कोरोना भाइरस नेपालः झन्डै १५ सय सङ्क्रमित थपिए, आधा काठमाण्डू उपत्यकाका

भिडिओ क्याप्शन सुरु हुँदैछ,

रुघा, फ्लू र कोभिड-१९ का लक्षण कसरी छुट्याउने?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत २४ घण्टामा १,४९७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ। तीमध्ये आधा काठमाण्डू उपत्यकाका तीन जिल्लाका हुन्।

यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६९,००० नाघेको छ।

सो अवधिमा १७ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले बिहीवार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।

यो अहिलेसम्म एकै दिन मृत्यु पुष्टि भएको सर्वोच्च सङ्ख्या हो।

नेपालमा अहिलेसम्म ४५३ सङ्क्रमितको मृत्यु भएको छ भने निको हुनेको सङ्ख्या ५०,००० नाघेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ४५७ जना रोगमुक्त भएका छन्।

गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।

गत शुक्रवार एकै दिन २,०२० जनामा सङ्क्रमण पुष्टि भएको थियो। त्यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि थियो।

कहाँ छन् सङ्क्रमित?

अहिले देशभरि १८,४३७ जनामा सक्रिय सङ्क्रमण छ।

यसरी बढिरहेको छ कोरोनाभाइरस सङ्क्रमण. .  .

तीमध्ये ८,६१४ जना संस्थागत आइसोलेशनमा र ९,८२३ जना घरमै बसेको जानकारी मन्त्रालयले दिएको छ।

वाग्मती प्रदेशका जिल्लामा त्यसमा पनि काठमाण्डू उपत्यकामा हुने सङ्क्रमितको सङ्ख्या अन्यत्रभन्दा बढी छ।

अहिले उपत्यकामा ९,००० भन्दा बढी सक्रिय सङ्क्रमित छन्।

यो सङ्ख्या देशभरि भएका सङ्क्रमितको सङ्ख्याको आधाजति हो।

उपत्यकाका तीन जिल्लामा कोरोनाभाइरस सङ्क्रमण. असोज १४ गते अपराह्णसम्मको तथ्याङ्क.  .

को हुन् सङ्क्रमित?

अहिले पुष्टि भएका सङ्क्रमितमध्ये एकतिहाइभन्दा बढी अर्थात् ५१३ जना महिला र ९८४ जना पुरुष छन्।

काठमाण्डूमा सर्वाधिक ६०९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ गरी उपत्यकामा ७५५ जनामा कोभिड-१९ पुष्टि भएको हो।

त्यसैगरी मोरङमा ७३, बाँकेमा ५३, रूपन्देहीमा ८६ र कैलालीमा ४५ जनामा पनि कोरोनभाइरस भेटिएको छ।

अहिले कहाँ छन् सङ्क्रमित?. प्रदेशगत विवरण.  असोज ८ गते अपराह्णसम्मको तथ्याङ्कमा आधारित .

तीन जिल्लामा अहिलेसम्म १९,००० जनाभन्दा बढीमा सङ्क्रमण पुष्टि भएकोमा ९,९९९ जना निको भइसकेका छन्।

को हुन् मृतक?

मृतकहरू विभिन्न जिल्लाका हुन्।

उनीहरूको उमेर ३२ देखि ८४ वर्षसम्म भएको मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख गरिएको छ।

काठमाण्डू उपत्यकामा दुई महिला र चार पुरुष, धनुषामा दुई पुरुष अनि मोरङ, सुनसरी र धादिङमा एक-एक महिला तथा झापा, रौतहट, तनहुँ, दाङ, कपिलवस्तु र नवलपरासीमा एक-‍एक पुरुषको मृत्यु भएको हो।

अहिलेसम्म ०.६५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।

के छ अरू तथ्याङ्क?

बुधवार अपराह्णदेखि बिहीवारसम्म ११,४४९ वटा नमुनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन्।

तस्बिर स्रोत, EPA

उनका अनुसार अहिलेसम्म नेपालमा ५०,४११ जना सङ्क्रमित निको भइसकेका छन्।

यो सङ्क्रमितको कुल सङ्ख्याको ७२.७ प्रतिशत हो।

गम्भीर लक्षण भएका बिरामीमध्ये २३२ जना सघन उपचारमा र २८ जना भेन्टिलेटरमा छन्।

अहिले देशभरि ६,५६५ जना क्वारन्टीनमा छन्।

अहिलेसम्म ५०,००० जनाभन्दा बढी सङ्क्रमित रोगमुक्त. प्रदेशगत विवरण.  .

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ,

ट्राफिक प्रहरी भन्छ 'हामी एक्लैले अनुगमन सम्भव छैन'