सङ्क्रमितको अनुभव: 'कोरोनाभाइरसभन्दा पनि मानिसको व्यवहारसँग डराउनु पर्ने भएको छ'

  • माधुरी महतो
  • बीबीसी न्यूज नेपाली, वीरगञ्ज
मास्क लगाएको मान्छे

अस्पतालमा शय्या अभावका कारण पर्सामा ३०० भन्दा धेरै कोरोनाभाइरस सङ्क्रमितहरू घरमा वा आइसोलेसन केन्द्रमा बसिरहेका छन्।

तर त्यसरी बसेका सङ्क्रमितको परिवारका अन्य सदस्यले समाजको दुर्व्यवहार भोग्नुपरेको पीडितहरूले बताएका छन्।

सङ्क्रमितको उपचार गर्दागर्दै कोभिड-१९ बिरामी बनेका एक चिकित्सकले सङ्क्रमणमुक्त भइसकेपछि पनि अभद्र व्यवहार खेप्नु परिरहेको गुनासो गरेका छन्।

सरकारी अधिकारीले त्यस्तो दुर्व्यवहार भएको खबर गरिए सहयोग गर्ने बताएका छन्।

गाउँबाटै लखेट्न खोजियो

सामाजिक अभियानकर्ता भरौटारका रुपनारायण प्रसाद साह आफूलाई कुनै लक्षणबिना सङ्क्रमण भएको पुष्टि भएपछि मानसिक रूपमा तनावपूर्ण भएर दिन बिताएको बताउँछन्।

गाउँकै एउटा विद्यालयमा एक्लिएर बसेका साह भन्छन्, “अस्पतालमा ठाउँ थिएन। गाउँमा आइसोलेसनको सुविधा पनि थिएन। विद्यालयमा बस्न जाँदा स्थानीय मानिसले गाउँमा बस्न नपाइने भन्दै लखेट्न खोजे।”

उनले परिवारका सदस्यले चर्को विभेदको सामना गर्नुपरेको उनले बताए।

“गाउँलेहरू परिवारका सदस्यसँग बोल्नै छाडे। पसलमा सामान किन्न जाँदा भगाउन थालियो। मेरो परिवारलाई सामान नदिने निर्णय गरेका रहेछन्।”

हाल सङ्क्रमणमुक्त भए पनि मानिसहरूको व्यवहारमा खासै परिवर्तन नआएको साह बताउँछन्।

“यो मैले मात्र हैन, मसँगै सङ्क्रमित भएका अन्य साथीभाइ र वडाध्यक्षले पनि भोग्नुपरेको समस्या हो।”

घरमा एक्लिएर बस्ने अवस्था छैन

पर्सामा कोरोनाभाइरस सङ्क्रमितको उपचारका लागि छुट्याइएका अस्पतालमा सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि गम्भीर अवस्था नभएसम्म घरमै बस्न आग्रह गरिएको छ।

तर समुदायका विरोध भइरहेकाले केही लक्षण नभए पनि अस्पताल नै आउनुपरेको वीरगञ्जमा बस्दै आएका सञ्चारकर्मी नवराज फुयालले बताए।

फुयालले भने, “छरछिमेकमा मानिसहरूले घर नै घेराउ गरेर त्यहाँ बस्न नपाइने भन्दै अस्पताल जानूस् भने। आफुलाई लक्षण नदेखिएको र घरबाट बाहिर पनि ननिस्कने भन्दा पनि उनीहरूले मानेनन् र राम्रो व्यवहार पनि गरेनन्।”

बारा सिमराकी सविना थापा सङ्क्रमणमुक्त भए पनि छरछिमेकका मानिसहरू एकाएक बोल्न छाडेको र तर्कने गरेको दुखेसो पोख्छिन्।

उनले आफ्नो परिवारबाहेक अरूले साथ नदिएको उल्लेख गर्दै सङ्क्रमित व्यक्ति र उसको परिवारलाई समाजले हेर्ने दृष्टिकोणले पनि पीडा दिएको बताइन्।

स्वास्थ्यकर्मीलाई सास्ती

पर्सा भौराटारका स्वास्थ्यकर्मी दिपेन्द्र साहको अनुभव पनि त्यस्तै छ।

सङ्क्रमणबाट मुक्त भएर गाउँ फर्कदा पनि उनको परिवारका सदस्य समेतलाई मानसिक तनाव हुने गरी व्यवहार भइरहेको छ।

साह भन्छन्, “अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीले गाउँटोलमा यस्तो पीडा भोग्नुपरेको छ भने अन्य साधारण मानिसहरूले कस्तो भोगिरहेका होलान् भन्ने सोच्न पनि डर लागेको छ।"

"कोरोनाभाइरसभन्दा पनि मानिसहरूको व्यवहारले डराउनुपर्ने अवस्था आएको छ।”

स्वास्थ्यकर्मी बिरामीको ज्यान बचाउने र उपचार गर्ने क्रममा नै सङ्क्रमित भएपनि रिपोर्ट नआउँदै सामाजिक विभेद र अपमान सहनुपरेको वीरगञ्जका डा. अशोक यादवले बताए।

सङ्क्रमण आफूलाई लागे पनि छरछिमेकले आफ्नो परिवारलाई गाउँमा निषेध गरेर पीडा दिएको उनले बताए।

अपहेलनाका कारण पुन: उपचारमा फर्कने मनोबलमा कमी आएको महसुस गरेको भन्दै उनले सङ्क्रमित व्यक्तिलाई साथीभाइ, परिवार र समाजको हौसला चाहिने बताए।

जिल्ला प्रहरी कार्यलय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले छिमेकीले सङ्क्रमित वा उनीहरूका परिवारलाई दुर्व्यवहार गरेमा प्रहरीलाई खबर गर्न सुझाइन्।

पन्त भन्छिन्, “सङ्क्रमित बाहिर निस्कन मिल्दैन। हामीले वडाध्यक्ष तथा अन्य जनप्रतिनिधि राखेर आवश्यक सामग्री छिमेकीलाई फोन गरेर भन्न र उपलब्ध गराउने व्यवस्था मिलाउन भनेका छौँ। त्यस्तो भएन भने प्रहरीलाई खबर गर्दा हामी व्यवस्था गरिदिन्छौँ।”

भिडिओ क्याप्शन सुरु हुँदैछ,

कोभिड-१९ को भविष्य के होला