कोरोना भाइरस नेपालः काठमाण्डू उपत्यकासहित वाग्मती प्रदेशमा कुल सङ्क्रमितमध्ये झन्डै एकतिहाइ महिला, सङ्ख्या बढ्नुको कारण के हो

  • संजीव गिरी
  • बीबीसी न्यूज नेपाली
स्वाब सङ्कलन

तस्बिर स्रोत, EPA

विभिन्न जिल्लामा महिलाहरूमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुने क्रम उल्लेख्य सङ्ख्यामा बढेको तथ्याङ्कले देखाएको छ। देशभरि फेला परेका सङक्रमितमध्ये महिलाको सङ्ख्या २२ प्रतिशत भए पनि केही जिल्लामा उक्त सङ्ख्या ३० देखि ४० प्रतिशतसम्म छ।

यो वृद्धिलाई केही विज्ञहरूले सङ्क्रमण "भुसको आगो जसरी" समुदायमा फैलिन थालेको सङ्केतका रूपमा बुझेका छन्। तर त्यो पुष्टि गर्न पर्याप्त आधारहरू छैनन्।

काठमाण्डू उपत्यकामा केही समययता परीक्षण गरिएकामध्ये झन्डै २५ देखि ३० प्रतिशत महिलामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

सङ्क्रमण पुष्टि हुनेमध्ये कतै यात्रा नगरेका व्यक्तिको सङ्ख्या ६० प्रतिशतभन्दा बढी छ।

"यसको अर्थ केही हदसम्म समुदायमा सङ्क्रमण रहेको भन्ने हो," महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले भने।

नेपालमा कोरोनाभाइरस सङ्क्रमण. कुल सङ्क्रमितमा २२ प्रतिशत महिला छन्.  .

तथ्याङ्कले के भन्छ?

सरकारले बुधवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिलेसम्म ४१,६४९ जनामा सङ्क्रमण प्रमाणित भएको छ। तीमध्ये महिलाको कुल सङ्ख्या ९,२७२ अर्थात् २२.३ प्रतिशत छ।

बुधवार अपराह्णसम्म देशभरि १८,१०८ जनामा सक्रिय सङ्क्रमण थियो। उपत्यकामा अहिले ५,००० जनाभन्दा बढी सक्रिय सङ्क्रमित छन्।

अहिलेसम्म उपत्यकाका तीन जिल्लामा पुष्टि भएका सङ्क्रमितमध्ये झन्डै ३५ प्रतिशत महिला छन्।

काठमाण्डू जिल्लामा निको भएकासहित कुल ५,२६५ जनामा सङ्क्रमण देखिएकोमा झन्डै ३३ प्रतिशत महिला, ललितपुरमा ७७२ सङ्क्रमितमध्ये झन्डै ४३ प्रतिशत महिला र भक्तपुरमा ५५६ सङ्क्रमितमध्ये झन्डै ४० प्रतिशत महिला छन्।

काठमाण्डू उपत्यकामा सङ्क्रमण. उपत्यकाका तीन जिल्लामा कुल सङ्क्रमितमा महिला-पुरुष औसत.  .

चितवनमा पनि सङ्क्रमित महिलाको सङ्ख्या उल्लेख्य छ। त्यहाँ सङ्क्रमितमध्ये ३६ प्रतिशत महिला छन्।

अरू प्रदेशसँग तुलना गर्दा वाग्मती प्रदेशका जिल्लाहरूमा सङ्क्रमित महिलाको प्रतिशत उच्च देखिएको छ। वाग्मतीमा भेटिएका सङ्क्रमितमध्ये एकतिहाइ महिला छन्।

अहिलेसम्म सर्वाधिक ११,३६१ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश नं २ मा महिलाको सङ्ख्या १५ प्रतिशत मात्र छ।

कारण के हो?

