अमोनियम नाइट्रेट: बेइरुतमा ठूलो क्षति हुनेगरी विस्फोटन भएको रासायनिक पदार्थ नेपालमा कहाँ र कति छ

  • फणीन्द्र दाहाल
  • बीबीसी न्यूज नेपाली
कालीगण्डकी कोरिडोर

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन,

नेपाली सेनाले विकास-निर्माणका काममा प्रयोग गर्ने विस्फोटक पदार्थ उत्पादन गर्न अमोनियम नाइट्रेट आयात गर्छ

नेपालमा आयात हुने र अहिले विद्यमान अधिकांश अमोनियम नाइट्रेट नेपाली सेनामातहत रहेको देखिन्छ।‍ सेनाले उक्त अमोनियम नाइट्रेटबाट विस्फोटक पदार्थ उत्पादन गर्दै आएको छ।

विकास-निर्माणका काममा प्रयोग हुने विस्फोटक पदार्थ राजधानीमा उत्पादन गरिरहेको नेपाली सेनालाई उसको १०० वर्ष पुरानो उद्योग सुरक्षित स्थानमा सार्न दबाव परिरहेको छ।

अहिले राजधानीको स्वयम्भू बारुदखाना र मकवानपुरमा रहेको सुनाखरी इमल्शन प्लान्टबाट नेपाली सेनाले ती विस्फोटक सामग्री उत्पादन गर्दै आएको छ।

सैनिक प्रवक्ताले स्वयम्भूको बारुदखाना स्थानान्तरणको विस्तृत खाका तयार पारेर रक्षा मन्त्रालयमा पेस गरिएको भए पनि सरकारले निर्णय गर्न बाँकी रहेको बीबीसीलाई बताएका छन्।

तर रक्षा मन्त्रालयका अधिकारीले यसबारे टिप्पणी गर्न अस्वीकार गरेका छन्।

अमोनियम नाइट्रेट कति भित्रिन्छ

नेपालमा सडक र जलविद्युत् परियोजनाजस्ता पूर्वाधार निर्माणका लागि पहाड र चट्टान फोड्न प्रयोग गरिने विस्फोटक सामग्री बनाउन अमोनियम नाइट्रेट आवश्यक पर्छ।

व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अनुसार गत आर्थिक वर्षमा १२ करोड ८० लाख रुपैयाँ बराबरको १,२२६ मेट्रिक टन अमोनियम नाइट्रेट नेपाल भित्रिएको थियो।

त्योभन्दा अघिल्लो साल दुईगुनाभन्दा बढी अमोनियम नाइट्रेट आयात भएको थियो जसका लागि झन्डै २७ करोड रुपैयाँ खर्च भएको केन्द्रको तथ्याङ्कले देखाउँछ।

सन् २०१९/२०२० मा ६५ लाख रुपैयाँभन्दा बढीको अमोनियम नाइट्रेट नेपाल भित्रिसकेको देखिन्छ।

मल बनाउन पनि प्रयोग गरिने अमोनियम नाइट्रेट अहिले नेपालमा सानो परिमाणमा कृषि प्रयोगशालाहरूमा प्रयोग गरिने र बाँकी सबै विस्फोटक पदार्थ बनाउन नेपाली सेनाले झिकाउने गरेको अधिकारीहरू बताउँछन्।

तस्बिरको क्याप्शन,

रासायनिक मल बनाउन पनि अमोनियम नाइट्रेट प्रयोग हुन्छ

नेपालमा कसरी हुन्छ प्रयोग

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलका अनुसार भारत र चीन दुवै देशबाट अमोनियम नाइट्रेट भित्र्याउने गरिन्छ र देशको सीमाबाटै नै त्यसलाई सुरक्षित रूपमा राख्ने जिम्मेवारी सेनाले लिएको छ।

उनले भने, "हाम्रा दुईवटा कारखानाबाट विकास निर्माणका गतिविधिमा प्रयोग हुने निपोलाइट र इमल्शन भनिने विस्फोटक सामग्री बनाउन हामी यो रसायन मगाउँछौँ। हाम्रो राजधानीमा रहेको स्वयम्भू बारुदखानाको १२० मेट्रिक टन र मकवानपुरको सुनाखरी इमल्शन प्लान्टको वार्षिक क्षमता २,४०० मेट्रिक टन रहेको छ।"

