अस्ट्रिच जसरी कुद्न सक्ने प्राचीन गोहीको पदचिह्न भेटियो, वैज्ञानिकहरू चकित

तस्बिर स्रोत, A.Romilio/University of Queensland
कलाकारले बनाएको चित्र
प्राचीन कालमा केही गोहीहरू दुई खुट्टा टेकेर हिँडडुल गर्न सक्षम भएको सङ्केत प्राप्तभएपछि वैज्ञानिकहरू चकित भएका छन्।
वैज्ञानिकहरूले दक्षिण कोरियामा ती प्राचीन जीवको पदचिह्नहरू फेला परेका छन्।
झन्डै ११-१२ करोड वर्षअघि अस्तित्वमा भएको एउटा तालछेउछाउ जमेको हिलोयुक्त थिगरमा १८-२४ सेन्टिमिटर लामा १०० वटाजति आकृति फेला परेका छन्।
अध्ययनमा संलग्न विज्ञहरूको समूहले यसबाट गोहीबारे हाम्रो अवधारणा फेरिन सक्ने बताएका छन्।
"मानिसहरू गोही खासै केही नगर्ने जीव हो भन्ने भन्ठान्छन्, ती उनीहरू दिनभरि नदीको किनारमा अल्छी भएर बसिरहन्छन् भन्ठान्छन्। कसैले पनि यो जीव दुईखुट्टे भएको भए कस्तो हुन्थ्यो र अस्ट्रिच जसरी दौडिन सक्थ्यो भन्ने सोच्दैन," यूनिभर्सिटी अफ कोलराडोसँग आबद्ध अवकाशप्राप्त प्राध्यापक मार्टिन लक्लीले बीबीसी न्यूजसँग भने।
सबै अनुसन्धानकर्ताहरू प्राचीन गोहीबारे गरिएको नयाँ विवेचनासँग सहमत हुन्छन् भन्ने छैन। त्यसैले यो अध्ययनले नयाँ बहस आरम्भ हुने सम्भावना छ।
तस्बिर स्रोत, Kyung Soo Kim/CUE
प्राचीन गोहीको जीवावशेषमा खुट्टाका औँलाहरूको डोब
प्राध्यापक लक्ली र उनका सहकर्मीहरूले उक्त जीवको वैज्ञानिक नामकरण Batrachopus grandis (ब्याट्राकोपस ग्र्यान्डिस) गरेका छन्।
तर उक्त जीवको भौतिक अवशेष भने भेटिएको छैन। उक्त जीव अस्तित्वमा थियो भन्ने प्रमुख आधार ढुङ्गामा भेटिएका छापहरू मात्र हो।
धेरै ठूला भए पनि यी छापहरूको आकृति जुर्यासिक युगमा करोडौँ वर्ष पहिला अस्तित्वमा भएका ब्याट्राकोपस गोहीले बनाएका छापसँग धेरै मिल्दाजुल्दा छन्। तर पहिलाका गोही चारखुट्टे थिए र हिँडडुल गर्न चार खुट्टा नै प्रयोग गर्थे।
यी जीवाश्मबारे 'साईअन्टिफिक रिपोर्ट्स' नामक जर्नलमा शोध प्रकाशित भएको छ।
"हामी अहिले पनि औँला, छालाका सबै धर्सा देख्न सक्छौँ, आफ्नै हात हेर्दा जसरी," प्राध्यापक लक्लीले भने।
तस्बिर स्रोत, Kyung Soo Kim/CUE
पदचिह्नका आधारमा यो जीव तीन मिटरभन्दा लामो भएको अनुमान गरिएको छ
"उनीहरू एउटा खुट्टा अर्कोभन्दा अगाडि राख्थे। उनीहरू एउटा सीधा रेखामा हिँड्न सक्थे। अनि उनीहरूका अगाडिका खुट्टाको चिह्न भेटिएको छैन।"
कुर्कुच्चाले बनाएको डोबको गहिराइले पनि उनीहरू उभिएर हिँड्ने सङ्केत गरेको दक्षिण कोरियाको चिन्जु न्याश्नल यूनिभर्सिटीका प्राध्यापक क्युङ सू किमले बताए।
उनी अध्ययन टोलीका प्रमुख हुन्।
"उनीहरू डाइनसोर जसरी नै हिँड्थे। तर यी पदचिह्नहरू डाइनसोरले बनाएको हैन। डाइनसोर र चराहरू औँला टेकेर हिँड्थे।"
"गोहीहरू खुट्टाको तल्लो भाग टेकेर हिँड्छन् र मान्छेको जस्तै कुर्कुच्चाको डोब बनाउँछन्।"
तस्बिर स्रोत, Kyung Soo Kim/CUE
दक्षिण कोरियामा विभिन्न किसिमका छाप भएका जीवाश्महरू फेला परेका छन्, तर हड्डी नै भएका जीवावशेषहरू तुलनात्मक रूपमा कम छन्
भिडिओ, चोरबाट जोगाउन डाइनसोरको चिहान गोप्य राखियो
अमेरिकाको वाईओमिङ राज्यमा प्राचीन कालमा लोप भएका भीमकाय डाइनसोरका जीवावशेषहरू फेला परेका छन्।