कोरोना भाइरस नेपालः 'लकडाउन खुकुलो पारिने, एसईई परीक्षा नहुने'

नेपाल

तस्बिर स्रोत, OPM NEPAL

तस्बिरको क्याप्शन,

फाइल तस्वीर

हप्तौँदेखिको अड्कलबाजीबीच सरकारले कोरोनाभाइरस सङ्क्रमण तथा नियन्त्रणका लागि गर्दै आएको लकडाउनको स्वरूपमा परिवर्तन गर्ने निर्णय गरेको छ।

बुधवार राति अबेरसम्म बसेको मन्त्रिपरिषद्‌को बैठकले लकडाउनलाई खुकुलो पार्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बीबीसी नेपालीलाई बताए।

शुरूमा कृषि, स्वास्थ्यसँग सम्बन्धित सेवा र ब्याङ्क तथा वित्तीय सहितका केही सेवा खुला गरिने बताइएको छ।

किनमेल केन्द्र, सिनेमाघर, शैक्षिक संस्था तथा धार्मिक र सामाजिक स्थल लगायतको हकमा हाललाई लकडाउन कायम राखिने विवरणहरूमा जनाइएको छ।

विस्तृत

यद्यपि लकडाउनको परिवर्तित स्वरूपबारे विस्तृत विवरण चाहिँ बिहीवार मात्रै सार्वजनिक गरिने मन्त्री पोखरेलले बताए।

उनका अनुसार कृषि तथा स्वास्थ्य लगायत कतिपय सेवा तथा कार्यलाई चरणबद्ध रूपमा सञ्चालनमा ल्याउने सरकारले निर्णय गरेको छ।

"कृषि, उद्योग र व्यापार क्षेत्रलाई अहिले खुकुलो पार्ने निर्णय भएको छ। कतिपय तुरुन्तै र कतिपय अलि पछि लागु गर्ने कुरा छन्," मन्त्री पोखरेलले थपे।

कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि प्रभावकारी कदम नचाले पनि लकडाउन चाहिँ पटक-पटक लम्ब्याउने गरेको भन्दै सरकारले चौतर्फी आलोचना खेप्दै आएको थियो।

जनस्वास्थ्य विज्ञहरूले परीक्षणको दायरा बढाउँदै लकडाउनको विकल्प खोज्नुपर्नेमा जोड दिँदै आएका छन्।

नेपालमा कोरोनाभाइरस सङ्क्रमणको दोस्रो घटना पुष्टि भएपछि गत चैत महिनाको दोस्रो हप्तादेखि सरकारले लकडाउन गर्ने निर्णय गरेको थियो।

जनसङ्ख्या तथा स्वास्थ्य मन्त्रालयका अनुसार बुधवारसम्म देशका ७७ मध्ये ७२ जिल्लामा कोरोनाभाइरस सङ्क्रमण फैलिसकेको छ।

बुधवारसम्म कुल सङ्क्रमितको सङ्ख्या ४,३६४ पुगेको मन्त्रलायले जनाएको छ।

सङ्क्रमितमध्ये अधिकांश खासगरी भारतबाट फर्केका नेपालीहरू रहेको अधिकारीहरूले बताएका छन्।

परीक्षा

यसैबीच, करिब तीन महिनायताको अन्योलपछि सरकारले यसपालि एसईई परीक्षा नगर्ने निर्णय गरेको छ।

मन्त्री पोखरेलका अनुसार विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्नेछ।

उनले भने, "अझै सङ्क्रमण बढ्ने देखिएकोले परीक्षालाई यथावत्‌ राख्न उपयुक्त देखिएन। परीक्षाले गर्ने काम अहिले विद्यालयको आन्तरिक मूल्याङ्कनमार्फत् गरिनेछ।"

तस्बिर स्रोत, NATIONAL EXAMINATION BOARD

शिक्षाविद्‌हरूले धेरै पहिलेदेखि आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीहरूलाई कक्षा चढाउन सकिने सुझाव दिँदै आएका थिए।

तर शिक्षामन्त्री पोखरेलले सकेसम्म परीक्षा गराउने पक्षमा मत राख्दै आएका थिए।

एसईई परीक्षाको बारेमा बुधवार निर्णय भए पनि कक्षा ११ र १२ को हकमा भने अझै कुनै निर्णय गरिएको छैन।

त्यसबारे जिज्ञासा राख्दा मन्त्री पोखरेलले भने, "कक्षा ११ र १२ को परीक्षाको हकमा के गर्ने भन्नेबारे हामी अझै छलफलमा छौँ।"