बाढीको समस्या : स्याउला र बोराबाट नदी कटान रोक्ने तटबन्ध बनाउँदै बर्दियाका थारू समुदाय

  • विमला चौधरी
  • बीबीसी न्यूज नेपाली
राजापुर

कर्णाली नदी व्यवस्थापन आयोजनाले निर्माण गरेको तटबन्ध यस वर्षको बाढीले बगाएपछि बर्दियाको राजापुर क्षेत्र जोखिममा परेको भन्दै स्थानीय बासिन्दाले स्याउला र बालुवाको बोरा प्रयोग गरी अस्थायी तटबन्ध बनाइरहेका छन्।

राजापुर नगरपालिका वडा नम्बर ३ स्थित तिघ्रामा २०७३ सालमा निर्माण सम्पन्न भएको तारजाली सहितको तटबन्ध बाढीले बगाएपछि नगरपालिकाको चारवटा वडा नै उच्च जोखिममा परेको बताइन्छ।

थारू परम्परागत शैलीमा स्याउलाको गुन्टा बनाइ त्यसमाथि बालुवा भरेको बोरा राखेर नदी कटान रोक्ने प्रयास गरिरहेको स्थानीय बासिन्दाहरू बताउँछन्।

नदीमा पानीको बहाव उच्च रहेकाले अन्य कुनै विकल्प नभएपछि कुलापानी व्यवस्थापन समिति र थारू समुदायको मुखियाको नेतृत्वमा रहने बड्घरको समन्वयमा प्रत्येक गाउँबाट मानिसहरू जुटाएर अस्थायी बाँध बनाउने काम गरिएको उनीहरू बताउँछन्।

नि:शुल्क श्रम

करिब दुई हप्तादेखि स्थानीय बासिन्दाहरूले श्रमदान गरिरहेको भिम्मापुर कुलापानीका अध्यक्ष दिलबहादुर चौधरीले बताए।

उनी भन्छन्, “बाँध भत्किएर राजापुर बजारलगायत भारतको सीमासम्मको बस्ती बगाएर लैजाने सम्भावना देखिएकाले मानिसहरू पनि बस्ती जोगाउन श्रमदानमा जुटेका छन्।”

करिब २०० मिटर तटबन्ध बगेपछि लगभग ४,००० जनाले श्रमदान दिइसकेको उनले बताए। नदी गाउँमा प्रवेश गर्न करिब एक मिटर मात्र माटोको बाँध बाँकी रहेको स्थानीय बासिन्दाको भनाइ छ ।

नदीले खेतबारी कटान गर्न थालेपछि जोखिम मोलेर रोक्ने प्रयास गरिरहेको अर्का स्थानीय बासिन्दा तथा झवही कुलापानीका पूर्व अध्यक्ष हुमलाल थारूले बताए।

उनले भने, “यहाँ कैयौं मानिसहरूको जमिन कटान भइरहेको छ। खोलाले जहाँ क्षति गरिहेको छ त्यहाँ नियन्त्रण गर्ने हाम्रो काम र कर्तव्य हो। जहाँ जोखिम हुन्छ त्यहाँ काम गर्दै आएका छौँ।”

महिलाहरूको पनि बराबर सहभागिता

कुलापानीका अगुवा र बड्घरको नेतृत्वमा यसरी गरिने श्रमदानलाई थारू समुदायले 'बेगारी' भन्ने गरेको उनी बताउँछन्।

बड्घरको आदेशमा टाढाबाट मानिसहरू बेगारीकालागि आउने र त्यसमा महिला एवम् पुरुषको सहभागिता बराबर रहेको पाइन्छ।

घरमा साना बालबालिका र बस्तुभाउ छोडेर बेगारीमा सहभागी भएको राजापुर मुक्त कमैया बस्ती छेदियाकी थुम्की थारूले बताइन्।

उनले भनिन्, “टाढाबाट हिँडेर बेगारीमा आएरहेका छौँ, अप्ठेरो छ, बच्चा, भेडा बाख्रा छोडेर काम गरिरहेका छौँ किनकि आफ्नै बस्ती बगाउला भन्ने डर छ।”

स्थानीय बासिन्दाहरूले बिहान ९ बजेदेखि बेलुका ५ बजे सम्म श्रमदान गरेर हाल करिब १६० मिटरसम्म कच्ची बाँध निर्माण गरिसकेको बताइएको छ।

नदी कटान रोक्नकोलागि कर्णाली नदी व्यवस्थापन आयोजनाले अहिले प्लास्टिकको डोरी र बोरा उपलब्ध गराएको स्थानीय जनप्रतिनिधिको भनाइ छ।

कोभिड-१९ को महामारीका कारण सबै वडाका स्थानियलाई एकैसाथ सहभागी गराएर काम गराउने अवस्था नरहेकोले पालै पालो श्रमदानमा लागाईएको राजापुर नगरपालिका वडा नम्बर १ की वडा सदस्य सीता चौधरीले बताईन् ।

“कतिपयले ठेक्का लिएर ठेकेदारले पैसा लिने तर आफूहरूले कहिले सम्म श्रमदान गर्ने भनेर प्रश्न गर्छन्। हामीसँग त्यसको जबाफ हुँदैन किनभने स्थानीय सरकारसँग यसकोलागि बजेट नै छैन।”

स्वास्थ्य सुरक्षाको उपाय

ठूलो सङ्ख्यामा मानिसहरू जम्मा भएर काम गरिरहेकाले कोभिड १९ को सङ्क्रमणबाट जोगिन सुरक्षाका मापदण्ड अपनाएर काम गराउन प्रहरीलाई परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी भन्छन्, “बड्घरहरूको सहयोगमा जुन बेगारी र श्रमदानको प्रयास भईरहेको छ त्यसमा थप जोखिम नहोस भनेर हामीले सुरक्षा निकाय र उद्धार टोलीलाई तयारी अवस्थामा राखेका छौँ।"