अफ्रिकामा तथ्याङ्क अभाव: मृतकको गणना नगर्दा चुकाउनुपरेको महँगो मूल्य

मृत्युदर्ता

तस्बिर स्रोत, AFP

बीबीसीले गरेको एउटा अनुसन्धानले ५० भन्दा बढी अफ्रिकी देशमध्ये आठवटा देशमा मात्र अनिवार्य मृत्युदर्ताको व्यवस्था रहेको पाएको छ।

त्यसो हुँदा व्यक्तिगत दु:खलाई पहिचान गर्न देश असफल बन्ने मात्र होइन, सरकारी नीति निर्माणमा पनि ठूलो प्रभाव पार्छ।

संयुक्त राष्ट्रसङ्घको विवरणअनुसार युरोपमा अल्बानिया र मोनाकोबाहेक सबै देश तथा एशियामा आधाभन्दा बढी देशमा मृत्युदर्ताको व्यवस्था छ।

तर अफ्रिकामा इजिप्ट, दक्षिण अफ्रिका, ट्युनिशिया, अल्जेरिया, केप भर्दे, साओ तोमे र प्रिन्सिपे, सेसेल्स र मोरिशसमा मात्र अनिवार्य पञ्जीकरण प्रणाली प्रभावकारी छ। त्यो प्रणालीलाई सङ्क्षिप्त रूपमा सीआरभीएस भनिन्छ।

तथापि अफ्रिकाका लागि संयुक्त राष्ट्रसङ्घको आर्थिक आयोग (यूएनईसीए) का अनुसन्धानकर्तासँग मिलेर बीबीसीले सर्वेक्षण गरेका सबै देशहरूमा कुनै न कुनै किसिमको मृत्युदर्ता गर्ने प्रचलन छ।

तर यो प्राय: कागजमा हुन्छ र वर्गीकरण गरेर डिजिटल रूपमा राखिएको पाइँदैन।

त्यो विवरण स्थानीय स्तरमा त प्रयोग होला तर राष्ट्रिय तहमा मृत्युदर तुलना गर्न प्रयोग गर्न सकिँदैन।

इबोला र अहिलेको कोभिड-१९ महामारीका कारण कहाँ, कसको र के कारणले निधन भइरहेको छ भन्ने यथार्थ विवरण हुनु स्रोत र बजेट वितरणका लागि एकदमै आवश्यक भएको छ।

मृत्यु हुनेहरूको विवरण नहुँदा मातृशिशु मृत्युदर पत्ता लगाउने कुरामा पनि प्रभाव पार्छ।

अदिस अबाबास्थित यूएनईसीएका जनसङ्ख्या प्रमुख विलीअम मुहवाभाका भनाइमा यो एउटा पहिचानको अधिकारको कुरा मात्र नभएर यसले केही शिक्षा लिइएको छैन भन्ने पनि सङ्केत गर्छ।

"बाँच्नका लागि सहायता गर्नका निम्ति पनि हामीले मृत्युको गणना गर्नु आवश्यक हुन्छ," यूएन जनसङ्ख्या कोषका जनसङ्ख्याविद् रोमेश सिल्भाले बीबीसीसँग भने।

तस्बिर स्रोत, AFP

उनका अनुसार गरिब र सामाजिक रूपमा पछाडि परेका मानिसहरू दर्तामा छुट्ने गरेका छन्।

त्यसले गर्दा सूचनाको अभाव हुन्छ र विभिन्न कारणहरूसँग सङ्घर्ष गर्न कहिलेकाहीँ आवश्यक कदमहरू चालिँदैन।

लगानी गर्दागर्दै पनि सीआरभीएस प्रणालीले काम गरिरहेको छैन र सरकारलाई सर्वेक्षणहरूमा भर पर्नु परिरहेको तर त्यस्ता सर्वेक्षणको नतिजा आउँदासम्म त्यो पुरानो भइसक्ने सीआरभीएस प्रणालीकी आइरिना दिन्चु बताउँछिन्।

कैयौँ देशहरूले यस्तो दर्ताको आवश्यकताबारे नबुझ्दा अफ्रिकामा कोरोनाभाइरसबाट भएको मृत्युको विवरण अन्य क्षेत्रको तुलनामा निकै कम देखिएको खबरहरू आएका थिए।

यद्यपि कतिपय महामारी नियन्त्रणमा विशेषज्ञता हासिल गरेकाहरूले केही देशहरूमा तुलनात्मक रूपमा युवा जनसङ्ख्या भएकाले पनि कोरोनाभाइरसको असर कम देखिएको बताएका थिए।

