कोरोना भाइरस नेपालः थप ४३ सय जना सङ्क्रमित, अब लकडाउन होला कि नहोला

भिडिओ क्याप्शन सुरु हुँदैछ,

वास्तवमा कोरोनाभाइरस के हो?

नेपालमा थप ४,३६४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ। यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।

अहिले फेला परेका सङ्क्रमितमध्ये २,५०० जनाभन्दा बढी काठमाण्डू उपत्यकाका हुन्।

योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ९८,६०० नाघेको छ।

विगत २४ घण्टामा १२ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।

नेपालमा अहिलेसम्म ५९० सङ्क्रमितको मृत्यु भएको देखिन्छ। निको हुने सङ्क्रमितको सङ्ख्या ७१,००० नाघेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २,६७५ जना रोगमुक्त भएका छन्।

गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।

बुधवार मन्त्रालयले ३,४३९ सङ्क्रमित फेला परेको र १५ जनाको मृत्यु भएको बताएको थियो।

पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या झन्डै एक लाख पुग्दा नेपाल विश्वभरि अतिप्रभावित देशहरूको सूचीमा ४२औँ स्थानमा उक्लेको जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको तथ्याङ्कले देखाउँछ।

कति छन् सक्रिय सङ्क्रमित?

अहिले देशभरि २६,६८४ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये १४,९६७ जना घरमा र बाँकी ११,७१७ जना संस्थागत आइसोलेशनमा छन्।

वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको कुल सङ्ख्या अन्यत्रको भन्दा बढी छ। तीमध्ये अधिकांश काठमाण्डू उपत्यकाका हुन्।

अहिले काठमाण्डू उपत्यकामा १५,५८३ सक्रिय सङ्क्रमित छन्। यो देशभरि भएका सङ्क्रमितको ५८ प्रतिशत हो।

  • काठमाण्डूः १२,४४१
  • ललितपुरः २,०१६
  • भक्तपुरः १,१२६
यी जिल्लामा थपिए ५० भन्दा बढी सङ्क्रमित. नेपालमा कोरोनाभाइरस.  .

फेरि होला त लकडाउन?

मन्त्रालयले यसअघि देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या २५,००० पुगे लकडाउन लगाउन सकिने सङ्केत गरेको थियो। के अब लडकाउन लाग्छ त?

मन्त्रालयको दैनिक प्रेस ब्रीफिङअघि बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता गौतमले त्यसबारे अध्ययन भइरहेको र निर्णय हुन बाँकी भएको जनाए।

"अध्ययन गर्दैछौँ, शय्या उपलब्ध हुन्जेल हामी लकडाउन गर्दैनौँ। शय्या बढाइरहेका छौँ, अस्पताल पनि थपिरहेका छौँ," उनले भने, "के गर्ने भन्ने हामी हेर्दैछौँ हामीले निर्णय गरिसकेका छैनौँ।"

देशभरि लकडाउन गर्ने योजना नभएको बरु कुनैकुनै जिल्लामा गर्नुपर्ने अवस्था आउन सक्ने उनको ठम्याइ छ।

लकडाउनले "बिरामी सन्चो नहुने" तर त्यसबाट बिरामीको सङ्ख्या भने केही कम हुने उनको तर्क छ।

"दुई हप्तामा बिरामी सन्चो हुन्छन् अनि नयाँ बिरामी राख्न सकिन्छ भनेर त्यसो गर्ने हो।"

यसरी बढिरहेको छ कोरोनाभाइरस सङ्क्रमण. .  .

के छ अरू तथ्याङ्क?

विगत २४ घण्टामा १८४७३ वटा नमुनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

अहिलेसम्म नेपालमा ७१,३४३ जना सङ्क्रमित निको भइसकेका छन्।

यो सङ्क्रमितको कुल सङ्ख्याको ७२.३ प्रतिशत हो।

गम्भीर लक्षण भएका २३५ सङ्क्रमित सघन उपचारमा र ४२ जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

कस्ता गतिविधि सुरक्षित, कस्ता जोखिमपूर्ण

को हुन् सङ्क्रमित?

अहिले विभिन्न ६८ जिल्लामा सङ्क्रमित फेला परेका हुन्।

तीमध्ये काठमाण्डूमा २,०८५ जना, ललितपुरमा ३२० जना र भक्तपुरमा १३५ जना गरी उपत्यकामा सर्वाधिक २,५४० जना छन्।

उपत्यकामा एक साताभित्र १०,००० भन्दा बढी सङ्क्रमित थपिएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

त्यसैगरी झापामा ५५, मोरङमा २४९, सुनसरीमा २१४, मकवानपुरमा १०५, चितवनमा ६९, धादिङमा ७१, दाङमा ५५, बाँकेमा ४६, रूपन्देहीमा १९९, सुर्खेतमा १०६ र कैलालीमा ७५ जना छन्।

सङ्क्रमितमध्ये १,५६१ जना महिला र २,८०३ जना पुरुष छन्।

को हुन् मृतक?

विगत २४ घण्टामा कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएका सङ्क्रमितमध्ये चार महिला र आठ पुरुष छन्।

मन्त्रालयका अनुसार उनीहरू सुनसरी, धनुषा, काठमाण्डू उपत्यकाका तीनै जिल्ला, चितवन, कास्की र सुर्खेतका हुन्।

तीमध्ये एक जना ३९ वर्ष, एक जना ५८ वर्ष र ११ जना ७० देखि ९२ वर्षसम्मका सङ्क्रमित हुन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्