जोर्ज फ्लोइड मृत्यु प्रकरण: वकिलले भने 'पूर्वनियोजित हत्या'

प्रदर्शन

तस्बिर स्रोत, AFP

अश्वेत पुरुष जोर्ज फ्लोइडको मृत्युलाई लिएर अमेरिकाभरि अशान्ति फैलिएका बेला उनको परिवारका वकिलले प्रहरीलाई 'पूर्वनियोजित हत्या' को आरोप लगाएका छन्।

फ्लोइडको मृत्युका लागि मिनियापोलिसका प्रहरी डेरेक शोभिनमाथि अभियोग लगाइएको छ।

तर वकिल बेन्जामिन क्रम्पले सीबीएस न्यूजलाई भने उनलाई जानीजानी मारिएको बताएका छन्।

"उनको हत्या गर्ने आशय थियो... फ्लोइडले श्वास फेर्न दिन अनुरोध गरिरहँदा पनि उनले झण्डै नौ मिनेटसम्म आफ्नो घुँडाले घाँटीमा थिचिरहेका थिए," उनले भने।

फिलडेल्फीयास्थित दुईवटा टेलिभिजनले आइतवार त्यहाँ युवाहरूले प्रहरीका कैयौँ कारहरू तोडफोड गरेको र कम्तीमा एउटा पसलमा लुटपाट मच्चाएको देखाएका थिए।

फ्लोइडको मृत्युलाई लिएर फिलडेल्फीयाबाहेक प्रदर्शनकारीहरू छैठौँ दिन पनि अमेरिकी सहरहरूमा भेला भएका छन्।

बीसभन्दा बढी राज्यमा कर्फ्यू

हिंसाहरू नदोहोरिउन् भनेर देशभरका २० भन्दा बढी राज्यमा कर्फ्यू लगाइएको छ।

मिनियापुलिसमा फ्लोइडलाई यातना दिइएकै ठाउँमा प्रदर्शनकारीहरू जम्मा भएका छन्।

वासिङटनमा ह्वाइट हाउस नजिकै प्रदर्शनकारीहरूलाई रोक्न दङ्गा प्रहरी खटिएका छन्।

भिडलाई नियन्त्रण गर्न अमेरिकाभर ५,००० भन्दा बढी न्याश्नल गार्डका सदस्यहरू परिचालन गरिएको छ।

तर पनि थुप्रै ठाउँमा प्रदर्शनकारीहरू विरोधमा उत्रिएका छन्।

तस्बिर स्रोत, CBS NEWS

फ्लोइडको मृत्युलाई लिएर मिनियापलिसबाहेक अन्य राज्यहरूमा पनि भएका आक्रोशले वर्षौंदेखि रहेको सामजिक र आर्थिक असमानतालाई प्रतिबिम्बित गर्छ।

मिनसोटाका गभर्नरले शनिवार त्यहाँ न्याश्नल गार्ड परिचालन गर्न लागेको बताएका थिए। दोस्रो विश्वयुद्धयता त्यसरी न्याश्नल गार्ड परिचालन गरिएको यो पहिलोपटक हो।

आतङ्कवादी सङ्गठनको सङ्ज्ञा

यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हिंसात्मक प्रदर्शन भइरहेका बेला एन्टिफासिस्ट मुभमेन्ट एन्टिफालाई आतङ्कवादी सङ्गठन भनेका छन्।

ट्रम्प र उनका महान्यायाधिवक्ता विलियम बारले पछिल्ला केही दिनमा भएका दङ्गामा अराजकता देखिएको र त्यसका लागि वामपन्थी समूहहरू दोषी रहेको आरोप दोहोर्याएका छन्।

एन्टिफा आधिकारिक सङ्गठन नभएकोले उसलाई आतङ्कवादी भनेर कसरी भन्न मिल्छ त्यो स्पष्ट भएको छैन।

अमेरिकाबाहिर पनि विरोध

फ्लोइडकै मृत्युलाई लिएर लण्डनस्थित अमेरिकी राजदूतावासबाहिर पनि करिब एक हजार मानिसहरूले र्‍याली निकालेका छन्।

उक्त र्‍यालीमा भाग लिने धेरैले "ब्ल्याक लाइभ्स म्याटर" अर्थात् अश्वेतको जीवनले अर्थ राख्छ भन्दै नारा लगाएका छन्।

बर्लिनस्थित अमेरिकी राजदूतावासबाहिर दोस्रो दिन पनि सयौँ प्रदर्शनकारीहरू भेला भएका छन्।