कोरोना भाइरस भारत: कोभिड-१९ को बढ्दो सङ्क्रमणबारे पाँच प्रश्न

  • सौतिक विश्वास
  • भारत सम्वाददाता
भारत

तस्बिर स्रोत, Getty Images

विश्वकै कठोर भनिएको लकडाउन खुकुलो पारिएको हप्तौँपछि र पहिलो सङ्क्रमण देखिएको चार महिनापछि भारतमा सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढिरहेको छ।

यो सङ्कटबारे तपाईँले थाहा पाउनुपर्ने पाँच कुरा यस्ता छन्:

सङ्क्रमितको सङ्ख्या बढ्दा भारत चिन्तित हुनुपर्छ?

समग्रमा हेर्दा भारतले त्यति नराम्रो गरेको नहुन सक्छ।

सङ्क्रमितको सङ्ख्या तीन लाख २० हजारभन्दा बढी पुग्दा भारत विश्वका चार उच्च सङ्क्रमित हुने देशको सूचीमा पुगेको छ।

ब्रजिल, रुस र अमेरिकापछि सबैभन्दा बढी सङ्क्रमित सङ्ख्या भएको देशमा भारत पर्छ।

तर कोर्नेल विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक कौशिक वसुका अनुसार जनसङ्ख्याको आधारमा सङ्क्रमण हेर्ने हो भने भारत १४३ औँ स्थानमा पर्छ।

तर नियालेर हेर्दा सङ्क्रमितको सङ्ख्या उल्लेख्य बढेको देखिन्छ। मुम्बई, दिल्ली र अहमदावाद सहरमा अस्पतालमा भर्ना हुने र मृत्यु हुनेको दर बढेको छ।

"सङ्क्रमितको सङ्ख्या निरन्तर बढिरहने हो भने यी ठाउँहरू पनि न्यूयोर्क जस्तै थाम्नै नसक्ने हुनेछन्," कोभिड-१९ बिरामीहरूको उपचार गरिरहेका एक चिकित्सकले भने।

यी सहरमा बिरामीलाई भर्ना गर्न अस्वीकार गरेको जस्ता डरलाग्दा खबरहरू आएका छन्।

अझै वियोगान्त घटनामा त एकजना बिरामी शौचालयमै मृत अवस्थामा भेटिएका छन्।

प्रयोगशालाहरूमा चाप बढी हुँदा परीक्षणहरू ढिला भएका छन् वा हुन नपाएर नमुना थन्किएका छन्।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन,

सङ्क्रमित धेरै भएका सहरमा अस्पतालमा बिरामीको चाप धेरै छ

भारतको अर्थतन्त्र महामारी अगावै पनि खस्किएको थियो। त्यसैले व्यापार-व्यवसाय बन्द राखेर मानिसहरूलाई बेरोजगार बनाइरहन भारतले सक्दैन।

त्यसैले सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि भारतले निकै कठिन काम गर्नुपर्नेछ।

"म सङ्ख्यालाई लिएर एकदमै चिन्तित छु," हार्भर्ड ग्लोबल हेल्थ इन्स्टिच्युटका निर्देशक आशिष झाले भने।

"सङ्क्रमितको सङ्ख्या एकदमै बढ्छ र आफैँ घट्दै जान्छ भन्ने होइन। त्यसका लागि हस्तक्षेप आवश्यक पर्छ।"

अर्को शब्दमा भन्दा भारतका ६० प्रतिशत जनसङ्ख्यालाई कोरोनाभाइरस लागेर हर्ड इम्युनिटीमा पुगोस् र आफैँ रोकियोस् भनेर भारत पर्खन सक्दैन।

"त्यसको अर्थ लाखौं मानिसको ज्यान जान्छ। र त्यो स्वीकार्य हुँदै होइन," डा. झाले भने।

के भारतको कम मृत्युदर भ्रामक छ?

छ र छैन। भारतको सङक्रमितको मृत्युदर करिब २.८ प्रतिशत रहेको छ।

तर त्यो सङ्ख्या विवादस्पद छ। लन्डन स्कुल अफ हाइजीन र ट्रपीकल मेडिसिनका एडम कुचार्स्कीले मृत्युको सङ्ख्याबाट कुल सङ्क्रमितको सङ्ख्या भाग गर्दा हुने समस्या उपचारमा ढिलाइ भएर मृत्यु भएका वा रेकर्डमै नआएका सङ्क्रमितको सङ्ख्या नसमेट्ने बताए।

तस्बिर स्रोत, Getty Images

महामारीको अहिलेको चरणमा सङ्क्रमितको मृत्यु हुने दर हेर्दा त्यसले सरकारलाई गम्भीर नबनाउन सक्छ।

"यो मृत्युदर एक किसिमले भ्रम हो," मिचिगन विश्वविद्यालयका डा. भ्रामर मुखर्जीले भनिन्।

