अमेरिका राष्ट्रपति शपथः डोनल्ड ट्रम्प बाहिरिए, जो बाइडनको कार्यकालको स्वागत

trump

तस्बिर स्रोत, Reuters

राष्ट्रपति डोनल्ड ट्रम्पको विरासतलाई उल्टाउन चाहिरहेका जो बाइडनले कार्यभार सम्हाल्नासाथ थुप्रै कार्यकारी आदेश जारी गर्ने उनको टोलीले जनाएको छ।

बाइडनले पदभार सम्हालेपछि अमेरिका जलवायु परिवर्तनसम्बन्धी प्यारिस सम्झौतामा पुनः फर्किनेछ भने बाइडनले मेक्सिकोसँग जोडिएको सीमामा पर्खाल लगाउने काम रोक्नेछन्।

युरोपेली सङ्घले अमेरिकामा जो बाइडनले सुरु गर्न लागेको कार्यकालको स्वागत गरेको छ।

युरोपेली आयोगकी प्रमुख उर्जुला फोनडेयर लायनले त्यसलाई लामो समयदेखि प्रतीक्षा गरिएको नयाँ बिहानी भनेकी छन्।

उनले भनिन्, "माननीय सदस्यहरू! यो दिनले एउटा सुखद समाचार ल्याएको छ। संयुक्त राज्य अमेरिका पहिलाको अवस्थामा फर्केको छ र हाम्रो पुरानो एवम्‌ विश्वासिलो साझेदारसँग फेरि जोडिनका लागि युरोपेली सङ्घ तम्तयार छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ,

जो बाइडन: को हुन् अमेरिकाको नयाँ राष्ट्रपति

साझेदारी

युरोपेली आयोगकी प्रमुखले कोरोनाभाइरसमहामारीविरुद्ध लड्न वैश्विक साझेदारी आवश्यक रहेकोमा जोड दिँदै जलवायु परिवर्तनसँग जुझ्नका निम्ति गरिएको प्यारिस सम्झौतामा फर्कने बाइडनको निर्णयको प्रशंसा गरिन्।

बाइडनले पदभार सम्हाल्न लागेको खबरले ठूलो राहतको अनुभूति गरेको जर्मन राष्ट्रपतिले प्रतिक्रिया दिएका छन्।

कार्यभार सकिन लागेका राष्ट्रपति डोनल्ड ट्रम्प प्रथम महिला मेलानियासँगै ह्वाइट हाउसबाट केहीबेरअघि बाहिरिएका छन्।

राष्ट्रपतिको हेलिकप्टरबाट एन्ड्र्युज एअर फोर्स बेस पुर्‍याइएका ट्रम्पले त्यहाँ सङ्क्षिप्त सम्बोधन गरे।

त्यसक्रममा उनले आफ्नो कार्यकालमा भएका कामहरूको प्रशंसा गरे।

त्यसमा ट्रम्पले सैन्य क्षेत्रमा गरिएका कामदेखि रोजगारी सिर्जना, कर कटौती र कोरोनाभाइरस महामारीसँग जुझ्न चालिएका कदमसम्मको फेहरिस्त सुनाए।

सम्बोधन

सम्बोधनका क्रममा उनले नयाँ प्रशासनलाई शुभकामना दिए पनि राष्ट्रपति निर्वाचित बाइडनको नाम चाहिँ उल्लेख गरेनन्।

उनले अझैसम्म हार स्वीकारेका छैनन् र सन् १८६९ यता आफ्ना उत्तराधिकारीले पदभार सम्हाल्ने कार्यक्रममा अनुपस्थित हुने पहिलो अमेरिकी राष्ट्रपति हुनेछन्।

कुनै न कुनै रूपमा आफू पुनः फर्कने ट्रम्पले बताए।

त्यहाँबाट उनी श्रीमतीसहित फ्लोरिडास्थित आफ्नो निजी क्लब जानेछन्।

आफ्नो कार्यकाल सकिनुभन्दा केही घण्टाअगाडि ट्रम्पले करिब १४० जनालाई क्षमादान दिएका छन् अथवा उनीहरूले पाएको सजायमा कटौती गरेका छन्।

तीमध्ये धेरैजना उनका समर्थक रहेको विवरणमा जनाइएको छ। त्यसमा उनका पूर्वप्रमुख रणनीतिकार स्टीभ बेनन छन्।

बेननमाथि मेक्सिकोसँग सीमामा पर्खाल लगाउने अभियानका लागि गरिएको रकम सङ्कलनमा हिनाहिना गरेको आरोप छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

अमेरिका: पूर्वराष्ट्रपतिले के के पाउँछन्