उनका अनुसार स्वयम्भू बारुदखानामा लगभग एक पटकमा ४० देखि ५० मेट्रिक टन र सुनाखरी इमल्शन प्लान्टमा एक चोटिमा लगभग ३०० देखि ३५० मेट्रिक टन अमोनियम नाइट्रेट बङ्करहरूमा भण्डारण गर्ने गरिएको छ।

कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीका अनुसार विस्फोटक पदार्थका रूपमा वर्गीकरण गरिएकाले गृह मन्त्रालय र रक्षा मन्त्रालयको अनुमतिबिना अमोनियम नाइट्रेट नेपालमा नभित्रने बताए।

उनले भने, "कृषिका कतिपय प्रयोगशालाहरूमा रिएजेन्टका रूपमा प्रयोग हुने भएकाले गत साल आठ वा १० केजी गृह मन्त्रालयको अनुमति लिएर ल्याए जस्तो लाग्छ। नभए हाम्रोबाट आउँदैन।"

तस्बिर स्रोत, Nepal Army

सुरक्षा व्यवस्थापन सेनाकै जिम्मेवारी

नेपाली सेनाले आफ्ना विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योगहरूमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सुरक्षाका मापदण्ड पालना गर्दै अमोनियम नाइट्रेट भण्डारण गर्ने गरिएको जनाएको छ।

सैनिक प्रवक्ता पौडेल भन्छन्, "सीमा क्षेत्रसम्म जुन देशबाट खरिद गरेको हो त्यहाँको सुरक्षा निकायको समन्वयमा आउँछ। यता आएपछि हामीले जिम्मेवारी लिएर ल्याउने गर्छौँ।"

उनले स्वयम्भू बारुदखाना र सुनाखरी इमल्शन प्लान्ट दुवैमा अमोनियम नाइट्रेट राख्न बङ्करहरू बनाइएको साथै विद्युतीय वायरिङ नहुनुपर्ने जस्ता मापदण्ड पालना गरिएको बताए।

"उत्पादन गर्ने प्लान्ट र भण्डारण गर्ने ठाउँबीचको दूरी र उत्पादन भएका विस्फोटक पदार्थ भण्डारण गरिएका स्थान र त्यहाँ वरपर निश्चित दूरीसम्म कुनै किसिमका संरचना निर्माण हुनु नहुने मापदण्ड लगभग पालना गरेका छौँ।"

उनले सुनाखरी इमलशनआसपास कुनै संरचना नरहेको भए पनि विक्रम संवत् १९७७ मा बनेको स्वयम्भू बारुदखानाछेउछाउमा 'पछि आएर' घरहरू बन्नाले सुरक्षित दूरीको विषय देखा परेको बताए।

सय वर्ष पुरानो बारुदखाना

सैनिक प्रवक्ता पौडेल भन्छन्, "नक्सा बनाउने र बस्ती बसाउने विषय हाम्रो क्षेत्राधिकारभन्दा बाहिर छ। वडा र अन्य निकायले सिफारिस माग्दा हामी सुरक्षित क्षेत्रभित्र पर्छ कि पर्दैन भनेर लेखेर पठाउँछौँ। सिफारिस दिने या नदिने उहाँहरूको कुरा भयो तर हामीले सुरक्षाका मापदण्डहरू पालना गरेका छौँ।"

आफू सांसद हुँदा स्वयम्भू बारुदखानको स्थानान्तरणको मुद्दा उठाएका नेपाली कांग्रेसका तत्कालीन सांसद एवं पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशी उक्त उद्योग सार्ने निर्णय भएको आफूलाई भनिएको बताउँछन्।

उनी भन्छन्, "बारुदखानाका कारणले त्यहाँ १५०-२०० घरले पुर्जा बनाउन नसकेको कुरा आएको छ। मैले त्यसबेला बरु सेनाकै विश्वविद्यालय स्थापना गर्ने स्थानका रूपमा उक्त क्षेत्रलाई विकास गरौँ भनेको थिए। तत्कालीन रक्षामन्त्री बालकृष्ण खाँडले बारुदखाना सार्न बजेट छुट्याएको छु भन्नुभएको थियो।"

सैनिक प्रवक्ता पौडेलका अनुसार १०० वर्ष पुरानो उक्त बारुदखाना स्थानान्तरण गर्ने प्रक्रिया जटिल भएपनि त्यसबारेको विस्तृत प्रस्ताव तयार गरी रक्षा मन्त्रालयमा पठाइएको छ।

ठूलो खर्च लाग्ने र प्लान्टसहितका पूर्वाधारहरू निर्माण गर्नुपर्ने भएकाले स्थानान्तरणको प्रक्रिया सम्पन्न हुन भने केही वर्ष लाग्न सक्ने उनी बताउँछन्।