प्रतिव्यक्ति मृत्युदरले भाइरस कति फैलिएको छ भन्ने बुझ्न गाह्रो हुन्छ किनभने भारतका थुप्रै ठाउँमा भाइरसको असर देखिएकै छैन।

एकदमै चिन्तित बनाउने कुरा के छ भने मृत्युको कुल सङ्ख्याको एक तिहाइ त महाराष्ट्र, दिल्ली र गुजरातमा मात्रै छ।

अर्थशास्त्री पार्थ मुखोपाध्यायले गरेको नयाँ अध्ययनले भारतमा मृत्यु हुने युवाको सङ्ख्या उमेर अनुसार छुट्याउँदा पहिला सोचिएकोभन्दा बढी देखाएको छ।

एप्रिल ३० तारिखसम्म महाराष्ट्र राज्यमा ४० देखि ४९ वर्ष उमेरका मानिसको मृत्यु दर चार प्रतिशत थियो। इटलीमा भने त्यही उमेर समूहमा १० प्रतिशत थियो।

तस्बिर स्रोत, Getty Images

भारत के कुराबारे चिन्तित हुनुपर्छ?

एटलान्टिक पत्रिकाका विज्ञानसम्बन्धी लेखक एड योङ भारतले कोरोनाभाइरसलाई प्रान्तीय महामारीका रुपमा सोच्नुपर्ने बताउँछन्। सङ्क्रमण देशभरि फैलिँदा फरक ठाउँमा फरक तरिकाले असर गरेको भएर यसो गर्नुपर्ने उनले बताए।

महामारीलाई सामाजिक दूरी, परीक्षण क्षमता, जनसङ्ख्याको घनत्व, उमेरको संरचना, सम्पत्ति र भाग्यजस्ता विभिन्न कारणले फरक पार्ने योङ बताउँछन्।

भारतको लम्बिँदो लकडाउनले मद्दत गरेको छ?

मार्च २५ मै लकडाउन गरेर भारतले भाइरसको सङ्क्रमण रोकथामका लागि उचित कदम चालेको विज्ञहरू बताउँछन्।

डा. झा भन्छन्, "कुनै पनि देशले त्यति छिट्टै कदम चालेको थिएन। यसले सरकारलाई समय दियो। यसले थुप्रै मृत्युहरू टर्यो।"

तर लकडाउन चार घण्टाको सूचनामा सुरु भयो र मानिसहरू सहर छोडेर घर जान थालेपछि त्यसले थुप्रै समस्याहरू थप्यो।

तस्बिर स्रोत, Getty Images

विज्ञहरूका अनुसार भारतले लकडाउनको समयमा राम्रोसँग तयारी गरेको भए दिल्ली, गुजरात र मुम्बईमा सङक्रमितको सङ्ख्या नियन्त्रणमा राख्न विफल भएको देख्नुपर्ने थिएन।

राज्यसञ्चालित अस्पतालहरूमा चिकित्सक, स्वास्थ्यकर्मी र सुविधासम्पन्न शैय्या भएको भए अहिले यो स्तरमा सङ्घर्ष गर्नुपर्ने थिएन।

परिणामस्वरुप निजी अस्पतालहरूमा बिरामीहरू गए तर ती अस्पतालहरू यस्तो आपत्कालका लागि तयार नै थिएनन्।

अबको बाटो के?

अहिले भारतले दैनिक एक लाख ५० हजार परीक्षण गरिरहेको छ। लकडाउन सुरु गर्दा यो सङ्ख्या एक हजार थियो। तर पनि परीक्षण दर अझै कम नै छ।

"हामीसँग स्रोतहरू थियो। हाम्रो देशसँग क्षमता थियो तर योजना थिएन," प्राध्यापक मुखोपाध्यायले भने।

आउँदा सातामा सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने आशङ्कामाझ स्थानीय सरकारले कोभिड-१९ का बिरामीका लागि थप शैय्य राख्न निर्देशन दिएको छ। पार्टी प्यालेस, रङ्गशाला र होटलमा पनि शैय्या राख्दैछ।

तस्बिर स्रोत, Getty Images

तर छोटो सूचनामा विवाह हल र रङ्गशालाहरूले अक्सिजन पाइप, चिकित्सक र नर्स उपलब्ध हुने बारेमा विज्ञहरू आशङ्का व्यक्त गर्छन्।

डा. झा भन्छन्, "यो एकदमै कठिन अवस्था हो।"

"हामी अझै पनि महामारीको सुरुकै अवस्थामा छौँ र कोरोनाभाइरसको सङ्क्रमण ओरालो लाग्न हामीसँग अझै एक वर्ष समय बाँकी छ।"

"यक्ष प्रश्न भनेको अबको १२ देखि १६ महिनाका लागि भारतसँग कस्तो योजना छ भन्ने हो।"