कोरोना भाइरस नेपाल: बाह्र सयभन्दा बढी सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमण ५० हजार नाघ्यो

कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Creative

विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट १,८१८ जना मुक्त भएका छन् भने थप १,२४६ जना सङ्क्रमित र पाँच जना मृतक थपिएका छन्।

बिहीवारको यो तथ्याङ्कसँगै नेपालमा कुल कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ५०,४६५ र निको हुनेको सङ्ख्या ३५,७०० पुगेको छ।

मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त हुने दर लगभग ७१ प्रतिशत छ।

अहिलेसम्म नेपालमा ३१७ जनाको कोभिड-१९ का कारण मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

अहिले नेपालमा १४,४४८ जना सक्रिय सङ्क्रमित छन् जसमध्ये ६,४३८ घरमै छन् भने बाँकी ८,०१० संस्थागत आइसोलेशनमा छन्।

सङ्क्रमितहरूमध्ये १६५ जना सघन उपचार कक्षमा र २१ जना भेन्टिलेटरमा उपचाररत छन्।

क्वारन्टीनमा ५,६०७ जना रहेका छन्।

यो अवधिमा ११,१४४ पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

सङ्क्रमित कहाँका कति?

बिहीवार थपिएका सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाण्डू जिल्लाका ४९५ जना रहेका छन्।

भक्तपुरमा ३४ र ललितपुरमा ४३ गरी उपत्यकाका जिल्लामा कुल ५७२ जना सङ्क्रमित थपिएका छन्।

त्यस्तै सप्तरीमा ३५, सर्लाहीमा ४२, काभ्रेमा ३६, मकवानपुरमा ३५, कपिलवस्तुमा ४४, नवलपसारीमा ३७, बाँकेमा ७० र रूपन्देहीमा ५१ जना सङ्क्रमित थपिएका छन्।

अहिले ५०० भन्दा बढी सङ्क्रमित भएका सात जिल्लाहरूमा सुनसरी, सर्लाही, काठमाण्डू, चितवन र रूपन्देही रहेका छन्।

सक्रिय सङ्क्रमण नभएका जिल्लाहरूमा सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला रहेका छन्।

मृतक कुन जिल्लाका?

बिहीवार मृत्यु पुष्टि भएका मध्ये काठमाण्डूमा ५५ वर्षीया महिला, ५९ वर्षीय पुरुष र ८३ वर्षीय पुरुष रहेका छन्।

त्यस्तै चितवनका ६२ वर्षीय र कपिलवस्तुमा २९ वर्षीय पुरुषको पनि गत २४ घण्टामा मृत्यु भएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

कोभिड-१९ हुँदा मान्छेको शरीरमा के हुन्छ?