नेपालमा मनसुन थप एक साता सक्रिय रहने, यसपालि वर्षाको प्रभाव कस्तो

अहिले नारायणी नदीमा पानीको मात्रा बढेको छ
अघिपछि मनसुन सकिनुपर्ने सेप्टेम्बर २३ तारिखदेखि नेपालमा यसपालि झरी परिरहेको छ।
भारतको मध्य प्रदेश क्षेत्रमा विकसित न्यून चापीय प्रणालीका कारण देशैभरि बुधवारदेखि भइरहेको अविरल वर्षा अझै केही दिन जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सामान्यजस्तै मौसम प्रणाली विकसित भएको भए यसपालिको मनसुन वा बर्खा याम बुधवार नै टुङ्गिनुपर्थ्यो। नेपालमा मनसुनको आगमन र बहिर्गमनको औसत मिति क्रमश: जुन १० र सेप्टेम्बर २३ भएको मौसमविद्हरू बताउँछन्।
"तर यसपालि अझै एक साता मनसुन सक्रिय नै रहने देखिन्छ," महाशाखाकी मौसमविद् गङ्गा नगरकोटीले बताइन्।
"गत २४ घण्टामा गण्डकी तथा प्रदेश नं ५ मा अति ठूलो वर्षा भएको छ। काठमाण्डू उपत्यकामा पनि सो अवधिमा ६० मिलिमिटर वर्षा भइसकेको छ," उनले बिहीवार बिहान बीबीसीलाई बताइन्।
अविरल वर्षासँगै बाढीपहिरोको जोखिम पनि बढेको छ।
जल तथा मौसम विज्ञान विभागले बिहीवार बिहान दिएको जानकारी अनुसार देवघाट बाढी मापन केन्द्रमा नारायणी नदीको जलसतहले खतरा तह पार गरेको र बढ्दो रहेको हुनाले चितवन र नवलपरासीका तटीय क्षेत्रमा हुनेहरूले साँझसम्मै उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहनुपर्नेछ।

तस्बिर स्रोत, RSS
देशभरि पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध भएका छन्
यही अवधिमा पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिगकोटमा पहिरो जाँदा छ जना बेपत्ता भएको सो गाउँपालिकाका अध्यक्ष विष्णु भण्डारीले बताएका छन्।
अन्य ठाउँमा पनि बाढीपहिरोको जोखिमबारे सावधान रहन सरकारी अधिकारीहरूले आग्रह गरेका छन्।
आगामी २४ घण्टाको निम्ति चेतावनी दिँदै विभागले जारी गरेको सन्देशमा सबै प्रदेशका धेरै स्थानमा ठूलो वर्षा हुनुका साथै प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका केही स्थानहरूमा अति ठूलो वर्षाको सम्भावना रहेको उल्लेख छ।
कस्तो रह्यो यसपालिको मनसुन?
औसत मितिभन्दा दुई दिन ढिलो नेपाल प्रवेश गरेको मनसुन प्रणालीअन्तर्गत यो वर्ष सबैजसो वर्षा मापन स्टेशनमा औसतभन्दा बढी वर्षा भएको रेकर्ड गरिएको मौसमविद् नगरकोटीले बताइन्।
उनका अनुसार यसपालि कतै पनि सुक्खाको अवस्था आएन।

तस्बिर स्रोत, RSS
सामान्य मनसुन भन्नाले साढे तीन महिनाको अवधिमा औसत १,४९९.६ मिलिमिटर वर्षा हुनुलाई मानिन्छ।
वर्षासँगै निम्तिने विपद्ले पनि यसपालि निकै जनधनको क्षति भएको छ।
बाढीभन्दा पनि पहिरोका कारण धेरै नोक्सानी भएको अधिकारीहरूको भनाइ छ। पहिरोका कारन २५० झणआभन्दा धेरै मानिसको ज्यान गइसकेको छ।
खेतीपातीमा कस्तो प्रभाव?
आकाशे पानीमा निर्भर कृषि भएकोले नेपालका निम्ति मनसुनको महत्त्व अत्यधिक रहन्छ।
हालसम्म पनि नेपालको खेतीयोग्य कुल जमिनमध्ये ५५ देखि ६० प्रतिशतसम्म सिँचाइ सुविधा पुग्न नसकेको अधिकारीहरू बताउँछन्।

तस्बिर स्रोत, RSS
"यसपालि समग्रमा मनसुन अवधिमा परेको पानी कृषिको निम्ति अनुकूल नै रहेको पाइएको छ। कतैकतै बाढीपहिरोको समस्या भएपनि औसतमा सबैतिर फैलिएर राम्रो वर्षा भएको पाइएको छ," कृषि विभागका वरिष्ठ कृषि अर्थविज्ञ डा. महादेवप्रसाद पौडेलले बताए।
यो वर्षाले विशेषतः धान उत्पादनमा सघाउ पुग्ने उनी ठान्छन्।
चाहिने बेलामा मलको चरम अभावजस्ता विभिन्न कठिनाइ भएको हुँदा मनग्गे पानी परे पनि पोहोरको भन्दा बढ्ता उत्पादन हुन भने गाह्रै पर्ने देखिन्छ।
"ताजा औपचारिक अनुमान गर्न त बाँकी छ तर मेरो व्यक्तिगत अनुमानमा चाहिँ पोहोरको ५५ लाख ५० हजार मेट्रिक टनकै हाराहारीमा यसपालि पनि धान उत्पादन हुनेछ," पौडेलको भनाइ छ।
मनसुन सकिने बेलासम्म देशभरि रोपाइँको काम झन्डै ९९ प्रतिशतसम्म सम्पन्न भइसकेको उनले बताए।