कोभिड-१९: बिरामी बढिरहँदा कोरोनाभाइरससँगको लडाइमा भारत 'नाजुक स्थिति'मा

पीपीइ लगाएकी एक नर्स

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

कोरोनाभाइरसको अर्को लहरलाई लिएर भारतमा स्वास्थ्यकर्मीहरू चिन्तित छन्

भारतमा केही महिनासम्म कोभिड-१९ का बिरामीको सङ्ख्यामा उल्लेख्य कमी आएपनि फेब्रुअरी महिनामा भने केही राज्यहरूमा सङ्क्रमण दर स्वाट्टै उकालो लागेको छ।

फेब्रुअरीको सुरुमा भारतको व्यापारिक राजधानी अमरावती जिल्लामा डाक्टरहरूले एक्कासी कोभिड-१९ का बिरामीको सङ्ख्यामा बृद्धि भएको पाए।

अघिल्लो वर्ष गर्मी महिनामा सङ्क्रमणको पहिलो लहरपछि महाराष्ट्र राज्यको कपास फल्ने जिल्लामा जनजीवन सामान्य भइसकेको थियो। १,६०० आइसीयु शैय्या रहेको राज्य सञ्चालित अस्पताल र आधा दर्जन निजी अस्पतालहरू लगभग खाली भइसकेका थिए।

"तर फेब्रुअरीमा सबै परिवर्तन भयो," स्थानीय पत्रकार अनिल जधवले भने। "र अहिले जिल्लामा आतंकको अवस्था छ।"

फेब्रुअरीको सुरुयता अमरावतीमा १० हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ र ६६ भन्दा बढीको मृत्यु भइसकेको छ। यो साता १ हजार भन्दा बढीले उपचार गरेका छन्। महाराष्ट्रका अमरावती र अन्य जिल्लाहरूमा फेरि लकडाउन लगाइएको छ।

"बिरामीको सङ्ख्या बढ्नुको कारण के हो हामीलाई साँच्चै थाहा छैन। चिन्ताजनक कुरा भनेको पूरै परिवार सङ्क्रमित भइरहेका छन्। यो एकदमै नयाँ अवस्था हो," उक्त जिल्लाका डाक्टर श्यामसुन्दर निकमले भने।

"यहाँ मानिसहरू मास्क लगाइरहेका छैनन्। विवाह वा स्थानीय चुनावका लागि अभियान गर्ने जस्ता कार्यमा भीडभाड गरिरहेका छन्। परीक्षण र कन्ट्याक्ट ट्रेसिङ पनि कम भइरहेको छ र यसै कारण अहिले सङ्क्रमणको अवस्था यो चरणमा पुगेको हो," महाराष्ट्र राज्यका कोभिड कार्यदलका सदस्य डाक्टर सञ्जय ओकले बीबीसीसँग भने।

सङ्क्रमितको सङ्ख्या महाराष्ट्र राज्यमा मात्रै नभइ केरला, कर्नाटका, तेलङ्गना, मध्यप्रदेश, छत्तिसगढ र पञ्जाव राज्यहरूमा पनि बढेको खबरहरू आएका छन्।

यसले वैज्ञानिक र सरूवा रोगसम्बन्धी विज्ञहरूलाई चिन्तित तुल्याएको छ।

ती राज्यका चिकित्सकहरूले पनि महाराष्ट्रकै जस्तो कारणले सङ्क्रमितको सङ्ख्या बढेको बताएका छन्।

विवाहका ठूला कार्यक्रम हुनु, सिनेमा घर, जिमखाना र स्वीमिङपुलहरू खुल्नु, राज्यहरूमा चुनावी कार्यक्रमहरू हुने कारणले पनि सङ्क्रमण फेरि बढेको विज्ञहरूले बताएका छन्।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

बजारहरूमा भीड पुन: बढेको छ र सामाजिक दुरीजस्ता नियमहरूको पालना गरिएको छैन

कोभिडको नयाँ लहरमा छ भारत?

सरुवा रोग विशेषज्ञ डाक्टर ललित कान्तले सामान्यीकरणको "गलत अन्दाज" देशभर फैलिएको बताए।

"हामी बढी सतर्क हुनुपर्छ र भिडभाड हुने ठाउँ खुल्नबारे सचेत हुनुपर्छ। परीक्षण, ट्रेसिङ र अलग्गै राख्ने काम सबै राज्यहरूमा बृहत् रूपमा बढाउनुपर्छ - हामीले अवस्था थप खराब हुन दिन सक्दैनौं।"

डाक्टर कान्तले विश्वव्यापी ढाँचा हेरेर केही राज्यमा बिरामी बढ्नु अपेक्षित रहेको बताएका छन्।

"केही देशहरूमा दुई दिनमहिना केही पनि नदेखिएपछि फेरि बिरामी बढेको देखेका छौं।"

रोगको प्रकृतिबारे अनुसन्धान गरिरहेका विज्ञ गौतम मेननले बिरामीको सङ्ख्या बढ्नु अपेक्षाकृत रहेकोमा सहमति जनाएका छन्।

तर त्यसो भए किन खासगरी महाराष्ट्र र अन्य केही राज्यहरूमा मात्रै पुन: सङ्क्रमितहरू बढिरहेका छन्?

मेननका अनुसार एउटै कारण भनेको यी राज्यहरूमा निगरानी बलियो छ र अन्य राज्यहरूमा बिरामीको पहिचान नै नभएको हुनसक्छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

केही सहरहरूमा सार्वजनिक यातायातमा पनि निकै भिडभाड हुने गरेको देखिन्छ