मन्त्री थापा र विप्लवका नेताले जेलभित्र के सन्देश आदान-प्रदान गरे?

मन्त्री थापा

तस्बिर स्रोत, facebook/manithapa

खानेपानी मन्त्री मणि थापा र कारागारमा रहेका नेत्रविक्रम चन्द 'विप्लव' को दलका नेता हेमन्तप्रकाश ओलीबीच भएको भेटघाटले विभिन्न अडकलबाजी निम्त्याएको छ।

दुवै पक्षबीच वार्ताको सम्भावनाबारे चर्चा चलेका बेला सरकारले नै गतिविधि गर्न प्रतिबन्ध लगाएको दलका नेतासँग मन्त्रीले भेट गरेकाले पनि त्यसप्रति धेरैको चासो देखिएको हो।

मन्त्री थापाले आफू ललितपुरको नख्खुस्थित कारागारमा रहेको खानेपानी र सरसफाइको समस्याबारे स्थलगत अवलोकन गरिदिन जेलरले गरेको आग्रह अनुसार गएको र कुनै राजनीतिक उद्देश्य नरहेको बताए।

तर गएका बेला पुराना साथी समेत रहेका ओलीसँग मन्त्री थापाले उनकै भनाइमा पाँच मिनेट कुराकानी गरे।

वार्ताको आग्रह

त्यसक्रममा ओलीले सरकारलाई वार्ताको वातावरण बनाउन आग्रह गरेको थापाले सुनाए।

उनले भने, "उहाँले म भित्र छु सबै कुरा थाहा छैन, तर महासचिव विप्लव वार्ताविरोधी नरहेको पत्रपत्रिका र अन्तर्वार्ताबाट थाहा पाएको छु, वार्ताको वातावरण सरकारले बताउनु पर्छ भन्नुभयो।"

त्यसको निम्ति बन्दीहरूको रिहाइको माग विप्लवको दलले यसअघि राख्दै आएको थियो।

तस्बिर स्रोत, PRAKANDA/FACEBOOK

तस्बिरको क्याप्शन,

नेत्रविक्रम चन्द (फाइल तस्वीर)

एउटा जेलभित्रको समस्या बुझ्न मात्र मन्त्री थापा त्यहाँ गएका होलान्? त्यसमा कुनै राजनीतिक उद्देश्य वा सन्देश त होला नि?

'प्रधानमन्त्रीलाई भन्छु'

साथी पनि भएकाले आफूले ओलीलाई पनि भेटेको बताउँदै मन्त्री थापाले भने, "खासै राजनीतिक होइन, म त्यहाँभित्रको समस्या बुझ्नै गएको हुँ तर उहाँले त्यो सन्देश पठाउनु भयो भनौँ न।"

सरकार पनि वार्ता विरोधी नभएको तर कुनै निर्णय नभएको उल्लेख गर्दै आफूले ओलीको भनाइमा 'खासै प्रतिक्रिया' नजनाएको उनको भनाइ छ।

प्रधानमन्त्री ओलीसँग पनि विप्लवको दलसँग वार्ता गर्नेबारे कुनै कुरा भए नभएकोबारे उनले भने, "मैले उहाँसँग खासै कुरा गरेको छैन, उहाँको आग्रहमा पनि गएको होइन, तर यो कुरा मैले प्रधानमन्त्रीसँग राख्छु।"

सत्ताधारी नेकपामा आएको विभाजनपछि प्रधानमन्त्री ओलीले विप्लवको दलको गतिविधिमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न सक्ने चर्चाकामाझ दुई नेताबीच भेटघाट भएको हो।

मन्त्री थापा र विप्लव दुवै सशस्त्र द्वन्द्वका बेला नेकपा माओवादीमा सँगै थिए।