

सङ्कटमा काम गर्दा हाम्रो शरीरले उत्पादन गर्ने हार्मोनले तनावसँग सङ्घर्ष गर्न सघाउँछ।

"तर अवस्था सामान्य भइसक्दा फुर्सदमा जब त्यस्तो अवस्था सम्झना गरिन्छ, त्यसले मानिसहरूलाई निकै थकित र भावनात्मक रूपमा विक्षिप्त बनाउँछ।"

तस्बिर स्रोत, Paolo Miranda

तस्बिरको क्याप्शन,

"जब उनीहरू मर्नबाट डराइरहेका थिए त्यसबेला हामी नायक थियौँ। तर अहिले उनीहरूले हामीलाई बिर्सिसकेका छन्"

थुप्रै चिकित्सक र नर्समा महामारीको लामो समयसम्म पनि भयभीत भइरहने पोस्ट ट्रम्याटिक स्ट्रेस डिस्अर्डरका लक्षण देखिन सक्ने उनको चिन्ता छ।

त्यस्तो अवस्था महिनौँ वा वर्षौँपछि पनि देखिन सक्छ।

स्वास्थ्यकर्मीमा यसले उनीहरूको पूर्ववत् स्थितिमा काम गर्ने क्षमतामा समेत असर गर्न सक्छ।

बिर्सिएका नायकहरू

आफ्नै जीवनलाई जोखिममा राखेर भाइरस महामारीका बेला अग्रपङ्क्तिमा रहेर काम गर्ने चिकित्सक र नर्सलाई विश्वभरि नायकको रूपमा हेरिएको छ।

तर इटलीमा भने त्यस्तो प्रेमभाव क्षय भइरहेको छ।

"जब उनीहरू मर्नबाट डराइरहेका थिए त्यसबेला हामी नायक थियौँ। तर अहिले उनीहरूले हामीलाई बिर्सिसकेका छन्," मोनिकाले गुनासो गरिन्।

पछि आफूहरूलाई केवल दिसापिसाब गराउने, अल्छी र काम नभएका मानिसका रूपमा हेरिने भन्दै उनले चिन्ता व्यक्त गरिन्।

टुरिनमा नर्सहरू हालै पङ्क्तिबद्ध भएर प्लास्टिकका झोला बोकेर उभिए।

उनीहरूले पीपीई अर्थात् व्यक्तिगत सुरक्षा परिधान नहुँदा कसरी काम गरिएको थियो भन्ने सम्झाउन प्रयास गरेका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

इटली र स्पेनमा कोरोनाभाइरसको आतङ्कबीच सङ्गीत र ताली

उनीहरूको प्रदर्शन आफ्नो कामको मूल्याङ्कन भइदिओस् भन्दै आयोजना गरिएको थियो।

त्यहाँ एक नर्सले माइकबाट भनिन्: "मार्च महिनामा हामी नायक थियौँ तर अहिले सबैले हामीलाई बिर्सिसकेका छन्।"

अप्ठ्यारो समयमा गरेको कामका लागि अतिरिक्त रकम दिइने बताइएको भए पनि अहिलेसम्म उनीहरूले त्यो देख्न पाएका छैनन्।

सामना

इटलीमा कम्तीमा १६३ चिकित्सक र ४० नर्सले कोभिड-१९ बाट ज्यान गुमाएका थिए।

चार जनाले त आत्महत्या नै गरे।

तर अहिले भाइरसको महामारी कहिल्यै नभए जस्तो वा सकिसकेको जस्तो व्यवहार गरिएकाले आफूलाई रिस उठ्ने धेरै स्वास्थ्यकर्मी बताउँछन्।

स्याहारगृहहरूमा कोभिड-१९ सामना गरेकी डाक्टर एलिसा नानिनोले अहिले मास्क नलगाईकनै वा सामाजिक दूरी कायम नगरीकनै जमघट गरिरहेको कुरालाई इङ्गित गर्दै त्यसो भनेकी हुन्।

उनको भनाइ छ: "सबैको जीवन जोखिममा पार्न सक्ने उनीहरूको मुखैअघि गएर गाली गरौँ झैँ लाग्छ। त्यसो गर्छु म र मेरा सहकर्मीप्रतिको अनादर हो।"

सबैजसो स्वास्थ्यकर्मीले स्वीकार गर्ने एउटा कुरा चाहिँ सर्वसाधारणको सहकार्यले यस सङ्कटबाट पार पाउन सघाएको भन्ने छ।

तस्बिर स्रोत, Paolo Miranda

तस्बिरको क्याप्शन,

"म कुनै नायक होइन तर यसले मलाई महत्त्वपूर्ण अनुभव गरायो।"

पाओलो भन्छिन्: "म कुनै नायक होइन, तर यसले मलाई महत्त्वपूर्ण अनुभव गरायो।"

मनोसामाजिक समस्या खेपिरहेका स्वास्थ्यकर्मीलाई सघाउने एउटा प्रभावकारी तरिका उनीहरूको सार्वजनिक मूल्याङ्कन गर्नु रहेको डा. बारेलोको अध्ययनले देखाएको छ।

उनले भनिन्: "यतिखेर हामी सबैले खेल्नुपर्ने महत्त्वपूर्ण भूमिका भनेको डाक्टर र नर्सले हाम्रा लागि गरेको योगदान नबिर्सनु हो।"

युद्धभूमि छाडेपछि सिपाहीहरू घरमा बसेर आफ्नो तनावसँग सङ्घर्ष गर्न सक्छन्। तर यी चिकित्सकहरूको अर्को १२ घण्टे काम सुरु भइहाल्छ।

उनीहरूसँग आफ्नो तनावको जड भएकै ठाउँमा त्यसलाई परास्त गर्नुको विकल्प छैन।

पाओलो भन्छिन्: "म आफूलाई युद्धबाट भर्खर फर्केको सेनाझैँ ठान्छु। मैले हतियार र सडकमा यत्रतत्र छरिएका शव त देखिनँ तर धेरै तरिकाबाट बङ्करमा भएको जस्तो अनुभव भने गरेँ।"