सैनिक मुख्यालयको प्रस्तावका बारेमा केही भन्न नमिल्ने रक्षा मन्त्रालयका प्रवक्ताले बीबीसीलाई बताए।

तस्बिर स्रोत, Nepal Army

विकास आयोजनाहरूसँग पनि

नेपाली सेनाबाहेक कसैले पनि सोझै अमोनियम नाइट्रेट ल्याउने व्यवस्था नभए पनि विकास निर्माणमा प्रयोग हुने विस्फोटक सामाग्रीहरू खरिद भने गर्न सक्छन्।

त्यस्ता विस्फोटक सामग्री चाहिने आयोजनाको आवश्यकतालाई स्थानीय सुरक्षा समितिले अनुमोदन गर्नुपर्ने र त्यसबारे सम्बन्धित मन्त्रालयले रक्षा मन्त्रालयलाई सिफारिस गर्नुपर्ने व्यवस्था छ।

रक्षा मन्त्रालयले नेपाली सेनाको रायअनुसार कति परिमाणमा आयात गर्न दिने जस्ता निर्णय गरेपछि गृह मन्त्रालयले यसबारे अनुमति दिने गर्छ।

सैनिक प्रवक्ताका अनुसार निजी क्षेत्रले खरिद गरेपनि सीमाबाटै भन्सार छुटाएर नेपाली सेनाले ती सामग्री आयोजनास्थलको नजिकमा रहेको ब्यारेकमा लैजाने अनि भण्डारण गर्ने गरेको छ।

आयोजनाले माग गरेको परिमाण र समयमा उपलब्ध गराउने गरिएको भन्दै सैनिक प्रवक्ता पौडेलले विस्फोटन गराउने समयमा पनि सेनाको प्रतिनिधि त्यहाँ सहभागी हुने र बाँकी रहेको अवस्थामा त्यसलाई सुरक्षित राख्न पुन: फिर्ता पनि ल्याउने बताए।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन,

बेइरुतमा अमोनियम नाइट्रेटको गोदाममा विस्फोटन हुँदा ठूलो धनजनको क्षति भयो

अमोनियम नाइट्रेट के हो

त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र केन्द्रीय शिक्षण विभागका प्राध्यापक मोतीलाल शर्मा भुसालका अनुसार अमोनियम नाइट्रेट आफैँमा खासै घातक किसिमको रसायन होइन।

उनका अनुसार यसमा खासै विषालु क्षमता हुँदैन र यो प्रयोगशालामा प्रयोग भइरहन्छ। थुप्रै किसिमका मल बनाउन पनि यसको प्रयोग हुने उनी बताउँछन्।

नाइट्रोजनको राम्रो स्रोत भएकाले यो धानका लागि विशेष रूपमा उपयोगी हुने कृषि मन्त्रालयका पूर्वसचिव तथा कृषिविज्ञ हरि दाहाल बताउँछन्।

तर भण्डारणमा त्रुटि भए वा आगो लागे यो रसायन विस्फोटक बन्न सक्ने विज्ञहरू चेतावनी दिन्छन्।

हालै लेबननको राजधानी बेइरुतमा २,७५० टन अमोनियम नाइट्रेट विस्फोटन हुँदा कारण ठूलो धनजनको क्षति भएको थियो।

भुसाल भन्छन्, "थोरै मात्रामा राख्दा र यसको दाप र ताप मिल्दा यो खासै विस्फोटक होइन, तर अत्याधिक धेरै मात्रा छ र तापक्रम राम्रोसँग मिलाउन सकिएको छैन भने भयानक विस्फोटन हुनसक्छ।"

"हाम्रोमा पुलपुलेसा, बाटोघाटो बनाउनुपर्‍यो या चट्टानहरू फोर्नुपर्‍यो भने त्यसमा यो विस्फोटक पदार्थका रूपमा प्रयोग गर्ने गरिन्छ। नियन्त्रित रूपमा र विशेषज्ञद्वारा मात्रै यसको प्रयोग गर्नुपर्छ।"

प्राध्यापक भुसालले विस्फोटक सामग्री बनाउँदा दुरुपयोग हुनसक्ने भएकाले कैयौँ मुलुकहरूमा यसलाई प्रतिबन्ध लगाइएको बताए। यसको भण्डारणमा विशेष ध्यान दिइनुपर्ने उनको भनाइ छ।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ,

बन्दुक मर्मतमा महिला