अमेरिका राष्ट्रपति शपथः ह्वाइट हाउस छोडेपछि डोनल्ड ट्रम्पले भने, 'हामी फर्किनेछौँ'

ट्रम्प

तस्बिर स्रोत, EPA

राष्ट्रपतिको रूपमा ह्वाइट हाउसबाट अन्तिम पटक बाहिरिएलगत्तै डोनल्ड ट्रम्पले आफू 'कुनै न कुनै रूपमा फर्कने' बताएका छन्।

फ्लोरिडातर्फ प्रस्थान गर्नुअघि उनले समर्थकहरूलाई 'उनीहरूको राष्ट्रपति हुन पाएकोमा ठूलो गौरव भएको' बताएका थिए।

आफ्नो उत्तराधिकारीको शपथ ग्रहण समारोहमा अनुपस्थित हुने उनी सन् १८६९ यता कै पहिलो अमेरिकी राष्ट्रपति हुन्।

तर जाँदाजाँदै उनले भने:"नयाँ प्रशासनलाई धेरै शुभकामना अनि ठूलो सफलताको कामना गर्छु।"

के भने ट्रम्पले?

ट्रम्प तथा उनकी पत्नी मेलानिया ह्वाइट हाउसबाट फ्लोरिडा जाने क्रममा म्यारील्यान्डस्थित जोइन्ट बेस एन्ड्र्युज पुगेका थिए र त्यहाँ उनले राष्ट्रपतिको रूपमा आफ्नो अन्तिम सम्बोधन गरेका थिए।

उनले आफ्नो कार्यकालमा भएका 'गजबका उपलब्धिहरू'बारे चर्चा गर्दै रोजगारी सिर्जना, अन्तरिक्ष फौज (स्पेस फोर्स) को स्थापना, कर प्रणाली, तथा द्रुत गतिमा कोभिड खोप विकासको उल्लेख गरे।

उनले मानिसहरूलाई कोरोनाभाइरसको 'डरलाग्दो' महामारीबाट जोगिन 'अत्यन्त सतर्क' हुन पनि आह्वान गरे।

उनले भने: "तपाइँहरूको राष्ट्रपति बन्न पाउनु ठूलो सम्मान र सौभाग्य रह्यो… म सधैँ तपाईँहरूका निम्ति लडिरहनेछु। म हेरिरहनेछु। म सुनिरहनेछु।"

उनले नयाँ प्रशासनलाई सफलताको कामना गरे पनि जो बाइडनको नाम उच्चारण गरेनन्।

तस्बिर स्रोत, Reuters

उनले भने, "हामी कुनै न कुनै रूपमा फर्किनेछौँ। छिट्टै भेट्नेछौँ।"

त्यसपछि उनी फ्लोरिडाको पाम बीचस्थित मार-आ-लागो गल्फ क्लबतर्फ लागे जहाँ उनले अबका दिनहरू बिताउने बताइएको छ।

'ट्रम्प नै मेरा राष्ट्रपति'

वाशिङ्टनमा जो बाइडनको शपथ ग्रहण समारोह सुरु हुँदै गर्दा ट्रम्प फ्लोरिडा पुगेका थिए।

त्यहाँ उनलाई समर्थकहरूको भिडले स्वागत गरेको थियो।

ती समर्थकहरू सडक छेउ भेला भएका थिए र उनीहरूले विभिन्न प्लेकार्डहरू बोकेका थिए।

'ट्रम्प नै मेरा राष्ट्रपति' अनि 'ट्रम्पले जितेका थिए' लेखिएका ब्यानरहरू उनीहरूले प्रदर्शन गरेका थिए।

कार्यकाल सकिने अन्तिम ३० मिनेट जति उनले मार-आ-लागोमा बिताए।

अब उनी एक पूर्वराष्ट्रपति हुन्। अहिले उनको सामु महाभियोगसम्बन्धी सिनेटको सुनुवाइको चुनौती टड्कारो छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

अमेरिका: पूर्वराष्ट्रपतिले के के पाउँछन्