कोरोना भाइरस नेपाल: थप दुई जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु, २७३ जना सङ्क्रमित

कोरोनाभाइरस

तस्बिर स्रोत, SPL

नेपालमा एक पाँच वर्षीय बालक सहित थप दुई जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार पुष्टि गरेको छ।

योसँगै नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ।

शनिवार नै २७३ जनाको कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि नेपालमा कुल सङ्क्रमित सङ्ख्या ५,३३५ पुगेको छ। तीमध्ये

शनिवार सङ्क्रमण पुष्टि भएकामध्ये २४७ जना पुरुष र ३६ जना महिला रहेको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताएका हुन्।

उनले असार १० गतेसम्म दैनिक परीक्षण क्षमता १०,००० पुर्‍याइने पनि बताए।

बालक सहित दुईको मृत्यु

वीरगञ्जको एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बालक र बेवारिसे अवस्थामा मृत फेला परेको पुरुषको पीसीआर परीक्षणमा सङ्क्रमण देखिएको बीबीसी सम्वाददाता माधुरी महतोले जनाएकी छन्।

बाराको निजगढ नगरपालिका वडा नम्बर ६, योजना टोलका पाँच वर्षीय बालकको शुक्रवार साँझ मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताएका छन्।

लगातार ज्वरो आउने क्रम नरोकिएका बालकको निजगढका विभिन्न अस्पतालमा उपचार गराइएको तर निको नभएपछि शुक्रवार बिहान वीरगन्ज लगिएको बताइएको छ।

हेल्थ केयर अस्पतालमा भर्ना गर्ने क्रममा आरडीटी परीक्षणमा पोजेटिभ देखिएको थियो।

नेपालमा नयाँ कोरोनाभाइरस सङ्क्रमण. गत १० दिनको सङ्क्रमण पुष्टि हुने क्रम. गत १० दिनको दैनिक सङ्क्रमण पुष्टि सङ्ख्या .

प्रजिअ पण्डितका अनुसार मृतक बालकको शव कार्यविधि अनुसार नेपाली सेनासहित सुरक्षाकर्मीको टोलीले अन्तिम संस्कार गरिएको छ।

यो सहित बारामा कोरोनाभारइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ।

त्यस्तै वीरगन्जको घण्टाघर नजिकै विपी उद्यान परिसरमा जेठ २८ गते मृत अवस्थामा भेटिएका अन्दाजी २५ वर्षीय पुरुषमा पनि सङ्क्रमण देखिएको नारायणी अस्पतालका डा.उदय नारायण सिँहले बताएका छन्। ती पुरुषको पहिचान खुल्न सकेको छैन।

नरैनापुरका सबै निको

कोरोनाभाइरस सङ्क्रमणको केन्द्र बनेको बाँकेको नरैनापुर क्वारन्टीनमा सङ्क्रमित ११८ जनामध्ये ११७ जना निको भई घर फर्किएको बीबीसी सम्वाददाता विमला चौधरीले जनाएकी छन्।

एक जनाको भने क्वारन्टीनमा मृत्यु भएको थियो।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले ११७ जनाकै परीक्षण नेगेटिभ आएपछि उनीहरु घर फर्किएको बताए।

रोजगारीका लागि भारत पुगेका धेरै नेपालीहरू लकडाउनको बीचमा घर फर्किएपछि नरैनापुरमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो।

क्वारन्टीनमा रहेका ११७ जना र एक प्रहरीमा सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गरेर त्यहाँ सेना परिचालन गरिएको थियो।

सेना परिचालनपछि त्यहाँको अवस्था फेरिएको कुरुङवाङले बताए।

पछिल्लो समय भारतबाट आउने मानिसको सङ्ख्यामा कमी आएको र नरैनापुरमा नयाँ सङ्क्रमित नभेटिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

हाल नरैनापुरको क्वारन्टीनमा एक सयको हाराहारीमा मानिसहरू रहेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए।