नेपालमा दुई दिन ढिलो मनसुन भित्रियो, सामान्य वर्षा हुने पूर्वानुमान

रोपाइँ

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन,

मनसुनकै अवधिमा रोपाइँ हुने गर्छ

सामान्यभन्दा दुई दिन ढिलो नेपाल प्रवेश गरेको भएपनि यसपालीको मनसुनमा नेपालभरि सामान्य वा औसत वर्षा हुने मौसमविद्हरूले बताएका छन्।

नेपालमा मनसुन भित्रने मिति जुन १० मानिन्छ।

यसपाली जुन १२ मा मात्र यो प्रणाली नेपालको पूर्वी भूभागमा प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

'प्रि-मनसुन' पनि सामान्य

बर्खा लाग्नु अगाडिको प्रि-मनसुनको अवधिमा पनि यसपटक औसतभन्दा बढीनै पानी परेको महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताए।

"हामीले केलाई सामान्य मनसुन मान्ने भन्ने बारे ३० वर्षको औसत आँकडासँग दाँज्ने गर्छौँ। यसो गर्दा यसपाली देशैभरि औसत वर्षा हुने र कतै पनि सुख्खा नहुने पूर्वानुमान गरिएको छ," उनले भने।

नेपालमा मनसुन जुन १० बाट प्रवेश गरेर सेप्टेम्बर २३ मा बाहिरिने गर्छ।

यो साढे तीन महिनाको अवधिमा औसत १,४९९.६ मिलिमिटर वर्षा हुने गरेको श्रेष्ठले बताए।

महाशाखाले मनसुनको प्रभावले आगामी केही दिनका लागि गरेको पूर्वानुमानमा सामान्य बदली रही वर्षा हुने बताइएको छ।

तस्बिर स्रोत, RSS

के हो मनसुन प्रणाली?

दक्षिण एशियाको यो क्षेत्रमा मनसुनको ठूलो महत्त्व रहँदै आएको छ।

खासगरि केही अवस्थाहरू पूर्ण भएपछि देशभित्र मनसुन भित्रिएको मान्ने गरिएको मौसमविद् श्रेष्ठले बताए।

"जसमध्ये प्रमुख चाहिँ पाकिस्तानदेखि बङ्गालको खाडीसम्मको क्षेत्रमा मनसुन ट्रफ भनिने न्यूनचापीय प्रणाली विकसित हुनुपर्छ।"

यसपाली सामान्य मनसुन भन्नाले साढे तीन महिनाको अवधिभर औसत वर्षा हुने भन्ने अर्थ निस्कने उनी बताउँछन्।

"तर यही अवधिको बीचमा कुनै महिना धेरै र कुनै महिना थोरै पानी भने पर्न सक्छ।"

"साथै वर्षाको बेला कतै अविरल वर्षा वा भारी वर्षा हुनसक्ने हुँदा बाढी तथा पहिरोको जोखिम रहेका क्षेत्रमा भने सचेत रहनुपर्छ," उनले भने।

अर्थतन्त्रका निम्ति महत्त्वपूर्ण

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन,

सिँचाइ सुविधा नपुग भएको कारण अधिकांश किसान आकाशेपानीमै निर्भर छन्

आकाशेपानीमा आधारित कृषिमा निर्भर नेपालको लागि मनसुन अत्यन्त महत्त्वपूर्ण मानिन्छ।

हाल देशभरि खेतीयोग्य जमिनमध्ये ५५ देखि ६० प्रतिशतसम्म सिँचाइ सुविधा पुग्न नसकेको कृषि विभागका अधिकारीहरू बताउँछन्। ती आकाशेपानीमै निर्भर रहनुपरेको छ।

यही अवधिका देशको मुख्य खाद्यान्न बाली धानको रोपाइँ गरिन्छ। धानको महत्त्व नेपालको कृषिमा अत्यधिक रहने गरेको छ।

"समग्र अर्थतन्त्रको कुल गार्हस्थ उत्पादन जीडीपीमा कृषिको योगदान २७ प्रतिशत छ भने समग्र कृषिभित्र धानबालीको मात्र योगदान २१ प्रतिशत छ," कृषि विभागका वरिष्ठ कृषि अर्थविज्ञ डा. महादेवप्रसाद पौडेलले बताए।

गत वर्ष देशमा ५५ लाख मेट्रिक टनभन्दा धेरै धान उत्पादन भएको थियो। जुन वर्ष मनसुन मनग्गे हुन्छ त्यो वर्ष धानबालीको उत्पादन धेरै बढ्ने गरेको पौडेलले बताए।

यसबीच भारतको मौसम विज्ञान विभागले पनि यो वर्ष सामान्य वर्षा हुने पूर्वानुमान गरेको छ।

लामो समयको औसत वर्षाको ९६ देखि १०४ प्रतिशतसम्मको वर्षालाई उसले सामान्य मान्ने गरेको छ। यसपाली औसत वर्षाको १०२ प्रतिशत वर्षा हुने उसको पूर्वानुमान छ।