तर डेटा वैज्ञानिकहरूका अनुसार महामारी कम देखिनुमा मृत्यु गणना राम्ररी नहुनु मुख्य कारण हो।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

सङ्क्रामक रोग बढिरहेछ कि छैन भन्ने थाहा दिने 'आर' के हो

कोभिड-१९ मृत्युको गणना

अघिल्लो वर्षको सोही अवधिमा भएको वास्तविक मृत्युको आधारमा अपेक्षा गरिएको मृत्युलाई हेरर अतिरिक्त मृत्युको गणना गरिन्छ। तर यो पूर्ण रूपमा मृत्युदर्तामा निर्भर हुन्छ।

अतिरिक्त मृत्युको गणनाले कोरोनाभाइरसका कारणले कति जीवन गुम्यो भन्ने समग्र विवरण दिन्छ।

यसले महामारीका कारण उत्पन्न विभिन्न अप्रत्यक्ष कारणहरू जस्तै अस्पतालमा धेरै बिरामी भएका कारण उपचार नपाउनु, अस्पताल जान डराउनु र आर्थिक अभाव आदिबाट भएको मृत्युलाई पनि देखाउँछ।

वैज्ञानिक जर्नल लान्सिटले ११८ वटा न्यून र मध्यम आय भएका देशमा गरेको एउटा अध्ययनले कोभिड-१९ का कारण अवरुद्ध भएको स्वास्थ्य प्रणालीका कारण ११ लाख ५७ हजार थप शिशुको र ५६ हजार ७०० आमाको मृत्यु हुने अनुमान गरेको थियो।

दक्षिण अफ्रिका र इजिप्टमा प्रयोगयोग्य मृत्युदर्ता प्रणाली भएकाले त्यहाँ अतिरिक्त मृत्यु गणना गर्न सम्भव छ।

फेब्रुअरी सुरुसम्ममा दक्षिण अफ्रिकामा महामारी सुरु भएयता झन्डै एक लाख ३८ हजार अतिरिक्त मृत्यु भएको विवरण छ। त्यो भनेको कोभिड-१९ बाट ज्यान गुमाउनेको आधिकारिक विवरणभन्दा तीनगुना बढी हो।

त्यहाँ ४६ हजार २०० जनाको कोरोनाभाइरसका कारण निधन भएको विवरण छ र त्यसलाई मृत्युदर्ताले पनि पुष्टि गर्छ।

त्यसको अर्थ हो ९१ हजार ५०० मानिसले कि त उपचार हुन नसकेर वा महामारीको अप्रत्यक्ष कारणहरूले ज्यान गुमाए।

गत वर्ष जुलाईमा दक्षिण अफ्रिकामा सो अवधिका लागि अनुमानितभन्दा ५४ प्रतिशत बढी मानिसको मृत्यु भयो।

तर पहिलो लकडाउन लगाइएका बेला मृत्यु कम थियो। त्यसको कारण मदिरासम्बद्ध हिंसा र सडक दुर्घटना नहुनु रहेको ठानिएको छ।

इजिप्टको दर्ता प्रणालीका कारण त्यहाँ गत मेदेखि अगस्टसम्म ६८ हजार अतिरिक्त मृत्यु भएको देखिन्छ।

जुन महिनामा प्राय: त्यस अवधिमा हुने अनुमान गरिएकोभन्दा करिब दुईगुना मृत्युदर्ता भएको छ।

औसतमा आधिकारिक कोभिड-१९ कारण भएको मृत्यु अतिरिक्त मृत्युको १० प्रतिशत हाराहारी देखिएको छ।

तर उक्त महादेशका अधिकांश देशहरूमा यी देशहरूमा जस्तो विवरण राख्ने परिपाटी नहुँदा त्यसरी गणना गर्न सम्भव देखिन्न।

नाइजिरिया, इथियोपिया, डेमोक्र्याट्रिक रिपब्लिक अफ कङ्गो र क्यामरूनसहित १४ वटा देशहरूमा बढीमा १० मृत्युमध्ये एक मृत्यु मात्र दर्ता भएको छ।

सब-साहारा अफ्रिकाका आधाजति मात्र देशले हस्तलिखित रूपमा मृत्युको विवरण राख्ने गरेका छन्।

एरिट्रिया र बुरुन्डीजस्ता देशमा त मृत्युदर्ता गर्नुपर्ने र त्यसको विवरण लिनुपर्ने कुनै कानुनी आवश्यकता नै छैन।

एरिट्रियाले कोभिड-१९ का कारण केवल सात जनाको र बुरुन्डीले तीन जनाको मृत्यु भएको विवरण राखेका थिए।

