कोरोना भाइरस नेपालः काठमाण्डू उपत्यकामा थप एक साता निषेधाज्ञा - कुन क्षेत्र खुले, कुन अझै बन्द

काठमाण्डू उपत्यका

तस्बिर स्रोत, RSS

काठमाण्डू उपत्यकामा जारी निषेधाज्ञा एक साता थप्ने निर्णय भएको छ।

योसँगै उपत्यकाका तीन जिल्लामा अब भदौ २४ मध्यरातसम्म निषेधाज्ञा लागु हुने उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

गृह मन्त्रालयसँगको परामर्शका आधारमा काठमाण्डू, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले प्रतिबन्धात्मक व्यवस्थाहरूलाई 'केही लचिलो बनाउँदै' निषेधाज्ञा अर्को एक हप्ता थप्ने निर्णय गरेका हुन्।

कोरोनाभाइरस सङ्क्रमण बढिरहेको अवस्थामा भदौ ३ गते राति १२ बजेदेखि उपत्यकामा निषेधाज्ञा लागु गरिएको थियो।

त्यसको एक हप्तापछि भदौ १० मा अर्को एक हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको थियो। त्यसको अवधि बुध वार मध्यरातबाट सकिन लागेको थियो।

जिल्ला प्रशासन कार्यालयहरूले सङ्क्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ दफा (६) ३ अनुसार निषेधात्मक आदेश दिएको जनाएका छन्।

यसअघि स्वास्थ्य तथा जनसङ्ख्याका प्रवक्ताले ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा निषेधाज्ञा र २०० जनाभन्दा बढी भएका जिल्लामा बन्दाबन्दी (लकडाउन) लगाउन सिफारिस गरिएको बताएका थिए।

सामाजिक सञ्जालका धेरै प्रयोगकर्ताहरूले सरकारले कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञाबाहेक अन्य काम नगरेको भन्दै रोष प्रकट गरेका छन्।

दैनिक कमाएर खानुपर्ने मानिस तथा व्यापारी र व्यवसायीहरू पनि यसबाट नराम्ररी प्रभावित भएको भन्दै धेरैले सरकारको आलोचना गरेका छन्।

सर्वाधिक सक्रिय सङ्क्रमित भएका जिल्लाहरू. भदौ १७ गते अपराह्णसम्मको तथ्याङ्क.  .

अहिले काठमाण्डू उपत्यकामा ५,००० जनाभन्दा बढी सक्रिय सङ्क्रमित छन्।

के-केमा निषेध?

विज्ञप्तिमा औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिद गर्न र अत्यावश्यक सेवा सञ्चालन गर्नबाहेक कोही पनि घरबाट बाहिर निस्किन नपाउने उल्लेख छ।

अत्यावश्यक कार्यमा समेत १२ वर्ष मुनिका बालबालिका र ६० वर्ष माथिका जेष्ठ नागरिक र दीर्घ रोग भएकाहरूलाई घरबाट बाहिर निस्किन रोक लगाइएको छ।

त्यस्तै अत्यावश्यक सामग्री ढुवानी, निर्माण सामग्री बोक्ने सवारी र स्वास्थ्य तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक अन्य सवारी काठमाण्डू जिल्ला प्रवेशमा रोक लगाउने बताइएको छ।

जिल्लाभित्र पनि सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन सञ्चालनमा लगाइएको रोक यथावत् छ।

तस्बिरको क्याप्शन,

केही प्रतिबन्धहरू फुकुवा गरिएको छ

तर कोभिड-१९ नियन्त्रण र अत्यावश्यक सेवाका रूपमा नतोकिए पनि नियमित सेवा प्रदान गर्नुपर्ने अन्य सरकारी कार्यालयका हकमा कार्यालयले जारी गरेको पत्रका आधारमा सवारी सञ्चालन गर्न पाइनेछ।

त्यस्तै दैनिक नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिमा पनि रोक लगाइएको छ।

सो अवधिमा होटेल तथा रेस्टुराँहरू पनि सञ्चालन गर्न पाइनेछैन।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

कोभिड-१९ बाट जोगिने गृहिणीका उपाय

के सञ्चालन गर्न पाइन्छ?

अत्यावश्यक वस्तु वा सेवामा पनि औषधि, पानी वितरण निर्बाध रूपमा सञ्चालन गर्न पाइनेछ।

त्यस्तै खाद्यवस्तु, दूध र दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु वितरण गर्न पसलहरू बिहान ११ बजेसम्म खोल्न सकिने उल्लेख छ। यसअघि त्यस्तो व्यवसाय बिहान ९:१५ मात्र गर्न पाइन्थ्यो।

उपत्यकाभित्र विकास निर्माणसँग सम्बन्धित पसल व्यवसाय साथै त्यसका लागि आवश्यक ढुवानी सेवा दिउँसो २ देखि बेलुका ९ बजेसम्म सञ्चालन गर्न पाइने बताइएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

कोभिड-१९ को भविष्य के होला

टेक-अवे र होम डेलिभरी खुलेको हो?

काठमाण्डू जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको अवधिमा पीसीआर परीक्षणमा सङ्क्रमण नदेखिएका व्यक्तिहरूबाट मापदण्डबमोजिम टेक-अवे सेवा सञ्चालन गर्न र सरकारी मापदण्ड अनिवार्य पालना गरी अनलाइन सेवा सञ्चालन गर्न दिइने जनाएको छ।

साथै, अत्यावश्यक उपभोग्य वस्तु होम डेलिभरी गर्न पाइने तर सामान पुर्‍याउने व्यक्तिको पीसीआर नेगटिभ हुनुपर्नेछ।

उनीहरूले सेवाकै क्रममा भेटेकाहरूको अभिलेख राख्ने र अनलाइन भुक्तानी लिनुपर्ने बताइएको छ।

ब्याङ्किङ सेवालगायत विभिन्न निकायहरूले भर्चूअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ।

त्यस्तो सम्भव नभए राष्ट्र ब्याङ्कले तोकेको वा कर्मचारी सङ्ख्या एकतिहाइ सङ्ख्या नबढाई सेवा प्रवाह गर्न सकिनेछ।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

कोरोनाभाइरसबारे थाहा भएका पाँच कुरा