कोरोना भाइरस महामारी: नेपाल प्रहरीमा धेरै सङ्क्रमित फेला परेपछि 'कार्यालय नगई काम गर्ने सुविधा', तर सशस्त्र प्रहरीलाई बाहिर निस्किन निषेध

प्रहरी

तस्बिर स्रोत, Rss

सुरक्षाकर्मीहरूमा धमाधम कोरोनाभाइरस सङ्क्रमण देखिन थालेपछि नेपाल प्रहरीले कतिपय सुरक्षाकर्मीलाई अन्य क्षेत्रको भन्दा फरक ढाँचाको "वर्क फ्रम होम" सुविधा दिन सुरु गरेको अधिकारीहरूले बताएका छन्।

तर शान्तिसुरक्षा कायम गर्न निरन्तर खटिनुपर्ने भएकाले अन्य क्षेत्रको जस्तो नभई प्रहरीले केहीलाई घरबाटै सोझै कार्यस्थलमा जाने र केहीलाई घरबाटै काम गर्ने सुविधा दिएको छ।

कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि गरिएका कडाइहरूको पालना गराउन सुरक्षाकर्मीहरू अग्रपङ्तिमा खटिँदै आएका छन्।

अधिकारीहरूका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनामा कार्यरत १,१०० भन्दा बढी सुरक्षाकर्मीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भइसकेको छ।

तीमध्ये ४७१ जना सङ्क्रमणमुक्त भइसकेको अधिकारीहरूले बीबीसीलाई जानकारी दिए।

यसरी खटाइँदैछ प्रहरी

नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक कुवेरसिंह कडायतले सुरक्षाकर्मीमा सङ्क्रमण देखिएपछि त्यसलाई नियन्त्रण तथा न्यूनीकरणका लागि विभिन्न उपायहरू अपनाइएको बताए।

तस्बिर स्रोत, Reuters

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन,

अहिले प्रहरीलाई घरबाट सोझै कार्यस्थलमा जाने सुविधा दिइएको छ

उनले भने, "हामीले स्वास्थ्य मन्त्रालयले बनाएको कोरोनाभाइरससम्बन्धी मापदण्डको पूर्ण पालन गर्दै काम गरिरहेका छौँ। ब्यारेकमा सामाजिक दूरी कायम गरेका छौँ भने खाना खाँदा पनि ब्लकअनुसार दूरी कामय गरेर मात्र खाने व्यवस्था मिलाएका छौँ।"

"कतिपय प्रहरी कर्मचारीलाई 'वर्क फ्रम होम' जस्तै व्यवस्था मिलाइदिएका छौँ। जसको ड्युटीस्थल नजिकै बसोबास छ, उनीहरूले घरबाट सीधा अफिस नआईकन जान पाउँछन्। ट्राफिक प्रहरीका हकमा पनि त्यस्तै व्यवस्था गरिदिएका छौँ।"

उनले घरैबाट कार्यालय नआईकन खटिएको क्षेत्रमै मात्र जाने र त्यतैबाट घर फर्किँदा कसैलाई सङ्क्रमण देखिए पनि "कन्ट्याक्ट ट्रेसिङ" गर्न सजिलो हुने र ठूलो समूहमा सङ्क्रमण नफैलिने भएकाले त्यस्ते व्यवस्था गरिएको जानकारी दिए।

कुन सुरक्षा निकायमा कति सङ्क्रमित?

अधिकारीहरूका अनुसार हालसम्म नेपाल प्रहरीमा सबैभन्दा धेरै सुरक्षाकर्मी सङ्क्रमित भएको पुष्टि भएको छ।

कडायतका अनुसार नेपाल प्रहरीमा सोमवारसम्म ६३८ जनामा सङ्क्रमण पुष्टि भएको छ।

तीमध्ये अहिले ३८७ जना सक्रिय सङ्क्रमित छन् भने २५१ जना निको भइसकेका छन्।

सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालका अनुसार मङ्गलवार बिहानसम्ममा कुल २९१ जनामा सङ्क्रमण देखिएको छ।

तीमध्ये १३६ जना निको भइसकेका छन्। अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १५५ छ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले सोमवारसम्म २४६ सैनिकमा सङ्क्रमण प पाइएको बीबीसीलाई बताए।

त्यसमध्ये ८४ जना निको भएका छन् भने १६२ जना उपचाररत छन्।

कसरी सङ्क्रमित भए सुरक्षाकर्मीहरू?

अधिकारीहरूका अनुसार कोभिड-१९ पुष्टि भएका अधिकांश सुरक्षाकर्मीहरू कोरोनाभाइरस नियन्त्रण र रोकथामका कार्यमा खटिएका थिए।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन,

कोभिड-१९ का कारण मृत्यु हुने व्यक्तिको शव व्यवस्थापनमा नेपाली सेना खटिने गरेको छ

नेपाली सेनाका प्रवक्ता पौडेल भन्छन्, "सेनामा पाइएका सङ्क्रमितहरूमध्ये धेरै शव व्यवस्थापन, होल्डिङ सेन्टर, आइसोलेशन र क्वारन्टीनमा खटिएकाहरू छन्।"

उनका अनुसार प्रदेश नं २ र कर्णाली प्रदेशमा नेपाली सेनाका धेरै सङ्क्रमित भएका छन्।

सङ्क्रमितका लागि हरेक ब्यारेकमा क्वारन्टीन र आइसोलेशन बनाइएको जानकारी नेपाली सेनाले दिएको छ।

स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पालन गरेर सेनाले काम गरिरहेको प्रवक्ता पौडेलले बताए।

नेपाल प्रहरीको मुख्यालयमा पनि ठूलो सङ्ख्यामा प्रहरीहरू सङ्क्रमित भए। त्यहाँ निर्माणकार्यमा संलग्न मजदुरबाट सङ्क्रमण फैलिएको हुनसक्ने अधिकारीहरूको आशङ्का छ।

नेपालमा कोरोनाभाइरस सङ्क्रमण. गत १२ साताको साप्ताहिक थप सङ्क्रमण.  * साप्ताहिक रूपमा समष्टिगत गरिएको तथ्याङ्क.

सशस्त्र प्रहरीलाई ब्यारेकबाहिर निस्किन रोक

सशस्त्र प्रहरी बलका प्रवक्ता अर्यालका अनुसार सङ्क्रमण बढ्दै गएपछि सशस्त्र प्रहरी बलले उपत्यकाबाहिर ब्यारेकमा रहेका सुरक्षाकर्मीलाई बाहिर गएर बस्न रोक लगाएको छ।

उनका अनुसार सुरक्षाकर्मीलाई ब्यारेकबाहिर गएर परिवार वा आफन्तकहाँ बस्न अनुमति छैन।

उनले भने, "काठमाण्डूमा रहेका सुरक्षाकर्मीहरूलाई चाहिँ कार्यालयकै गाडीमा घरबाट ल्याउने र घर पुर्‍याउने व्यवस्था गरिएको छ।"

"काठमाण्डूबाहिर ब्यारेकनजिकै डेरा लिएर बस्ने वा घर हुनेलाई पनि ब्यारेकमै बस्न निर्देशन दिएको छ।"

त्यस्तै बिदाबाट आउनेलाई ब्यारेकहरूमै बनाइएको क्वारन्टीनमा १४ दिन राखेर मात्र काममा खटाइने गरेको उनले जानकारी दिए।