डा. पाण्डेका अनुसार प्रारम्भिक चरणमा क्वारन्टीनमा बढी परीक्षण गरिएको थियो। बाहिरबाट आएर क्वारन्टीनमा ८५ प्रतिशतजति पुरुष बसेकाले महिलाहरू सङ्क्रमित हुने सङ्ख्या निकै कम थियो।

तस्बिर स्रोत, EDCD

"श्रममा भारत र विभिन्न मुलुक जानेमा पुरुषहरू बढी थिए। त्यस बेला १५ देखि ४५ वर्षका व्यक्तिहरू धेरै सङ्क्रमित भएका थिए," उनले भने।

तर पहिलो पटक लकडाउन अन्त्य भएपछि तथा तराईका जिल्लामा कलकारखाना खुलेसँगै भारतबाट कामदारहरू आएका र त्यसपछि नेपालमा पनि सङ्क्रमण बढ्ने क्रम सुरु भएको उनको भनाइ छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल अनुसन्धान एकाइ प्रमुख डा. शेरबहादुर पुन महिला र ६०-६५ वर्षमाथिका जेष्ठ नागरिकहरू सङ्क्रमित हुने क्रम बढ्नु समुदायमा सङ्क्रमण पुगेको 'दरिलो सङ्केत' भएको आफ्नो बुझाइ रहेको बताउँछन्।

नेपालमा अझै पनि पुरुषका तुलनामा महिलाहरू कामकाजमा कम सक्रिय रहेका कारण पनि उनीहरू नै सङ्क्रमित हुने क्रम बढ्नुले घरघरमा सङ्क्रमण पुगेको सङ्केत गरेको विज्ञहरू बताउँछन्।

"पुरुषका तुलनामा महिलाहरूको घरव्यवहारमा बढी हात हुने हुँदा उनीहरू नै सङ्क्रमित भएको अवस्थामा त्यो फैलिन सक्ने जोखिम उच्च रहन्छ," डा. पुनले भने।

सर्वाधिक सक्रिय सङ्क्रमित भएका जिल्लाहरू. भदौ १७ गते अपराह्णसम्मको तथ्याङ्क.  .
नेपालमा कोरोनाभाइरस सङ्क्रमण. सबैभन्दा बढी सङ्क्रमण भएका ५ जिल्लामा महिला-पुरुष औसत.  .

परीक्षणका लागि एन्टीबडी विधि किन?

कोभिड-१९ बाट बिरामी हुनेहरूको सङ्ख्या तीव्र रूपमा बढेसँगै सरकारले एन्टीबडी परीक्षण सुरु गर्ने तयारी अघि बढाएको छ।

उक्त कार्य विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओसँगको सहकार्यका आधारमा अघि बढाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

नेपालमा समुदायस्तरमा कोरोनाभाइरस सङ्क्रमण फैलिसकेको अवस्था हो होइन भन्ने पत्ता लगाउनका लागि "एलाइजा" विधिबाट एन्टीबडी परीक्षण गरिन लागेको हो।

त्यसका लागि हाल जनशक्ति छनोटको कार्य भइरहेको अधिकारीहरूको भनाइ छ।

तस्बिर स्रोत, Getty Creative

तस्बिरको क्याप्शन,

कोरोनाभाइरस सङक्रमण भएपछि त्यसको प्रतिरोध गर्न शरीरले एन्टीबडी बनाउन थाल्छ

"जनशक्ति आउटसोर्सिङको काम सकिनासाथ हामी उनीहरूलाई तालिम दिन्छौँ। करिब एक हप्तामा उनीहरूलाई परिचालन गर्न सकिने अवस्था देखिन्छ," डा. पाण्डेले बीबीसीलाई बताए।

"हामीले अन्तर्राष्ट्रिय रूपमा समेत मान्यता हुनेगरी काम अघि बढाइरहेका छौँ।"

कुन प्रदेशमा कति महिला र कति पुरुष सङ्क्रमित भए?. .  भदौ १७ गते अपराह्णसम्मको तथ्याङ्क.

परीक्षणका लागि के गरिन्छ?

