कोरोना भाइरस: ‘नेपालबाहिर नेपालीहरूमा सङ्क्रमण घट्दो क्रममा’

कुवेतबाट फर्किएका महिला

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन,

कुवेतबाट फर्किएका नेपाली महिलाको समूह काठमाण्डू आइपुगेका छन्

बुधवार संसद्‌मा बोल्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशभित्रभन्दा देशबाहिर रहेका नेपालीहरू धेरै सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमित रहेको अनि विदेशमै धेरैको ज्यान गएको बताएका थिए।

भारत तथा दक्षिण एशियाका अरू देशबाहेक अन्यत्र बसोबास गरिरहेका नेपाली नागरिक हालसम्म १४,४५४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको अनि तीमध्ये १२७ जनाको ज्यान गएको गैरआवासीय नेपाली सङ्घको तथ्याङ्कले देखाउँछ।

कैयौँ नेपालीहरूले आफ्नो स्वास्थ्य अवस्था बताउन नचाहने हुँदा वास्तविक सङ्क्रमितको सङ्ख्या योभन्दा बढी हुन सक्ने बताइएको छ।

तर केही सातायता नेपालभित्र सङ्क्रमणको दर बढिरहेको भए पनि बाहिर भने नेपालीहरू सङ्क्रमित हुने दर घटिरहेको सङ्घका अध्यक्ष कुमार पन्तले बीबीसीलाई जानकारी दिए।

“जुन हिसाबमा विदेशमा खासगरी युरोपेली देश, अमेरिका अनि जापान, दक्षिण कोरियाजस्ता देशमा राज्यले नियन्त्रण र रोकथाम गरिरहेको छ त्यसैको परिणाम हो त्यहाँ रहेका नेपालीहरूमा पनि सङ्क्रमण घटिरहेको छ,” पन्तले भने।

सङ्घका अनुसार नेपालीमाझ यो साता अघिल्लो साताभन्दा सङ्क्रमण दर ७५ प्रतिशतले घटेको छ।

कहाँ कति नेपाली प्रभावित?

सङ्घका अनुसार सबभन्दा धेरै नेपालीको मृत्यु यूकेमा भएको छ।

“सुरुमा सबभन्दा धेरै मृत्यु यूकेमा अनि सबभन्दा धेरै सङ्क्रमित अमेरिकामा पाइएको थियो। अब मध्यपूर्वका देशहरूमा पनि धेरै सङ्ख्यामा यो बढेको छ,” पन्तले भने।

चौतीस देशमा रहेका नेपालीहरूमा सङ्क्रमण पाइएको छ भने १३ देशमा नेपालीको ज्यान गएको छ।प्राय: सङ्क्रमितको अवस्था राम्रो रहेको पन्तले बताए।

“सबैजसोले राम्रो उपचार पाइरहेका छन्। यो सङ्क्रामक रोगको विषय भएकाले पनि हुन सक्छ कुनै भेदभावविना हरेक देशले सबैलाई उपचार दिइरहेको पाइन्छ।”

भिडिओ क्याप्शन सुरु हुँदैछ,

विदेशमा मृत्यु भएका नेपालीका शव ल्याउने सरकारको तयारी

भारतमा सङ्क्रमण तीव्र वृद्धि भइरहेको हुँदा त्यहाँ धेरै सङ्ख्यामा नेपालीहरू सङ्क्रमित हुन सक्ने ठानिएको छ। तर त्यहाँको तथ्याङ्क उपलब्ध छैन।

नेपालमा फेला परेका सङ्क्रमितमध्ये अधिकांश भारतबाट फर्किएका नेपाली भएको अधिकारीहरूको भनाइ छ।

स्वदेश फिर्तीको आशा

विदेशका नेपालीलाई स्वदेश फिर्ती गराउने नेपाल सरकारको निर्णयको सङ्घले स्वागत गरेको छ।

“सरकारले लकडाउन भएको ७४ दिनपछि सरकारले पहिलो पटक म्यान्मारबाट २६ र यूएईबाट १६८ जना नेपाली फर्काएको छ। विदेशबाट नेपाल फर्किन लागेका अन्य नेपालीहरूको फिर्ती प्रक्रियालार्ई व्यावहारिक बनाउन सङ्घले नेपाल सरकारलाई आग्रह गर्ने भएको छ,” स‍ङ्घले भनेको छ।

अध्यक्ष पन्तका अनुसार खासगरी मध्यपूर्वमा अप्ठ्यारोमा मा परेका श्रमिक अनि विभिन्न कामका सिलसिलामा युरोप वा अमेरिका पुगेका नेपालीहरू घर फर्किन आतुर छन्।

यसै साता कुवेतबाट फर्किएका नेपाली महिलाहरूको समूह काठमाण्डू आइपुगेको छ।

“यसै पनि यहाँ चेकजाँच हुने र त्यहाँ पनि चेकजाँच हुने हुँदा उनीहरू फर्किँदा सङ्क्रमण बढ्ने कमै सम्भावना छ,” उनले भने।

तर नेपाल सरकारले घर फर्किनेहरूका लागि पीसीआर परीक्षणमा सङ्क्रमण नभएको देखिने प्रतिवेदन अनिवार्य बनाइएकोमा सङ्घले चिन्ता प्रकट गरेको छ।

“पीसीआर परीक्षण गरेर कोरोनाभाइरस सङ्क्रमण नभएको प्रमाणपत्र लिने कुरा विदेशमा पनि जटिल नै छ। बरु त्यसको साटो अन्य देशहरूले अपनाएको जस्तै नेपालले पनि ज्वरो तथा एक्सरेका रिपोर्टहरू स्वीकार्नु उचित हुनेछ,” उनले भने।

उनले वायुसेवा कम्पनीहरूले सामान्य अवस्थाकै जस्तो भाडादरमा लगिदिन स्वीकार गरिरहेको र आवश्यकता अनुसार सङ्घले पनि सहयोग गरिरहेको बताए।