माधवप्रसाद घिमिरेः प्रेमलाई जीवनको मुख्य उपलब्धि मान्थे राष्ट्रकवि

माधवप्रसाद घिमिरे

तस्बिर स्रोत, BBC/Deepak Luitel

प्रेमलाई जीवनको उपलब्धि मान्ने राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। उनी १०१ वर्षका थिए।

घिमिरेका ज्वाइँ प्रा. डा. हेमाङ्गराज अधिकारीले राष्ट्रकवि घिमिरेको मङ्गलवार अपराह्ण ५:३० बजेतिर लैनचौरस्थित निवासमा निधन भएको पुष्टि गरे।

घिमिरे दुई सातादेखि गम्भीर बिरामी भएको र उनमा श्वासप्रश्वासमा समस्या देखिएको थियो। उनी ब्रोन्काइटिस, रक्तचाप र मधुमेहको समस्याबाट पनि पीडित थिए।

"डेढ महिनादेखि लगातार बिरामी हुनुहुन्थ्यो। अस्पताल लैजाने ल्याउने गरिएको थियो र उहाँलाई घरमै उच्च स्वास्थ्य निगरानीमा राखिएको थियो। आज निधन भएको हो," अधिकारीले भने।

घिमिरेले नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याएका छन्। उनी तात्कालिक नेपाल राजकीय प्रतिष्ठानमा कुलपति पनि भएका थिए।

घिमिरेको जन्म विसं १९७६ ‍मा लमजुङको पुस्तुनमा भएको थियो।

दुई वर्षअघि उनी गभ्भीर बिरामी परेका थिए। उनको उपचार भारतमा पनि गरिएको थियो।

निरन्तर दुई दिन आन्तरिक रक्तस्राव भएर दिसामा रगत देखिएपछि घिमिरेलाई काठमाण्डूस्थित एउटा अस्पतालमा भर्ना गरिएको थियो।तर रक्तस्राव नरोकिएको र कहाँबाट भएको हो भन्ने पनि पत्ता लाग्न नसकेपछि थप परीक्षण र उपचारका लागि उनलाई दिल्ली लगिएको थियो।

मन्त्रिपरिषद्को निर्णयानुसार राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरेलाई विसं २०७४ सालमा नेपाली सेनाको मानार्थ सहायक रथीको उपाधिबाट सम्मानित गरेकी थिइन्।

काव्यिक चिन्तन

सय वर्ष पुग्न लाग्दा पनि उनको सक्रिय जीवनशैलीबारे सोधिएको प्रश्नमा केही वर्षअघि उनले बीबीसीसँग भनेका थिए, "पहाडमा यति लामो बाँच्ने पनि कोही देखेको थिइनँ, र आफू बाँचौँला भन्ने पनि सोचेको थिइनँ। तपाईं जस्तो छक्क परेर मलाई सोध्नुहुन्छ, म पनि आफैँ छक्क परेको छु।"

आफ्नो दीर्घजीवनको श्रेय उनी प्रकृति र सद्विचारलाई दिन्थे।

"काठमाण्डूजस्तो सहरमा पनि म यस्तो खुला ठाउँमा बसेको छु, फूलहरु, चराहरुको बीचमा," उनले भनेका थिए। कविता र काव्यबारे सोच्दासोच्दै अर्थोक सोच्ने फुर्सदै नपाएको उनको भनाइ थियो।

गेय भाषामा लेखिएका घिमिरेका धेरै कविताहरू लोकलयसँग नजिक देखिन्छन्। तर उनी शास्त्रीय छन्दमा पनि सिद्धहस्त थिए।

काव्यिक यात्रा

घिमिरे गाउँमा लोकगीत सुन्दै हुर्केका थिए र त्यो सरल तर गहन शैलीबाट प्रभावित भएको उनी बताउँथे। "पहाडमा यहाँको जस्तो साहित्यको वातावरण, कवि सम्मेलन, लाइब्रेरी साइब्रेरी इत्यादि थिएनन्," उनले भनेका थिए।

"तर त्यहाँ गीत थियो। छोटो पङ्क्ति गाएको र मनमा गढ्ने कुरा लोकगीतमा गाइन्छ। अज्ञात तवरले त्यसको प्रभाव ममा परेको छ," उनले आफ्नो काव्यिक यात्रालाई यसरी सम्झेका थिए।

तस्बिर स्रोत, BBC/Deepak Luitel

पढ्न काठमाण्डू आएपछि बल्ल उनले आफूले पनि कविता लेख्न सकिनेरहेछ भनेर थाहा पाए।

"कविशिरोमणि लेखनाथ पौड्यालको रचनाहरू पढेपछि मैले थाहा पाएँ, कविता चैँ मान्छेले लेख्ने रहेछ भनेर। देउताको घरबाट आउने कुनै चमत्कारी कुरा होला, प्राकृतिक होला भन्ने लागेको थियो त्योभन्दा अघि," उनको स्वीकारोक्ति थियो।

उनको काव्यसाधनाको सूत्र थियो त?

