कोरोना भाइरस नेपाल: १०० वर्ष नाघेका सङ्क्रमितको अनुभव, 'पहिला पनि महामारी देखेकै थियौँ, अहिले डर लागेन'

गणेशमाया प्रजापति र शुकदेव दास

तस्बिर स्रोत, UPENDRA LAMICHHANE/BHARAT SIMKHADA

सरकारले ६० वर्ष उमेर नाघेका मानिसहरू कोरोनाभाइरसको उच्च जोखिममा रहने भन्दै उनीहरूलाई सङ्क्रमणबाट जोगाउनुपर्ने बताउँदै आएको छ।

पछिल्लो तथ्याङ्क हेर्ने हो भने मृत्यु हुनेको कुल सङ्ख्यामध्ये आधाभन्दा बढी ६१ वर्षमाथिका सङ्क्रमितहरू छन्।

तर उमेरका कारण उच्च जोखिममा रहेर पनि कोरोनाभाइरस भएका केही वृद्धवृद्धालाई निको भएको देखिन्छ।

तीमध्येकी एक भक्तपुरकी १०१ वर्षीया गणेशमाया प्रजापति कोरोनाभाइरस भए पनि अस्पतालको उपचारबिना नै निको भइन्।

देउता देख्न नपाएको गुनासो

उनका छोरा इन्द्रबहादुर प्रजापतिका अनुसार गणेशमायालाई कोरोनाभाइरसको सङ्क्रमण थाहा भएपछि सामान्य रुघाखोकी मात्रै लाग्यो र घरमै बसेर सामान्य औषधि खाएपछि निको भयो।

"एक दिन ग्यास्टिकले गाह्रो भयो भनेपछि अरू बेला खाने गरेकै औषधि खुवायौँ। अरू त केही पनि भएन," प्रजापतिले भने।

प्रजापति आफैँ पनि सङ्क्रमित भए। परिवारमा आमा, दिदी, आफू र छोरा गरी चार जना सङ्क्रमित हुँदा आमाले नै सान्त्वना दिएको पनि उनले बताए।

"पहिला म आफैँलाई बिफर भएर पनि निको भयो। हैजा पनि देखेँ। भूकम्पहरू पनि देखेँ कोरोनाभाइरस लाग्दैमा डराउन पर्दैन भन्नुहुन्थ्यो," प्रजापतिले भने।

प्रजापतिका अनुसार उनकी आमाको दैनिकी र खानपानका कारण कोरोनाभाइरसले धेरै गाह्रो नभएको हुनसक्छ।

उनले भने, "आमा जे भए पनि आत्तिनुहुन्न। लकडाउन अघिसम्म घरनजिकैको मन्दिर र विहार सधैँ आफैँ जानुहुन्थ्यो। कोरोनाभाइरस लागेका बेला 'मन्दिर जान पाइनँ, देउता देख्न पाइनँ, तिमीहरूलाई देख्न पाइनँ' भन्नुहुन्थ्यो।"

तस्बिर स्रोत, UPENDRA LAMICHHANE

भारतको बिहार राज्यस्थित पूर्णिया जिल्ला स्थायी घर भई झापाको दमकमा बस्दै आएका १०६ वर्षीय शुकदेव दास पनि कोरोनाभाइरसमुक्त भएका छन्।

सन् १९१४ ज्यानुअरी महिनाको १८ तारिख आफ्नो जन्म मिति रहेको बताउने दास एक वर्षदेखि दमक महानगरपालिका-९ स्थित भरत सिम्खडाको घरमा बस्दै आएका छन्। सिम्खडा परिवारले झन्डै एक दशकदेखि दासलाई गुरु मान्छन्।

"कोरोनाभाइरस देखिनु ७/८ दिन अघि चाहिँ जिउ दुखेको थियो। खोकी पनि लागेको थियो," दासले बीबीसीसँग टेलिफोन कुराकानीमा भने, "तर जब कोभिड लागेको छ भन्ने भयो। त्यतिबेला र त्यसपछि मलाई केही पनि गाह्रो भएन।"

