नेपाल भूकम्प: सिन्धुपाल्चोक आसपास केन्द्रविन्दु बनाएर किन भूकम्प गइरहन्छ

झट्काको मापन

बुधवार बिहान सिन्धुपाल्चोक जिल्लाको राम्चे आसपास केन्द्रविन्दु बनाएर तीनवटा भूकम्प गएका थिए जसलाई अधिकारीहरूले सन् २०१५ मा गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु बनाएको विनाशकारी भूकम्पको परकम्प भनेका छन्।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सबैभन्दा पहिलो र शक्तिशाली ६ म्याग्निच्युडको भूकम्पको धक्का बिहान ५ बजेर १९ मिनेटमा महसुस गरिएको थियो।

मध्यम स्तरको ३ दशमलब ८ म्याग्निच्युडको झट्का बिहान ६ बजेर दश मिनेटमा अभिलेख गरिएको थियो।

२ दशमलब ६ म्याग्निच्युडको तेश्रो भूकम्प भने बिहान ९ बजेर सात मिनेटमा मापन गरिएको थियो।

ती सबै परकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक जिल्लाको राम्चे आसपास रहेका थिए।

पाँच वर्ष अघि गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएको विनाशकारी भूकम्पले ती परकम्प निम्त्याएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

पछिल्ला परकम्पबाट जनधनको क्षति भएका कुनै विवरण प्राप्त नभएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

तर सबैभन्दा शक्तिशाली परकम्पको प्रभाव भारतको बिहारसम्म महसुस गरिएको खबरहरू आएका छन्।

सिन्धुपाल्चोक आसपास किन भूकम्प गइराख्छ?

करिब ४ करोड वर्षअघि इन्डियन र युरेसियन प्लेटहरू ठोक्किएर बनेको हिमालय पर्वतमालाहरू अवस्थित नेपालका लागि भूकम्प नौलौ होइन।

सन् २०१५ मा गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर सात दशमलब ६ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको थियो।

तस्बिर स्रोत, RSS

त्यसपछि उक्त क्षेत्रमा हालसम्म करिब ५० हजार भूकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् लोकविजय अधिकारी बताउँछन्।

ती मध्ये अधिकांश परकम्प रहेको उल्लेख गर्दै उनले भने, “गोरखा भूकम्पको शुरूदेखि नै र त्यो भन्दा अघि पनि यो क्षेत्रमा बढी भूकम्प जाने गर्छ। त्यहाँको भौगर्भिक अवस्था र त्यहाँ जमिन मुनी पूर्वदेखि पश्चिमसम्म इण्डियन प्लेटहरू उत्तरतर्फ सरिरहेको अवस्था छ। गोरखा भूकम्प पश्चिममा शुरू भएर त्यसको ‘रप्चर’ पूर्वतर्फ गयो त्यही भएर बढी गतिविधि पश्चिममा भन्दा पूर्वतर्फ नै भयो र भइरहेको छ।”

भूकम्पका कारण जमिन मुनी चिरा परेका चट्टानहरू सर्दै सर्दै तरङ्गका रूपमा फैलिएर जान्छन्। त्यसबाट सिर्जना भएको शक्ति परकम्पका माध्यमबाट बाहिरिने गरेको भूर्गविद्हरू बताउँछन्।

गोरखाबाट पूर्वतर्फ सरेको उक्त भूकम्पीय गतिविधिका कारण हाल सिन्धुपाल्चोक, दोलखा लगायत अति प्रभावित कतिपय जिल्लामा निरन्तर परकम्पहरू गइरहेको भूकम्पविद् अधिकारीले बताए।

उनले भने, “गोरखा भूकम्पपछि लगभग ५० हजार भूकम्पहरू अभिलेखिकरण भए त्यसमध्ये अधिकांश परकम्प हुन्। गोरखाबाट लगभग एक सय ५० किलोमिटर पूर्व पश्चिम र लगभग ६० किलोमिटर उत्तर दक्षिणतर्फ आएका भूकम्पलाई हामीले परकम्प भन्ने गरेका छौँ।”

राजधानीस्थित त्रिचन्द्र क्याम्पसको भूगर्भ विभागका सहप्राध्यापक सुबोध ढकाल भूकम्पपछि कमजोर बनेको पृथ्वी मुनीको सतहबाट परकम्प आउने क्रम बर्षौँसम्म जानसक्ने बताउँछन्।

