कोरोना भाइरस नेपाल: काठमाण्डू उपत्यकामा अर्को एक साताका लागि थपिएको निषेधाज्ञा कर्फ्यूभन्दा कसरी फरक

काठमाण्डू

तस्बिर स्रोत, RSS

काठमाण्डू उपत्यकामा पर्ने तीनवटै जिल्लामा कोरोनभाइरस सङ्क्रमण रोक्ने प्रयासमा लागु गरिएको निषेधाज्ञा अर्को एक साताका लागि थप्ने निर्णय गरिएको छ।

काठमाण्डू, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू सहितको बैठकले भदौ १७ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको बताइएको छ।

सोमवार उपत्यका नगरपालिका फोरमको बैठकले भदौ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेको थियो।

यसअघि भदौ ३ गते राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्म निषेधाज्ञा लागु गर्ने निर्णय गरिएको थियो।

निषेधाज्ञामा निम्न गतिविधिमा प्रतिबन्ध लगाइएको छः

  • खुला स्थानमा मानिसहरू भेला हुन, भिडभाड गर्न, सभा, जुलुस गर्न
  • जात्रा, महोत्सव जस्ता भिडभाड हुने गतिविधि सञ्चालन गर्न
  • दैनिक हुने नित्य पूजा बाहेकका सबै धार्मिक गतिविधि
  • उद्योग-व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलाप
  • चाडपर्व लगायतका धार्मिक, सांस्कृतिक कार्य गर्नका लागि हुने जमघटहरू
  • शैक्षिक संस्थाहरू सञ्चालन गर्न
  • सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सलुन, ब्यूटी पार्लर, स्पा, स्विमिङ्ग पूल, जिमखाना, समूहमा खेलिने खेलकुद र खेल प्रस्तुति, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना सञ्चालन गर्न
  • फूटपाथ, खुला ठाउँ र ठेला गाडा/साइकलमा सञ्चालन हुने विभिन्न व्यवसाय कवाडी सङ्कलन गर्न
  • उद्योग, व्यवसाय सञ्चालनका लागि जनस्वास्थ्यसम्बन्धी मापदण्डविपरीत श्रमिक कामदारको ओसारपसार गर्न
  • ‘टेक अवे’बाहेक होटल तथा रेष्टुराँ सञ्चालन गर्न

जिल्ला प्रशासन कार्यालयहरूले सङ्क्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ दफा (६) ३ अनुसार निषेधात्मक आदेश दिएको जनाएका छन्।

तस्बिर स्रोत, RSS

के भन्छन् त ती दफाले?

स्थानीय प्रशासन ऐन २०२८ को दफा (६) ३ निम्न व्यवस्था गरिएको छः

(३) कसैले कुनै काम गर्न लाग्दा वा कहीँ केही वस्तु रहँदा वा कसैले राख्दा हुलदङ्गा भई शान्ति सुरक्षा भङ्ग हुने वा कसैलाई बाधा विरोध पर्ने वा जनस्वास्थ्यलाई खराब असर पर्ने सम्भावना भएमा प्रमुख जिल्ला अधिकारीले देहाय बमोजिमको आदेश दिन सक्नेछ र सो आदेश एक पटकमा दुई महिनाभन्दा बढी अवधिको हुने छैन।

(क) कसैलाई कुनै काम गर्न दिनबाट निषेध गर्ने,

(ख) कुनै वस्तु वा सम्पत्तिको मालिक वा व्यवस्थापक वा प्रमुखलाई सो वस्तु वा सम्पत्ति सो ठाउँबाट हटाउन आदेश दिने वा सो ठाउँमा कुनै काम गर्न निषेध गर्ने।

सङ्क्रामक रोग ऐन २०२० को दफा २ मा यस्तो भनिएको छः

(२) नेपाल सरकारले मानिसमा उब्जेको वा फैलिएको वा फैलिने सम्भावना भएको कुनै सङ्क्रामक रोग निर्मूल गर्न वा सो रोग रोकथाम गर्नको लागि आवश्यक व्यवस्था मिलाउन कुनै अधिकारीलाई मुकरर गरी आवश्यक अधिकार सुम्पन सक्नेछ।

तस्बिर स्रोत, RSS

कर्फ्यूभन्दा कसरी फरक छ?