सिम्खडा परिवारको एक सदस्यलाई भदौको दोस्रो साता कोरोनाभाइरस देखिएपछि दाससहित सबैको कोरोनाभाइरसको पीसीआर परीक्षण गरिएको थियो।

भदौ २० गते कोरोनाभाइरस पुष्टि भएका दासलाई १४ दिनपछि दुई पटक परीक्षण गर्दा दुवै पटक नेगटिभ आएपछि उनी कोरोनाभाइरसमुक्त भइसकेका छन्।

तस्बिर स्रोत, BHARAT SIMKHADA

'उल्टै हामीलाई आत्तिन हुँदैन भन्नुहुन्थ्यो'

दमक नगरपालिकाले उनको उमेरको ख्याल गर्दै केही परे अस्पताल ल्याउन सिम्खडा परिवारलाई भनेको थियो। तर उनलाई भाइरस पुष्टि भइसकेपछि कुनै खालको अप्ठ्यारो नभएकोले घरमै क्वारन्टीनमा राखिएको भरत सिम्खडाले बताए।

"केही परे अस्पताल ल्याइहाल्न उपमेयरले भन्नुभएको थियो तर अरू बेलाजस्तै दैनिक ध्यान, खानपिन गर्न सक्नु भएकोले हामीले अस्पताल पनि लगेनौँ," सिम्खडाले भने।

दाससहित सातसदस्यीय सिम्खडा परिवारमा पाँच जना सङ्क्रमित भएपछि सबैको आत्मबल बढाउने काम दासले नै गर्ने गरेको सिम्खडा बताउँछन्।

"भूकम्प, बाढी, हैजालगायतका प्राकृतिक प्रकोप र महामारी मैले पहिला पनि देखिसकेको छु। यस्तो बेला केही हुँदैन भनेर मनोबल उच्च राख्नुपर्छ, तनाव लिन हुँदैन भनेर उहाँले नै हामीलाई सम्झाउनुहुन्थ्यो," सिम्खडा भन्छन्।

दास स्वयम् आफ्नो आहार, विहार, ध्यान र सकारात्मक सोचले रोग लागे पनि गाह्रो नभएको र सजिलै निको भएको बताउँछन्।

"चार दशकदेखि म निरन्तर ध्यान, पूजापाठ गर्छु। खानपान पनि शाकाहारी खान्छु। तनाव लिन्नँ। त्यसैले रोग लागे पनि गाह्रो नभएको होला," दासले भने।

रोग लागेपछि फेरिएको दैनिकी

कोरोनाभाइरस देखिएपछि प्रजापति र दास बस्दै आएको सिम्खडा परिवारले खानपानमा बढी ध्यान दिएको बताएका छन्।

परिवारमा सातमध्ये पाँच जनालाई सङ्क्रमण देखिएपछि दैनिक रूपमा पोषिलो खानेकुरा र तातो पानी नियमित र अन्य समयभन्दा बढी खाने गरेको उनीहरू बताउँछन्।

"हिजोआज त दिनका दिन गुर्जो, अदुवा र बेसार पानी खान्छौं। त्यसबाहेक गुरुसहित परिवारमा सबैजना शाकाहारी भएकोले गेडागुडीको रस पनि नियमित खाने गरेका छौं," सिम्खडाले भने।

प्रजापति पनि रोग प्रतिरोधात्मक क्षमता बढोस् भनेर पहिलाभन्दा खानपानमा बढी ध्यान दिने गरेको बताउँछन्।

उनले भने, "आमालाई पनि रुघाखोकीको समस्या नहोस् भनेर अदुवा, बेसार अनि गुर्जो पानी दिने गरेका छौँ।"

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ,

बुढेस कालको कमाइ