डा. पाण्डेका अनुसार मुलुकका सातै प्रदेशबाट सबै उमेर समूहको प्रतिनिधित्व हुनेगरी रगतको नमुना सङ्कलन गरिनेछ।

खासगरी छ हप्तासम्म यात्रा नगरेका मानिसहरूको शरीरबाट तीनदेखि पाँच मिलिलिटर रगत सङ्कलन गरेर सबै नमुना राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि पठाइने उनको भनाइ छ।

तस्बिर स्रोत, EPA/STR

"छ हप्तासम्म कहीँ पनि नगएका मानिसको परीक्षणले समुदायमा कोरोनाभाइरस सङ्क्रमण फैलिसकेको छ वा छैन भन्ने विषय प्रष्ट पार्नेछ।"

एन्टीबडी परीक्षण गर्ने कार्य धेरै कठिन नभए पहिलो पटक गर्न लागिएको अवस्थामा व्यवस्थापनका विषयमा समय लागेको डा. पाण्डेले जानकारी दिए।

उनका अनुसार एन्टीबडी परीक्षण गरेको केही समयपछि परिस्थिति परिवर्तन हुनसक्ने भएकाले तीन वर्षसम्मको योजना तयार सरकारले योजना बनाएको छ।

के हो एन्टीबडी परीक्षण?

कोरोनाभाइरस सङ्क्रमण भए नभएको हेर्ने विषयमा यो अन्तर्राष्ट्रिय रूपमै मान्यता प्राप्त गरिसकेको परीक्षण विधि रहेको विज्ञहरू बताउँछन्।

डा. शेरबहादुर पुनका अनुसार सङ्क्रमणसँग लड्न शरीरले बनाएको तत्त्व अर्थात् एन्टीबडीले शरीरमा पहिला सङ्क्रमण सङ्केत दिन्छ।

तस्बिर स्रोत, Reuters

"पीसीआर विधिबाट तत्कालीन अवस्था वा परीक्षण गरिएको अवस्थामा सङ्क्रमण भएको छ वा छैन पत्ता लाग्छ। एन्टीबडीले भने सर्भेलन्सको काम गर्छ। रगत परीक्षणबाट कसैमा कुनै समयमा कोरोनाभाइरस सङ्क्रमण भएको थियो वा थिएन भन्ने कुरा हेर्न सकिन्छ," उनले भने।

"तसर्थ समुदायमा सङ्क्रमण फैलिएको नफैलिएको हेर्नका लागि यो राम्रो विधि हो।"

विज्ञहरूका पीसीआर विधि व्यक्तिमा सङ्क्रमण पत्ता लगाउन उपयुक्त हुन्छ भने व्यक्तिबाटै सङ्कलित नमुना जाँचिने भए पनि समुदायको अवस्था हेर्न एन्टीबडी परीक्षण प्रभाकारी हुन्छ। अनि एन्टीबडी परीक्षणको विधि पीसीआरजस्तो जटिल पनि हुँदैन।

  • रगत प्रशोधन गरेर तयार पारिएको सीरमको नमुना एउटा प्लेटजस्तै आकारको विशेष पातामा भएका ससाना प्वालमा हालिन्छ
  • नमुनाको रङ्गमा परिवर्तन आए एन्टीबडी भएको अर्थात् कुनै समय सङ्क्रमण भएको पुष्टि हुन्छ

एउटा उपकरणमा एक पटकमा ४५ वटा नमुना परीक्षण गर्न सकिने जानकारी डा. पाण्डेले दिए।

पनि कोठामा पनि यो विधिबाट परीक्षण गर्न सकिने डा. पुन बताउँछन्।

"लामो समयदेखि समुदायमा सङ्क्रमण भए नभएको विवाद भइरहेको अवस्थामा यस्तो परीक्षण गरिनु सकारात्मक छ। यसलाई अलि पहिले नै गर्न सकिएको भए परिस्थितिअनुसार तयारी गर्न सहज हुने थियो," उनले भने।

यो पनि हेर्नुहोला

भिडिओ क्याप्शन सुरु हुँदैछ,

कोभिड-१९ को भविष्य के होला?