कोरोना भाइरस: फ्रान्समा प्रतिबन्धात्मक व्यवस्थाहरू उल्लेख्य रूपमा खुकुलो बनाइँदै

तस्बिर स्रोत, AFP
फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले कोरोनाभाइरस सङ्क्रमणका कारण लागु गरिएका कैयौँ प्रतिबन्धात्मक व्यवस्था खुकुलो पारिएको घोषणा गरेका छन्।
सोमवारबाट देशैभरि क्याफे तथा रेष्टुराँहरू खुल्ने छन्। अन्य युरोपेली राष्ट्रको यात्रा गर्न पनि दिइने छ।
कोभिड-१९ सङ्क्रमणका कारण सबैभन्दा बढी प्रभावित वृद्धाश्रममा रहेका परिवारका सदस्यहरूलाई पनि भेट्न पाइने बताइएको छ।
टेलिभिजनमार्फत् गरिएको सम्बोधनका क्रममा माक्रोँले फ्रान्सले "पहिलो जित" हात पारेको तर भाइरस फेरि फर्कन सक्ने चेतावनी दिए।
यसै महिनाको शुरूवात देखि फ्रान्सका विभिन्न स्थानमा सामाजिक दूरी कायम गराउने शर्तमा रेष्टुराँ, होटेल र क्याफे खोल्न दिइएको थियो।
माक्रोँले सङ्क्रमणका सबैभन्दा धेरै घटना पुष्टि भएको पेरिस क्षेत्रमा पनि सोमवारदेखि त्यस्तै हुने पुष्टि गरेका छन्।
तस्बिर स्रोत, Reuters
त्यस्तै जुन २२ तारिखबाट विद्यालयहरू खुल्ने बताइएको छ।
सावधान रहन आवश्यक
तर राष्ट्रपति माक्रोँले भने, "यसको अर्थ यो होइन कि भाइरस गइसकेको छ र हामी सुरक्षित हुनका लागि अपनाइएका सावधानीका विधि पूर्ण रूपमा बेवास्ता गर्न सक्छौँ। सन् २०२० को ग्रीष्म ऋतु अन्य गर्मी मौसमभन्दा फरक हुनेछ र भविष्यमा यो फर्किएको खण्डमा सङ्घर्ष गर्नका लागि हामीले यो महामारीको विकासक्रम नियाल्नुपर्छ।"
मार्च महिनामा हुने निर्धारण गरिएको स्थानीय तहहरूको दोस्रो चरणको निर्वाचन जुन २८ तारिखमा आयोजना गरिने माक्रोँले पुष्टि गरेका छन्।
तर उनले "भाइरस फैलाउने मुख्य स्थान भन्दै" ठूला सभाहरूको आयोजनामा भने "कडा रूपमा नियन्त्रण" गरिनुपर्ने बताएका छन्।
कोरोनाभाइरसबाट जोगिन दुई मिटर दूरी कसरी राख्ने?
पछिल्लो घोषणासँगै मुख्य भूमि फ्रान्स अब ग्रीन जोनमा पर्नेछ।
फ्रान्समा कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या २९,४०० भन्दा बढी छ। त्यस्तै १,९४,००० सङ्क्रमणका घटना पुष्टि भएका छन्।
फ्रान्समा मार्च १७ तारिखदेखि कडा लकडाउन लागु गरिएको थियो जुन मे ११ सम्म कायम थियो।
त्यसपछि क्रमिक रूपमा प्रतिबन्धात्मक व्यवस्था खुकुलो पार्दै लगिएको थियो।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