तर गत वर्ष अप्रत्यासित रूपमा निधन भएका बुरुन्डीका पूर्वराष्ट्रपति पियरे कुरुन्जिजाको मृत्युको कारण भाइरस भएको अनुमान गरिएको थियो।

अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको नाइजिरियाले सन् २०१७ मा मात्र १० प्रतिशत मृत्युको दर्ता गरेको थियो।

एप्रिल २०२० को एउटा यूएन प्रतिवेदनले महामारीले यस्तो पञ्जीकरण प्रणालीलाई थप नराम्रो प्रभाव पार्ने उल्लेख गरेको थियो।

मृत्युदर्ता नभएकाले नै उक्त क्षेत्रमा प्रति १० लाख मानिसमा कोभिड-१९ का कारण भएको निधनको सङ्ख्या अन्यत्रको भन्दा कम देखिएको हुनसक्छ।

नाइजिरियाले कोभिडले प्रति दश लाखमा नौ जनाको निधन भएको विवरण राखेको छ। विश्वभरिको विवरणमा प्रति १० लाखमा ३०९ जनाको निधन भएको देखिन्छ।

दक्षिण अफ्रिकामा चाहिँ प्रति १० लाखमा ८०८ र ट्युनिशियामा ६३८ देखिन्छ।

यी दुवै देशमा प्रभावकारी दर्ता प्रणाली छ। दक्षिण अफ्रिकामा ९२ र ट्युनिशियामा ९५ प्रतिशत मृत्युदर्ता हुने गर्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

कस्ता गतिविधि सुरक्षित, कस्ता जोखिमपूर्ण

सुधारका लागि के गरिँदैछ?

धेरै देशहरूले तथ्याङ्कको खाडल पुर्ने प्रयास गरिरहेका छन्।

सेन्ट्रल अफ्रिकन रिपब्लिक (सीएआर) सीआरभीएसमा एकदमै कमजोर अवस्थामा रहेको छ। उक्त देशमा वर्षौँ युद्ध चलेको थियो र अहिले पनि जारी छ।

त्यहाँ सन् २०१७ मा भएका मृत्युमध्ये करिब दुई प्रतिशत मात्र दर्ता भएका थिए।

अर्थ, योजना र सहायता मन्त्रालयका तथ्याङ्क विभागका प्रमुख एल्भिस फ्राङ्क मात्कोसले बीबीसीलाई सरकारले सीआरभीएसलाई महत्त्व दिएको र त्यसले सुशासनलाई बढाउन सहयोग गर्ने बताए।

सेनेगल र रुवान्डाले एउटा अमेरिकी गैरनाफामूलक संस्थासँगको सहकार्यमा मृत्युदरलाई तुलना गर्ने कार्य गरिरहेका छन्।

तीबाहेक अन्य पाँच अफ्रिकी देशले पनि अफ्रिकन फील्ड एपिडीमीओलजी नेटवर्कसँग मिलेर त्यस्तै काम गरिरहेका छन्।

कतिपय देशहरूले सामुदायिक स्वास्थ्य कार्यकर्ताहरूलाई अस्पतालबाहिर हुने मृत्युको विवरण पनि सङ्कलन गर्न भनेका छन्।

केही देशहरूले मृत्युको विवरण लिन मोबाइल प्रविधि पनि प्रयोग गरिरहेका छन्।

तथ्याङ्क वैज्ञानिकहरू यी प्रविधिको प्रयोगले आगामी दशकभित्र धेरै देशहरू पूर्णरूपमा मृत्युदर्ता गर्न सक्षम हुने आशा व्यक्त गर्छन्।

क्रेडिट्स

डेटा जर्नलिस्ट: क्रिस्टिना श्वेडा

जर्नलिस्ट: केभ्या कार्दोसो

वरिष्ठ अनुसन्धान उत्पादक: लूईस आदामु

कार्यकारी निर्माता: ज्याकी मार्टिन्स र निक एरिक्सन

अनुसन्धानकर्ताहरू: म्याक्सिम कोआमी डोमेग्नी (सेनेगल), साइको जाबाइ सुवे (द गाम्बिया), बुबाकर डियालो (गुयाना), यसाइन मोहबेउथ (कोमोरोस), कार्लोस तोबिअस (टोगो), भिन्सेन्ट नाइबेडे (चाड), अल्ब्रेटो दाबो (गिनी बिसाऊ), सर्ज तोमोन्जी (बुर्किना फासो), क्रिस्पिन देम्बासे (सेन्ट्रल अफ्रिकन रिपब्लिक), कुर्टिस स्लिमर (जाम्बिया), ग्रेगरी गोन्डवे (मालावी), अवेड्नी दवेजा (ट्युनिशिया), अब्दुलरहमान अबाटलेब (इजिप्ट)