कोरोना भाइरस नेपाल: थप १,२२८ जना कोरोनाभाइरस सङ्क्रमित, छ जनाको मृत्यु र ९१७ जना निको

कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Creative

विगत २४ घण्टामा नेपालमा थप १,२२८ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको र छ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४२,८७७ पुगेको छ।

अहिलेसम्म २४,२०७ सङ्क्रमित निको भइसकेका छन् भने २५७ जनाको मृत्यु भएको छ।

बिहीवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले देशभरि १८,४१३ सक्रिय सङ्क्रमित भएको बताए।

तीमध्ये ७,७४२ जना घरमै र १०,६७१ जना संस्थागत आइसोलेशनमा छन्।

को हुन् मृतक र सङ्क्रमितहरू?

अहिले थपिएका सङ्क्रमित र मृतकहरू विभिन्न जिल्लाका हुन्।

मृतकमध्ये चार महिला र दुई पुरुष छन्।

रूपन्देहीमा दुई जना र चितवन, भक्तपुर, तनहुँ र सिन्धुपाल्चोकमा एक-‍एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। उनीहरूको उमेर ४० देखि ९२ वर्षसम्म थियो।

नयाँ सङ्क्रमितमध्ये काठमाण्डू उपत्यकाका ४४५ जना छन्।

तीमध्ये काठमाण्डूका ३५७ जना, ललितपुरका ४६ जना र भक्तपुरका ४२ जना छन्।

त्यसैगरी मोरङमा थप ४६ जना, सुनसरीमा २७ जना, धनकुटामा ६४ जना, पर्सामा ६५ जना, बारामा ७१ जना, रौतहटमा २९ जना सर्लाहीमा १०९ जना, कास्कीमा ३१ जना, रूपन्देहीमा ५२ जना र चितवनमा ५६ जनामा पनि सङ्क्रमण देखिएको छ।

थपिएका सङ्क्रमितमध्ये ३९४ जना महिला र ८३४ जना पुरुष छन्।

के छ अरू तथ्याङ्क?

सो अवधिमा ९१७ सङ्क्रमित रोगमुक्त प्रमाणित भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए।

अहिलेसम्म पुष्टि भएकामध्ये झन्डै ५६ प्रतिशत सङ्क्रमितहरू निको भइसकेका छन्।

देशभरि क्वारन्टीनमा ६,७४९ जना छन्।

एक हजारभन्दा बढी मानिसमा सङ्क्रमण पुष्टि भएको यो छैटौँ पटक हो।

अघि भदौ १७ गते १,१२० जनामा, भदौ १४ गते १,२२१ जनामा र भदौ ११ गते १,१११ जनामा देखिएको पुष्टि गरेको थियो।

तस्बिरको क्याप्शन,

यसरी बढिरहेको छ सङ्क्रमण

त्यसअघि भदौ २ गते सङ्क्रमितको सङ्ख्या पहिलो पटक १,००० नाघेको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

कोरोनाभाइरसबारे थाहा भएका पाँच कुरा