कोरोना भाइरस नेपालः थपिए १९ सय सङ्क्रमित, मृतकको कुल सङ्ख्या ५०० नाघ्यो

स्वाब

तस्बिर स्रोत, Reuters

नेपालमा विगत २४ घण्टामा १,९११ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ। तीमध्ये ९४३ जना काठमाण्डू उपत्यकाका तीन जिल्लाका हुन्।

यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ७९,७०० नाघेको छ।

सो अवधिमा ११ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले बिहीवार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।

योसहित नेपालमा अहिलेसम्म ५०९ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।

निको हुने सङ्क्रमितको सङ्ख्या ५७,००० नाघेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ९६१ जना रोगमुक्त भएका छन्।

गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।

बुधवार मन्त्रालयले १,५५९ सङ्क्रमित फेला परेको र सात जनाको मृत्यु भएको जनाएको थियो।

गत असोज २ गते एकै दिन २,०२० जनामा सङ्क्रमण पुष्टि भएको थियो।

त्यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि थियो।

काठमाण्डू उपत्यकामा कोरोनाभाइरसको प्रभाव. सङ्क्रमितको कुल सङ्ख्या २५,००० नाघ्यो.  असोज १५ गते अपराह्णसम्मको तथ्याङ्क.

अहिले देशभरि २१,८३० जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये ११,०६९ जना घरमै र अरू १०,७६१ जना संस्थागत आइसोलेशनमा छन्।

मन्त्रालयले देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या २५,००० नाघे फेरि लकडाउन लगाउन सकिने सङ्केत यसअघि दिइसकेको छ।

वाग्मती प्रदेशका जिल्लामा त्यसमा पनि काठमाण्डू उपत्यकामा हुने सङ्क्रमितको सङ्ख्या अन्यत्रको भन्दा बढी छ।

उपत्यकाबाहिर कहाँ छन् धेरै सक्रिय सङ्क्रमित? . ३०० भन्दा बढी सङ्क्रमित भएका १० जिल्ला.  असोज १५ गते अपराह्णसम्मको तथ्याङ्क.

काठमाण्डूमा १०,३३९ जनासहित उपत्यकामा अहिले १२,५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन्।

यो देशभरि भएका सङ्क्रमितको सङ्ख्याको आधाभन्दा बढी हो।

के छ तथ्याङ्क?

विगत २४ घण्टामा १२,४४४ वटा नमुनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

अहिलेसम्म नेपालमा ५७,३८९ जना सङ्क्रमित निको भइसकेका छन्।

यो सङ्क्रमितको कुल सङ्ख्याको ७१.९ प्रतिशत हो।

गम्भीर लक्षण भएका २२० सङ्क्रमित सघन उपचारमा र २५ जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ।

यसरी बढिरहेको छ कोरोनाभाइरस सङ्क्रमण. असोज १५  गते अपराह्णसम्मको तथ्याङ्क .  .

को हुन् सङ्क्रमित?

मन्त्रालयका अनुसार अहिले काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित फेला परेका छन्।

काठमाण्डूमा ८१७, भक्तपुरमा ५८ र ललितपुरमा ६८ गरी ९४३ जनामा कोभिड-१९ पुष्टि भएको हो।

त्यसैगरी मोरङमा १०५, सुनसरीमा ६६, चितवनमा ८६, बाँकेमा ३०, रूपन्देहीमा ९१, जुम्लामा ३७ र कैलालीमा १६१ सङ्क्रमित थपिएका छन्।

अहिले कहाँ छन् सङ्क्रमित?. प्रदेशगत विवरण.  असोज १५  गते अपराह्णसम्मको तथ्याङ्कमा आधारित .

काठमाण्डू उपत्यकामा सङ्क्रमितको सङ्ख्या २५,००० नाघेको छ। यो कुल सङ्ख्याको ३१ प्रतिशत हो।

को हुन् मृतक?

अहिले मृत्यु हुने ११ जनामध्ये एक महिला र १० पुरुष छन्। उनीहरूको उमेर २७ देखि ८० वर्षसम्म भएको मन्त्रालयले जनाएको छ।

काठमाण्डू उपत्यकामा चार जना, सुनसरी र रूपन्देहीमा तीन-तीन जना र बाँकेमा एक जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको हो।

नेपालमा कुल सङ्क्रमितमध्ये ०.६५ प्रतिशत मृत्यु भएको छ।

काठमाण्डूमा १०० जनासहित उपत्यकामा १४४ सङ्क्रमितको मृत्यु भएको छ। यो मृतकको कुल सङ्ख्याको २८ प्रतिशत हो।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ,

कमसल स्यानिटाइजरको बिगबिगी, 'होसियार नभए ज्यान पनि जान सक्छ'