परकम्पलाई बुझाउँदै उनले भने, “गोरखा भूकम्पपछि एउटा कागज च्यातिँदै जाँदा त्यो सिन्धुपाल्चोकमा च्यातिने बेला भएपनि त्यसबेला राम्रोसँग नच्यातिएका कारण अहिले च्यातिएको रूपमा पनि यसलाई बुझ्न सकिन्छ। गोरखाकै अर्को क्षेत्र वा धादिङ वा दोलखा जहाँ पनि यस्तो हुनसक्थ्यो।”

परकम्पका फाइदा र जोखिम

यस्ता परकम्पहरूको फाइदा पनि रहेको उल्लेख गर्दै उनी भन्छन्, “जति धेरै यस्ता परकम्पहरू गयो त्यति नै भविष्यमा आउनसक्ने ठूलो भूँइचालोको सम्भावना कम हुँदै जान्छ। त्यही भएर त्यसलाई राम्रो अर्थमा नै हामीले लिनुपर्छ। तर परकम्प नै भएपनि ६ म्याग्निच्युड भन्दा माथिको भयो भने त्यसले ठूलो क्षति गराउन सक्छ।”

उनले शक्तिशाली भूकम्पपछि वर्षौँसम्म परकम्पहरू गएका उदाहरणहरू रहेको बताए।

मङ्गलवारको ६ म्याग्नीच्युडको परकम्पको शक्तिशाली झट्का महसुस भएपनि त्यसबाट क्षतीका कुनै विवरण नआएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले बताए।

तर पछिल्लो समय बारम्बार सिन्धुपाल्चोकमा पहिरो गइरहेका विवरणमाझ उक्त परकम्पले आफूहरूलाई थप चिन्तित बनाएको उनको भनाइ छ।

उनी भन्छन्, “२०७२ सालको भूकम्पका कारण त्यस क्षेत्रमा जमिन कमजोर बनेको छ। त्यही भएर हामीले थप चनाखो बन्नुपर्ने महसुस गरेका छौँ। त्यही अनुसार जोखिमको पूर्व तयारी अघि बढाउँछौँ।”

मापन किन फरक?

नेपालको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ६ म्याग्निच्युड भनेको सिन्धुपाल्चोकको भूकम्पलाई संयुक्त राज्य अमेरिकाको भौगर्विक निकाय यूएसजीएसले ५ दशमलब ३ म्यागनिच्युड मापन गरेको छ।

तस्बिर स्रोत, RSS

अमेरिकी भूगर्भ निकायले भूकम्पको केन्द्रविन्दु कोदारी भन्दा ११ किलोमिटर दक्षिण पश्चिममा रहेको उल्लेख गरेको छ।

भूकम्पका विभिन्न तरङ्ग हुने र कुन तरङ्गलाई आधार मानियो त्यसका आधारमा फरक फरक मापन आउने गरेका भूकम्प मापन केन्द्रका अधिकारी बताउँछन्।

उनले भने, “सबै तरङ्ग सबै ठाउँमा पुग्दैनन्। त्यही भएर म्याग्नीच्युड फरक फरक हुन्छन्। गोरखा भूकम्प सम्झिने हो भने पनि हामीले स्थानीय म्याग्नीच्युड ७ दशमलब ८ भन्यौँ। हामीले भूकम्पबाट सिधैँ हाम्रा उपकरणसम्म आइपुग्ने तरङ्गका आधारमा म्याग्नीच्युड दिन्छौँ। तरङ्गहरू पृथ्वीभरि जान्छन् जति टाढा पुग्छन् त्यहाँका उपकरणले फरक मापन गर्न सक्छन्। सधैँ स्थानीय मापन केही बढी हुन्छ।”

गोरखा भूकम्पअघि नेपालमा २१ वटा भूकम्प मापन केन्द्रहरू रहेकोमा हाल ४२ वटा पुगेका छन्।

भूकम्पविद् अधिकारीका अनुसार राजधानी काठमाण्डूको हकमा १ रिक्टरस्केल भन्दा मुनीका पनि र अन्य क्षेत्रका हकमा दुई रिक्टर स्केल भन्दा माथिका भूकम्पहरू मापन केन्द्रले अभिलेख गर्ने गरेको छ।