उनकै शब्दमाः एकान्तमा गुनगुनाएर, आफैँलाई बिर्सेर…. लेख्दा आफ्नै आँखाबाट आँसु झरोस् न। तब पो मजा हुन्छ। उकुसमुकुस भएर एउटा लेखेर प्रकाशन गर्न दियो, अनि अर्काले अर्थ हालिदिएर राम्रो भन्नुभन्दा आफूले गम्भीर अर्थ हाल्नुपर्छ। अर्काले हेर्दा सामान्य लागेपनि…।"

शोक र सिर्जना

पहिली पत्नीको वियोगमा उनले लेखेको 'गौरी' शोककाव्य घिमिरेको सर्वाधिक लोकप्रिय कृति हो।

पत्नीशोक र उक्त कृतिबारे उनले भनेका थिए, "उनको २०-२२ वर्षको उमेर। मेरो २७-२८ वर्षको उमेर। भर्खर जन्मेका दुइटी छोरी। एउटा डेरा लिएर बसेको। रातको समयमा १८ दिनसम्म बिरामी भएको। त्यो जाँदाखेरि चाहिँ संसारै डुबेको जस्तो लागेको। मैले चिताउँदै नचिताएको। अविस्मरणीय क्षण त्यही थियो।"

तर त्यो क्षणले उनलाई विह्वल मात्रै तुल्याएन, जीवनको सबभन्दा ठूलो पाठ पनि सिकाएर गयो। "उनको निधनपछि मलाई के लाग्यो भने, जीवन जत्तिको मूल्यवान् त केही रहेनछ। यो उज्यालो देख्न पाइया'छ। यो रङ्ग, यो खुला आकाश।"

राष्ट्रकविको उपाधि

जीवनलाई फर्केर हेर्दा घिमिरे त्यस्तै मूल्यवान् क्षणहरू सम्झन रुचाउँथे। "कवि भएर धेरै मान्छेले दुःख पाइराख्या छन्, आफूले पनि धेरै पाइयो। तर राष्ट्रकविको जुन दिन उपाधि घोषणा भयो, त्यो दिनले खुसी तुल्यायो।"

"जीवनमा केही कोसिस गर्दा केही प्राप्त भयो," उनले भनेका थिए।

घिमिरेलाई ८५ वर्षको उमेरमा राष्ट्रकविको उपाधि दिइएको थियो।

"पहाडमा दूध र भात खाएर मजासँग खेलेर बसेको मान्छे, सात मोहोर दाम लिएर भागेर पढ्न आइयो। आफैँले दुःख उठाइयो। तपाईँहरू भन्नुहुन्छ नि त्यो घरको विरह, होमसिक्नेस। त्यो भइरहेछ। तर फेरि पढाइ छोड्न पनि नसक्ने। एक वर्ष दोस्रो भएँ अर्को वर्ष क्लासमा होल फस्ट हुन्थेँ," उनले आफ्नो विद्यार्थी जीवन यसरी सम्झिएका थिए।

"उहीँ बसेको भए त एकनासको जिन्दगी हुन्थ्यो। यहाँ आएपछि कविहरू थाहा भो, संसार थाहा भो। राजनीति र नागरिक हक के हो थाहा भो। संसार रमाइलो भो।"

घिमिरेले संसार चिन्ने मात्रै होइन, संसारले घिमिरेलाई चिन्ने पनि समय थियो त्यो। उनले 'गौरी' र 'अश्वत्थामा' मात्रै होइन, 'मालती मङ्गले' र 'शकुन्तला' जस्ता अनेकौँ कृति लेखे। प्रज्ञा प्रतिष्ठानको कुलपति पदको जिम्मेवारी सम्हाले, साझा पुरस्कार र त्रिभुवन पुरस्कारजस्ता अनेकौँ पुरस्कारबाट विभूषित भए।

अनि राष्ट्रकविको उपाधि पाउँदा कविशिरोमणि लेखनाथ पौड्यालपछि सार्वजनिक अभिनन्दनले सम्मानित हुने पहिलो कवि बने।

'प्रेम नै उपलब्धि'

तस्बिर स्रोत, BBC/Deepak Luitel

तथापि उनी जीवनको मुख्य उपलब्धि ती सबै कुरालाई होइन बरु प्रेमलाई मान्थे।

"बिहा भएर श्रीमती लिएर आएको सबभन्दा रमाइलो। किनभने, एउटा नयाँ मान्छे आफ्नो भनेर आएको छ। फेरि बिताउनु पनि उसैसँग छ जीवन। अचम्मको कुरा छैन त?" उनी प्रश्न गर्थे।

"त्यो प्रेम चाहिँ कस्तो भनेः स्वाभाविक, प्राकृतिक। हेर्दै पनि आङ जुरुङ्ग हुने, रोमाञ्च हुने। उसको बोली मीठो…. उसले हेरेको…. जम्मै के हो त्यो बर्सेर आएको…त्यही हो। मान्छेले मान्छेलाई प्रेम गरेको, त्यसको बोली, आँखा, सबै चीजले समर्पित भएको, विश्वास भएको, दुइटा आत्मा एउटै भएको, भयो भने त्यो जत्तिको ठूलो केही पनि छैन।"

सद्विचार, सिर्जना र प्रेमको संसारमा रमाइरहेका घिमिरे एक शताब्दीभन्दा लामो जीवन व्यतीत गरेर बिदा भए।

उनकै शब्दमाः

यो जिन्दगी जति बुझे पनि बुझ्न बाँकी

नौलो कुरा जति सुझे पनि सुझ्न बाँकी।