म्यान्मार कू: सेना सडकमा, इन्टरनेट सेवा अवरुद्ध

म्यान्मार

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन,

सैन्य कू पछि पहिलो पटक याङ्गुनमा बख्तरबन्द गाडीहरू सडकमा देखिएका छन्

म्यान्मारमा फेब्रुअरी १ तारिखमा सेनाले गरेको कू को विरोध गरिरहेकाहरू लक्षित कारबाही सुरु गरिन सक्ने सङ्केतहरू देखा परेका बेला उत्तरी क्षेत्रमा भएको प्रदर्शनका क्रममा स्वचालित हतियारबाट गोली चलेको सुनिएको छ।

सबैभन्दा ठूलो सहर याङ्गुनमा सैन्य अधिकारीहरू सडकमा उत्रेको विवरण आइरहेका बेला म्यान्मारस्थित पश्चिमा राष्ट्रहरूका दूतावासहरूले भने हिंसाको प्रयोग नगर्न आग्रह गरेका छन्।

स्थानीय समय अनुसार दिनको १ बजेदेखि त्यहाँ इन्टरनेट सेवा पूर्ण रूपमा बन्द गरिएको छ।

संयुक्त राष्ट्र सङ्घका एकजना अधिकारीले सेनाले जनताविरुद्ध "युद्धको घोषणा गरेको" आरोप लगाएका छन्।

म्यान्मारका लागि संयुक्त राष्ट्र सङ्घका विशेष प्रतिवेदक टम एन्ड्रीउजले सैन्य जनरलहरूले "हतोत्साहको सङ्केत" देखाइरहेको र उनीहरूलाई जबाफदेही बनाइने बताएका छन्।

युरोपेली संघ (इयू), अमेरिका र यूकेले हस्ताक्षर गरेको एउटा वक्तव्यमा भनिएको छ, "हामी सुरक्षा निकायहरूलाई वैध सरकार हटाइए विरुद्ध भइरहेको प्रदर्शनमा सहभागी भएकाहरू माथि हिंसा नगर्न आग्रह गर्छौँ।"

तस्बिर स्रोत, Getty Images

म्यान्मारमा भएको सैन्य कू ले नेत्री आङ सान सू चीले नेतृत्व गरेको सरकार अपदस्थ गरिदिएको थियो।

नेत्री सू चीको न्याश्नल लीग फर डेमोक्र्यासी (एनएलडी) ले ठूलो बहुमतका साथ जित हासिल गरेको थियो।

तर सेनाले भने चुनावमा धाँधली भएको बताउँदै आएको छ।

सू ची हाल आफ्नै निवासमा नजरबन्दमा छिन्। सयौँ अधिकारवादी र नेताहरूलाई पक्राउ गरिएको छ।

दमनका अन्य सङ्केत के छन्?

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन,

पानीको फोहराबाट जोगिन मङ्गलवारको प्रदर्शनमा मानिसहरूले प्लास्टिक ओढेका थिए

म्यान्मारमा सेनाविरुद्ध देशव्यापी रूपमा लगातार नवौँ दिन हजारौँ प्रदर्शनकारीहरूले विरोध कार्यक्रम गरेका छन्।

कचीन राज्यमा भएको प्रदर्शनमा सुरक्षा अधिकारी र प्रदर्शनकारीहरूबीच भएको झडपका क्रममा स्वचालित हतियार चलाइएको सुन्न सकिन्थ्यो।

त्यसक्रममा रबरको गोली चलाइएको हो वा गोली नै चलाइएको हो भन्ने कुरा भने प्रस्ट हुन सकेको छैन।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

म्यान्मारमा 'स्वतन्त्रताका लागि' आन्दोलन चर्किँदै

पाँचजना पत्रकारहरूलाई पक्राउ गरिएको छ।

सैन्य कू पछि पहिलो पटक याङ्गुनमा हतियार चलाउन सकिने गाडीहरू सडकमा देखिएका थिए।

दूरसञ्चार सेवा प्रदायकहरूका अनुसार उनीहरूलाई स्थानीय समय अनुसार आइतबार १ बजे देखि सोमवार ९ बजेसम्म इन्टरनेट सेवा बन्द गर्न निर्देशन दिइएको छ।

नेपिद्‌अस्थित एक चिकित्सकका अनुसार सुरक्षा अधिकारीहरूले रातको समयमा घरहरूमा छापा मारिरहेका छन्।