जिल्ला प्रशासन कार्यालयहरूले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क अनुसार कर्फ्यू लगाउने गरेका छन्।

६(क) कर्फ्यू लगाउन सक्ने अवस्था:

(१) कुनै ठाउँमा आन्दोलन वा हुलदङ्गा भई शान्ति भङ्ग हुन जाने देखिएमा परिस्थितिको विचार गरी आवश्यक भएमा प्रमुख जिल्ला अधिकारीले त्यस्तो स्थानको सिमाना तोकी सो ठाउँमा कसैले आवतजावत गर्न, भेला हुन र तोकेको अरू कुनै काम गर्न नपाउने गरी कर्फ्यू लगाउन आदेश जारी गर्न सक्नेछ। त्यसरी कर्फ्यूको आदेश दिँदा प्रमुख जिल्ला अधिकारीले सो आदेश, कर्फ्यू लाग्ने क्षेत्र र सो वरिपरिका क्षेत्रका सर्वसाधारण जनताको जानकारीका लागि प्रचार गर्नुपर्छ।

(२) उपदफा (१) बमोजिम आदेश जारी भएपछि निषेध गरिएको स्थान र समयभित्र प्रमुख जिल्ला अधिकारीबाट गोप्य सङ्केत लिएको इजाजत प्राप्त व्यक्ति बाहेक अरू कसैले आवतजावत गर्न हुँदैन ।

(३) कर्फ्यूको आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई प्रहरीले गिरफ्तार गर्नेछ र त्यसरी गिरफ्तार गरिएका व्यक्तिलाई तुरून्त प्रहरीले प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्नुपर्ने हुन्छ। त्यसरी गिरफ्तार गरिएका व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले उपयुक्त सम्झेको सङ्क्षित कार्यविधि अपनाई एक महिनासम्म कैद वा एक हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सक्नेछ र उक्त सजायको आदेश उपर उच्च अदालतमा पुनरावेदन लाग्नेछ।

(४) कर्फ्यूको आदेश दिँदा प्रमुख जिल्ला अधिकारीले कर्फ्यूको स्थितिलाई नियन्त्रणमा राख्न कर्फ्यू तोड्ने व्यक्ति वा जमातलाई गोली चलाउन प्रहरीलाई आदेश समेत दिन सक्नेछ। त्यस्तो स्थितिमा प्रहरीले गोली चलाउनु आवश्यक परेमा गोली चलाउनु अगाडि कर्फ्यू तोड्ने व्यक्ति वा जमातलाई प्रहरीले परिस्थिति अनुसार लाठी चार्ज, अश्रुग्यास, फोहरा वा हवाई फायर गर्नुपर्ने छ र त्यति गर्दा पनि कर्फ्यू तोड्ने व्यक्ति वा जमात हटेन भने त्यस्तो व्यक्ति वा जमातलाई हट्दैनौ भने गोली चलाइनेछ भनी स्पष्टसँग बुझिने गरी चेतावनी दिनुपर्ने हुन्छ। त्यसरी चेतावनी दिँदा पनि कर्फ्यू तोड्ने व्यक्ति वा जमात हटेन भने प्रहरीले गोली चलाउन सक्नेछ।

कर्फ्यूभन्दा निषेधाज्ञा नरम?

कर्फ्यूको हकमा उल्लङ्घन गर्नेहरूलाई त्यसरी कैद वा जरिवाना अथवा दुवै सजाय दिने गरिए पनि अहिले सङ्क्रामक रोगलाई ध्यानमा राख्दै गरिएको निषेधाज्ञा उल्लङ्घन गर्नेहरूलाई सम्झाईबुझाई छाड्ने गरेको छ।

अत्यावश्यक सेवाका कमर्चारीले पनि निषेधाज्ञामा विशेष अनुमति लिएर आउजाउ गर्न पाउने अभ्यास रहे पनि अहिले त्यस्ता मानिसहरूले कार्यालयको परिचयपत्र देखाई आवतजावत गर्न पाएका छन्।