कोरोना भाइरस नेपाल: कोभिड-१९ भएका ६१ वर्षदेखि माथिका मानिसमा उच्च मृत्युदर, यसको अर्थ के हो

  • प्रदीप बस्याल
  • बीबीसी न्यूज नेपाली
शव

तस्बिर स्रोत, EPA

नेपालमा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुने मानिसको सङ्ख्या ५०० को हाराहारीमा पुगेको छ। तीमध्ये ६१ वर्षमाथिका मानिसको सङ्ख्या झन्डै आधा भएको तथ्याङ्कले देखाउँछ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित रूपमा सार्वजनिक गर्ने विवरण केलाउँदा कोभिड-१९ सँग सम्बन्धित कारणले बुधवार अपराह्णसम्म मृत्यु पुष्टि भएका ४९८ मध्ये २४० जना ६१ वर्ष वा त्योभन्दा माथिको उमेर समूहका भएको देखिन्छ।

तर कुल सङ्क्रमितमध्ये ६१ वर्षदेखि माथिका मानिसको सङ्ख्या ६.२ प्रतिशत छ।

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले "खतरनाक अवस्था देखिएकोले धेरै सतर्क हुनुपर्ने स्थिति" देखिएको बीबीसीलाई बताएका छन्।

“जेष्ठ उमेर समूहमा हुने मान्यजनबाट टीका थापिने दशैँका लागि यो एउटा चेतावनी हो,” उनले भने।

जोखिममा परेका उमेर समूहमा अहिलेसम्म कति जना सङ्क्रमित?. .  असोज १४ गते अपराह्णसम्मको तथ्याङ्क .

के छ तथ्याङ्क?

देशभरि पुष्टि भएका ७७,८१७ सङ्क्रमितमध्ये अहिलेसम्म ०.६५ प्रतिशतको मृत्यु भएको छ।

तर ६१ वर्ष र त्यसमाथिका सङ्क्रमितमा मृत्युदर उच्च देखिएको छ। अहिलेसम्म सो वर्गमा ४.९२ प्रतिशत सङ्क्रमितको मृत्यु भएको देखिन्छ।

अहिलेसम्म कोभिड-१९ का कारण वाग्मती प्रदेश विशेषगरी काठमाण्डू उपत्यकाका तीन जिल्ला सर्वाधिक प्रभावित भएका छन्।

वाग्मतीका १८७ मृतकमध्ये ११४ जना ६१ वर्ष वा त्योभन्दा माथिका छन्।

त्यसपछि प्रभावित प्रदेश नं २ मा अहिलेसम्म १३३ जनाले ज्यान गुमाएकोमा ६० जना सो उमेर समूहका छन्।

प्रदेश नं ५ का ७६ मृतकमध्ये २९ जना उक्त उमेर समूहका छन्।

उपत्यकाका तीन जिल्लामा कोरोनाभाइरस सङ्क्रमण. असोज १४ गते अपराह्णसम्मको तथ्याङ्क.  .

उच्च मृत्युदरको अर्थ के हो?

कोरोनभाइरस सबै उमेर समूहमा घातक हुनसक्ने भए पनि बुढ्यौलीसँगै देखा पर्ने शारीरिक तथा स्वास्थ्य समस्या र विभिन्न दीर्घरोगका कारण जेष्ठ नागरिकहरू सबैभन्दा जोखिमयुक्त वर्गमा पर्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ।

नेपालमा महामारीको प्रारम्भिक चरणदेखि नै १ देखि २ प्रतिशतबीचमा ६१ वर्ष र माथिका सङ्क्रमितहरूले ज्यान गुमाएको देखिएको थियो।

तस्बिर स्रोत, RSS

कोरोनाभाइरसबारे थुप्रै महत्त्वपूर्ण अध्ययन गरिराखेको अमेरिकाको मिनिसोटास्थित एउटा मेडिकल अध्ययन संस्थान तथा अस्पताल मेयो क्लिनिकमा कार्यरत भाइरोलजिस्ट डा. सुदीप खड्काका अनुसार पाँच प्रतिशत हाराहारीमा मृत्युदर पुग्नुले सङ्क्रमणको विविध पक्षबारे सङ्केत गर्छ।

कुन प्रदेशमा कति सङ्क्रमितको मृत्यु?. असोज १४ गते अपराह्णसम्मको विवरण.  .

“देशभित्रै र बाहिर मुख्य श्रमशक्तिका रूपमा रहने युवा र पुरुषमा भाइरस धेरै देखिनु सुरुको अवस्थामा स्वाभाविक थियो। अहिले घरमै आराम वा सेवानिवृत्त जीवन व्यतीत गर्नेहरूमा त्यो फैलिएको छ,” डा. खड्का भन्छन्।

“अन्य उमेर समूहमा पुरुषहरू धेरै सङ्क्रमित भए पनि घरमै बस्ने खासगरी ६० वर्षमाथिका व्यक्तिमा महिला र पुरुष दुवैमा बराबरजसो यो सङ्क्रमण देखिएको छ। त्यसैले महिला पुरूषमा भाइरसको व्यवहार फरक छ भनेर सोच्नु गलत छ। त्यो हाम्रो सामाजिक संरचनाको असर मात्र देखिएको हो।”

विज्ञहरूका भनाइमा विश्वको क्रम हेर्दा ५० वर्ष उमेर समूहमा यसको मृत्युदर धेरै सङ्क्रमण भएका देशमा समेत ०.५ प्रतिशभन्दा कम हुनेगर्छ।

भाइरोलजिस्ट खड्का भन्छन्: “त्यसैले हामीले हेर्नुपर्ने जोखिमयुक्त समूहलाई हो। र त्यहाँ हेर्दा नेपालको भाइरस जोडिएको मृत्युदर धेरै नै हो।”

काठमाण्डूबाहेक धेरै सक्रिय सङ्क्रमित भएका १० जिल्ला. असोज १४ गते अपराह्णसम्मको तथ्याङ्क.  अहिले काठमाण्डू जिल्लामा मात्रै  ९,६०० भन्दा बढी सङ्क्रमित छन्.

जनस्वास्थ्यसँग के सम्बन्ध छ?

कुल सङ्क्रमितमध्ये पाको उमेरका मानिसको सङ्ख्या ६.२७ प्रतिशत मात्र छ। तर त्यसको तुलनामा मृत्युदर धेरै छ।

एकसट्ठी वर्षमाथिका मानिसमा सङ्क्रमण बढ्दै जानुलाई समुदाय र घरघरमा कोरोनाभाइरस पुगेको सङ्केतका रूपमा लिएर अध्ययन र मापदण्डहरू बनाउनुपर्ने जनस्वास्थ्यविद्हरूको मत छ।

भाइरोलजिस्ट सुदीप खड्का भन्छन्: “युवा जनसङ्ख्या धेरै भएको नेपालमा वृद्धवृद्धामा जनसङ्ख्याको अनुपातमा बढी सङ्क्रमण हुन थाल्नु अर्को अस्वाभाविक लहरको सङ्केत पनि हो।”

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी भन्छन्: “दशैँमा यो पटक जेष्ठ नागरिकमा कोरोनाभाइरस कोसेली बोकेर नजाऔँ भन्नेगरी सबैले जनचेतना फैलाउन आवश्यक छ।”

भिडिओ क्याप्शन सुरु हुँदैछ,

के परिवर्तनले कोरोनाभाइरसलाई झन् घातक बनाउँछ?