कोरोना भाइरस: जीवन रक्षा गर्न सक्ने औषधि भेटियो

तस्बिर स्रोत, Getty Images
एउटा सस्तो र सहज रूपमा पाइने डेक्सामेथासोन नामक औषधिले कोरोनाभाइरसका कारण गम्भीर बिरामी भएका व्यक्तिहरूको जीवन जोगाउन मद्दत गर्ने यूकेका विज्ञहरूले बताएका छन्।
कम मात्रामा दिइने उक्त स्टेरोइड औषधिलाई हालसम्म घातक देखिएको कोरोनाभाइरसको लडाइँमा उल्लेख्य उपलब्धि मानिएको छ।
यसले भेन्टीलेटरमा राखिएका बिरामी आठमा एक जना र अक्सिजन दिइएका २५ मा एक जनाको जीवन जोगाउने देखिएको छ।
कोरोनाभाइरसको जारी उपचार विधिबारे विश्वभरि गरिएका ठूला परीक्षणहरूको यो औषधि पनि एउटा हिस्सा रहेको थियो।
अनुसन्धानकर्ताहरूले यदि उक्त औषधि सुरुदेखि युकेमा पाइएको भए ५,००० जीवन जोगिने थियो भनी उल्लेख गरेका छन्।
यो औषधिको मूल्य पनि सस्तो रहेको र यसले उच्च सङ्ख्यामा कोभिड-१९ का बिरामीहरू देखिएका गरिब देशहरूलाई ठूलो राहत दिनसक्ने ठानिएको छ।
पुरानो औषधि
बीबीसीका स्वास्थ्य संवाददाता फर्गुस वाल्सका अनुसार मृत्युदर घटाउन सहयोगी हुने प्रमाणित औषधि नयाँ होइन र यो खासै महँगो छैन।
उनी भन्छन् यो खुसी मनाउनुपर्ने विषय हो किनभने संसारभरका मानिसहरूले तत्कालै लाभ पाउँछन्।
त्यही भएर परीक्षणको परिणामलाई तत्कालै बाहिर ल्याइएको छ।
डेक्सामेथासोनलाई सन् १९६० देखि नै दमदेखि जोर्नीको दुखाइको उपचारका लागि प्रयोग गर्ने गरिएको छ।
गरिब देशलाई लाभ
कोभिड-१९ को सङ्क्रमणमा भेन्टीलेटरमा राख्नुपरेका आधा बिरामीहरूको ज्यान गइरहेको वर्तमान सन्दर्भमा उक्त जोखिमलाई घटाउनुलाई ठूलो उपलब्धि मानिएको छ।
सघन उपचार कक्षमा राखिएका व्यक्तिहरूलाई नसामार्फत उक्त औषधि दिने गरिन्छ भने कम गम्भीर बिरामीहरूलाई चक्कीका रूपमा दिने गरिन्छ।
अहिलेसम्म यो बाहेक इबोला भाइरस नियन्त्रणका लागि बिरामीहरूलाई दिइएको रेम्डेसिभिर नामक औषधिले कोभिड-१९ का बिरामीहरूलाई फाइदा पुर्याउने देखिएको छ।
त्यसले कोभिड-१९ को लक्षण रहने अवधिलाई १५ दिनबाट घटाएर ११ मा झार्ने देखिन्छ तर त्यसबाट मृत्युदर घटेको या नघटेको बलियो प्रमाण भने देखिएको थिएन।
त्यसमाथि रेम्डेसिभिर नयाँ औषधि हो र यसको आपूर्ति सीमित छ अनि मूल्य पनि तोकिन बाँकी छ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